सुदूरपश्चिमलाई देश–विदेशमा चिनाउँछौं : मन्त्री आले



डोटी ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रलाई देश–विदेशमा चिनाउने गरी काम अगाडि बढाएको बताउनुभएको छ । कैलालीको धनगढीमा सोमबार नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले सो बताउनुभएकोल हो ।

‘सुदूरपश्चिममा असङ्ख्य मात्रामा पर्यटकीय क्षेत्र तथा धार्मिक स्थल भएकाले ती क्षेत्रको तीव्र विकाससँगै प्रचार–प्रसार गरी देश–विदेशमा चिनाउने गरी काम गरिरहेका छौं’, मन्त्री आले भन्नुहुन्छ– ‘मैले मन्त्रालय सम्हालेदेखि हवाई क्षेत्रको स्तरोन्नतिसहित पर्यटन प्रवद्र्धनमा बढी ध्यान दिएको छु ।’ कैलालीको धनगढीमा स्थापना गरिएको नेपाल पर्यटन बोर्डले यहाँका पर्यटकीय क्षेत्रको विकासका लागि निकै सहयोग पुग्ने उहाँको कथन छ । पर्यटन बोर्ड स्थापना भएको २२ वर्षपछि सुदूरपश्चिममा पहिलोपटक बोर्डको कार्यालय स्थापना भएको हो । यसअघि नेपालगन्जमा रहेको क्षेत्रीय सम्पर्क कार्यालयले सुदूरपश्चिममा समेत बोर्डको कामकारबाही हेर्ने गरेको थियो । बोर्डको कार्यालय स्थापनासँगै यहाँको पर्यटन विकासमा टेवा पुग्ने भन्दै नागरिकहरुमा खुसीयाली छाएको धनगढी उपमहानगरपालिकाका–५ का स्थानीयवासी जितबहादुर मल्लले बताउनुभयो ।

मन्त्री आलेकै पहलमा सुदूरपश्चिम प्रदेशमा नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठान (नाथुम) तथा (नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट) को कलेज पनि स्थापना हुने भएको छ । उक्त कलेजमा ब्याचलर होटेल मेनेजमेन्ट, मास्टर अफ हस्पिटालिटी मेनेजमेन्ट, ब्याचलर अफ ट्राभल एन्ड टुरिजम मेनेजमेन्ट तथा रेगुरल ट्रेनिङको पढाइ हुने नाथुमका कार्यकारी निर्देशक दीपककुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम सहित नेपालका तीन ठाउँमा उक्त विषयको पढाइ हुने कलेज स्थापना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्