गाउँपालिकाले बुझायो प्रधानमन्त्रीलाई क्षतिको विवरण



बैतडी ।

बैतडीको सिगास गाउँपालिकाले गत कात्तिकमा अविरल वर्षाले गरेको क्षतिको विवरण प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । गाउँपालिका उपाध्यक्ष द्रोपति चन्द नेतृत्वको टोली बालुवाटार पुगेर क्षतिको विवरण बुझाएको हो ।

गत असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाले सिगासमा अर्बौंको क्षति भएकाले उक्त विवरण प्रधानमन्त्री देउवालाई बुझाएको गाउँपालिका उपाध्यक्ष चन्दले बताउनुभयो । गाउँपालिकाका तर्फबाट प्राविधिकसहितको टोलीले गरेको अनुगमनका आधारमा बनाइएको विवरण प्रधानमन्त्री कार्यालयमा बुझाइएको हो । ‘बाढी–पहिरो प्रभावितसहित क्षतिका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराएका छौं । राहत, पुनर्निर्माण, पुनःस्थापनाका लागि पनि माग राखेका हौं ।’ –उहाँले भन्नुभयो ।

गाउँपालिकाको ढुंगा, लोडे, लामबगर, लेकम, बोरीलगायतका ठाउँमा क्षति पुगेको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण ४ जनाको मृत्यु भएको थियो भने अर्बौंको भौतिक पूर्वाधार र कृषि क्षेत्रमा क्षति भएको थियो । सरकारले जिल्लाको सिगास र शिवनाथ गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र समेत घोषणा गरिसकेको छ ।

यसबीच बाढी–पहिरो पीडितको समस्या, सडक मजदुरको समस्या, पश्चिम सेती परियोजनाका कार्यान्वयनका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताउनुभयो । सडक मजदुरका समस्या समाधानका लागि पहल गर्ने, बाढी–पहिरोका कारण भएको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाउनुभएको उहाँको कथन छ ।

यस्तै, कांग्रेस बैतडीका सभापति चन्दले बैतडीमा नेपाली कांग्रेस पार्टीको भवन निर्माणका लागि समेत पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । पार्टीका नवनिर्वाचित सभापति देउवालाई बैतडी कांग्रेसको भवन निर्माणका लागि कांग्रेसको केन्द्रिय कार्यसमितिले पहल गरिदिन आग्रह गरिएको सभापति चन्दले बताउनुभयो ।
टोलीमा नेपाली कांग्रेसका नेता रमेश लेखकको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्