अनावरणको अघिल्लो रात लोककविको प्रतिमा गायब



हेटौंडा, (नेस) ।

अनावरणको तयारीमा रहेको मकवानपुरका पहिलो लोककवि गणेशलाल श्रेष्ठको प्रतिमा चोरी भएको छ । प्रतिमा अनावरणका लागि परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलगायत टोली मकवानपुरको भीमफेदी आइसकेको थियो ।

करिब ८० हजार मूल्य पर्ने उक्त ढलोटको अर्धकदको प्रतिमा शनिबार राति हराएकोबारे प्रहरीमा जानकारी गराइएको र खोजी कार्य भइरहेको पालिका अध्यक्ष हिदम लामाले बताउनुभयो । उहाँले अपराधीको रङ र जात नहुने भन्दै अपराधीले राष्ट्रका गहनाको अवमूल्यन गरेको बताउनुभयो ।

‘भीमफेदीमा जन्मिएका र राष्ट्रले चिनेका मकवानपुरका प्रतिभा श्रेष्ठको शालिक अनावरण हुनुअघिको राति आपराधिक मानसिकता बोकेका र अनावरणमा अवरोध गर्ने उद्देश्यका साथ चोरिएको घटना अत्यन्त दुःखद् छ,’ उहाँले आपराधिक काममा संलग्न र घटना घटाएका जोकोहीलाई कानुनी कारबाहीका लागि ध्यानाकर्षण गराउनुभएको छ ।

‘दुईथुंगा फूल’, ‘मेरो पुष्पाञ्जलि’ लगायत नेवारी भाषामा गीत लेख्नुभएका श्रेष्ठ भीमफेदी निवासी हुनुहुन्थ्यो । श्रेष्ठलाई लोककवि पदवी लोकसाहित्य परिषद् र प्रज्ञा प्रतिष्ठान दिएको थियो । १९६८ मा भीमफेदीस्थित पारिबजारमा जन्मिनुभएका श्रेष्ठको २०४२ सालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्