पर्यटकको रोजाइमा मुस्ताङको धुम्बाताल



म्याग्दी ।

हिमालपारिको जिल्ला मुस्ताङको धुम्बाताल पर्यटकको रोजाइमा परेको छ । घरपझोङ गाउँपालिका–५ सम्लेगाउँमा पर्ने धुम्बाताल मुस्ताङ पुग्ने पर्यटकको आकर्षण बनेको हो । नीलगिरि हिमालको काखमा अवस्थित पर्यटकीय सम्भावना बोकेको धुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकको आँखामा पर्न थालेको छ ।

मुस्ताङ सदरमुकाम जोमसोमदेखि २ किलोमिटरको दुरीमा पर्ने धुम्बातालको दृश्य मनमेहक छ । जोमसोमदेखि ठिनी गाउँ हुँदै पुगिने यो ताल प्रकृतिको अनुपम उपहार हो । धुम्बातालको उत्तरतर्फ नीलगिरि हिमाल, पश्चिमतर्फ कुछपतेरङ गुम्बा, पूर्वतर्फ प्रसिद्ध घरपझोङ किल्ला रहेको छ । घरपझोङ किल्लाको नामबाट जिल्ला सदरमुकाम जोसमोम समेत रहेको घरपझोङ गाउँपालिकाको नामकरण गरिएको स्थानीयवासी बताउँछन् ।

परापूर्वकालदेखि धुम्बातालको शुद्ध जलको प्रयोग गरी गुम्बामा पूजाआजा गर्ने गरेको स्थानीयको भनाइ छ । हिउँदमा चिसोका कारण पर्यटकको सङ्ख्या केही घटे पनि गर्मियाममा उल्लेख्य मात्रामा देखिन्छ । तालको नजिकैबाट मनोरम प्राकृतिक दृश्यको आनन्द लिन सहज होस् भनेर आरामदायी कुर्सी, पिड तथा फोटो खिच्नका लागि कुर्सीसमेत राखिएको छ । ती कुर्सीमा बसेर तथा पिडबाट आनन्द लिँदै पर्यटकहरुले तालको पृष्ठभूमिमा फोटो र भिडियो खिच्ने गर्दछन् ।

समुन्द्री सतहबाट २ हजार ९ सय मिटरको उचाइमा रहेको धुम्बाताल पवित्र बौद्ध तालका रूपमा पनि प्रसिद्ध मानिन्छ । धुम्बातालको लम्बाइ १ सय ५० मिटर र चौडाइ सय मिटरको हाराहारीमा रहेको छ । केही वर्षअघि यस तालमा नेपाली चलचित्र ‘जेरी’को छायांकन गरेपश्चात् नेपाली युवाले यसलाई ‘जेरी ताल’ पनि भन्ने गरेका छन् ।

हिउँदको समयमा तालमा सतहको पानी जम्ने र ताल वरपरको भू–भागमा हिँउले ढाक्ने हुँदा थप आर्कषक देखिन्छ । तालको सतही भाग जमेका बेला छेउछाउमा पर्यटकले पैदल हिँडेर मनोरञ्जन लिन सक्छन् । सतहको पानी जमेका बेला त्यसमाथि स–साना बरफका टुक्रा फाल्दा अन्त्यन्त रमाइलो हुने आन्तरिक पर्यटक अनु घिमिरेले अनुभव सुनाउनुभयो ।

तालमा सिल्भर कार्भ, ग्रास कार्भ र केही मात्रामा असला प्रजातिका माछासमेत छ । स्थानीयले धार्मिक विश्वास र तालको सौन्दर्य बढाउन तालमा माछा छोड्ने गर्दछन् । ती माछा कसैले मार्न पाउँदैनन् । माछाका लागि ताल संरक्षण समितिद्वारा तोकिएका आहारा मात्रै दिने व्यवस्था गरिएको छ । तालमा छाडिएका माछा पर्यटकका लागि आकर्षण बनेका छन् ।

तालसम्म पुग्न सडक र पदमार्ग बनाइएको छ । ताल परिसरमा उज्यालोका लागि बत्ती बाल्न तथा आवश्यक संरचना निर्माण गर्न करिब डेढ करोड लागतको डीपीआर तयार गरिएको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले जनाउनुभयो । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका १ सयवटा पर्यटकीय गन्तव्यको सूचीमा समेत मुस्ताङको धुम्बाताललाई समावेश गरेपछि धुम्बाताल भ्रमणमा पर्यटकको आकर्षण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्