हेटौंडा अस्पताल सुधार्ने मन्त्रीको प्रतिवद्धता



हेटौंडा, (नेस) ।

हेटौंडा अस्पतालको सेवा सुधारका लागि मकवानपुरका नागरिक समाजका प्रतिनिधिको टोलीले वागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामालाई ज्ञापनपत्र बुझाएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुर उपाध्यक्ष रमिला सापकोटाको नेतृत्वमा गएको टोलीले मन्त्री लामालाई अस्पताल सुधारका लागि ८ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

पत्रमा हेटौंडा अस्पतालको स्तरोन्नति एवं क्षमता अभिवृद्धि, सबैखाले रोगको विशेषज्ञ सुविधासहित सेवा व्यवस्था, समयमा डाक्टरको उपस्थिति सुनिश्चित, बेवारिस बिरामीको उपचार व्यवस्था, बनिरहेको भवन निर्माणसम्पन्न गरी चाँडै हस्तान्तरण, कर्मचारीको व्यवहारमा सुधार, बिमाको औषधिको राम्रो उपलब्धता र टिकट वितरण प्रणाली व्यवस्थित र छरितो बनाउनुपर्ने माग गरिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री लामाले हेटौंडा अस्पतालबारे आएका सुझावलाई कार्यान्वयन गर्दै अस्पतालको सेवामा सुधार गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कोरोना महामारीको जोखिम कायम रहेको अवस्थामा हेटौंडा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै नागरिकले गुणस्तरीय सेवा पाउने अवस्था सिर्जना गर्ने बताउनुभयो । नागरिक समाजका प्रतिनिधिलाई स्वास्थ्य क्षेत्रमा देखिएका समस्या ‌‌औँल्याएर सुधारका लागि सहयोग गर्न मन्त्री लामाले आग्रह गर्नुभयो ।

टोलीमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईं, नागरिक समाजका तीर्थ थापामगर, नारी संरक्षण केन्द्रका राम मिजार, डेक नेपालका मानबहादुर वाइबा, पूजा वाइबा, पत्रकार सरिता दाहाल, रामकुमार दानी, दलित महिला संघकी मञ्जु रोकालगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्