भारतीय सीमामा खोप कार्ड अनिवार्य



विराटनगर, (नेस) ।

कोरोना संक्रमणअघि आउ–जाउ निर्बाध रहेका भारतसँग सीमा जोडिएका तराईका सीमानाकामा अहिले चेकजाँचमा कडाइ गर्न थालिएको छ । विराटनगरस्थित रानी नाकाबाट भारतीय नागरिकलाई प्रवेशका लागि अहिले खोप कार्ड अनिवार्य गरिएको छ । भारतबाट नेपालतर्फ आउने प्रत्येक व्यक्तिलाई स्वास्थ्य जाँचपछि मात्रै नेपालतर्फ प्रवेश दिने व्यवस्था गरिएको छ ।

रानी नाकास्थित हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले दैनिक भारतबाट आउने सर्वसाधारणको स्वास्थ्य जाँच गर्दै आएको बताउनुभएको छ । स्वास्थ्य जाँच गरिएकोमध्ये दैनिक एक सयभन्दा बढी व्यक्तिको एन्टिजेन परीक्षण गर्दै आएको उहाँले बताउनुभयो । पछिल्लो एक सातामा भारतको मदरसाबाट आएका विराटनगरको बरगाछीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा पठाउने गरेको यादवले बताउनुभयो । उपचार केन्द्रमा भर्ना हुन नचाहनेलाई कागज गराएर निजी गाडीमा होम आइसोलेसनमा पठाउने गरेको उहाँको भनाइ छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले रानी नाकामा भारतबाट आउने प्रत्येक व्यक्तिको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको बताउनुभएको छ  । भारतीय नागरिकलाई नेपाल प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेको बताउँदै उहाँले प्रत्येक व्यक्तिलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न स्थानीय तहमार्फत जनचेतना अभियान सञ्चालनको व्यवस्था गरेको जानकारी दिनुभयो । यसका साथै जिल्लावासीलाई खोप लगाउने व्यवस्थाका लागि पहल गरिरहेको उहाँले बताउनुभयो । प्रजिअ दाहालले रंगेली नाकामा पनि हेल्थ डेस्क राख्नका लागि संघीय र प्रदेश सरकारसँग पहल गरिरहेको बताउनुभयो ।

खुला सीमानाका रहेको भारततर्फ अन्य नाकाबाट समेत सहज रूपमा आवत–जावत भइरहेकाले संक्रमणको जोखिम भने बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । विराटनगरतर्फबाट जोगवनी बजार किनमेलका लागि बढी मात्रामा नेपाली जाने गर्दछन् भने उताबाट दैनिक व्यापार व्यवसाय तथा श्रमका लागि विराटनगरतर्फ आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्