नेतृत्व चयन नहुँदै माओवादी प्रदेश–२ अधिवेशन सम्पन्न



जनकपुर, (नेस) ।

नेकपा माओवादी केन्द्र प्रदेश–२ को नेतृत्व चयन नहुँदै अधिवेशन सम्पन्न भएको छ । पदाधिकारी चयनमा विवाद भएपछि कार्यसमिति चयन गर्ने गरी अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनको बन्दसत्रमा आन्तरिक विवाद बढ्दै गएपछि २ सय ७१ सदस्यीय कार्यसमिति पछि चयन गर्ने गरी बन्दसत्र सम्पन्न गर्ने निर्णय भएको थियो । आइतबार सर्लाहीको लालबन्दीमा सम्पन्न बन्द सत्रमा प्रत्येक जिल्लाबाट साधारण सदस्यको संख्याको आधारमा आठवटै जिल्लाबाट १७ देखि २२ सदस्यसम्म सर्वसम्मत रूपमा चयन गर्ने गरी २ सय ७१ सदस्यीय कार्यसमिति गठन गर्ने निर्णय गरेर बन्द सत्र सम्पन्न भएको केन्द्रीय सदस्य जगत् यादवले बताउनुभयो ।

‘पदाधिकारी चयनमा विवाद बढ्दै जाँदा हाललाई २ सय ७१ सदस्य चयन गर्ने र सोको जिम्मेवारी जिल्ला अध्यक्षहरुलाई नै दिने गरी निर्णय गरिएको छ’, उहाँ भन्नुहुन्छ– ‘शुरूमा २ सय ४१ सदस्यीय कार्यसमिति चयन गर्ने निर्णय गरिएको थियो ।’ तर, जिल्लाहरुबाट अत्यधिक प्रतिनिधि आइसकेकाले शनिबार हुने भनिएको बन्दसत्र स्थगित गरिएको हो । त्यसपछि सर्वसम्मत रूपमा पदाधिकारी तथा सदस्य पछि चयन गर्ने सहमति आधारमा बन्द सत्र समापान गरिएको यादवको भनाइ छ ।

जिल्लाबाट सर्वसम्मतिले सदस्य नामावली आइसकेपछि पुस २० गते पार्टी अध्यक्ष पुष्पकमल दाहालको आतिथ्यमा हुने घोषणा सभाबाट पदाधिकारी चयन गरिने उहाँ बताउनुहुन्छ । प्रादेशिक समिति नेतृत्वका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएपछि विवाद उत्पन्न भएको थियो । स्रोतका अनुसार रामकुमार शर्मा, श्रवण साह, अशोक साह, अजय शंकर नायक, दिलीप साहलगायतका नेताहरुले नेतृत्वका लागि दाबी गरेका थिए ।

प्रदेश–२ मा मातृका यादव र नारायणकाजी श्रेष्ठ गरी दुई समूहले नेतृत्वमा दाबी गर्दै आइरहेको छ । दुईवटै समूह अडानबाट पछाडि नहटेपछि विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्