चाहिने बेलैमा मलको हाहाकार



वीरगञ्ज ।

पर्सा, बारासहित देशैभर रासायनिक मलको अभाव भएको छ । गहुँ र तरकारी बालीका लागि चाहिने मल नपाएको किसानहरूले गुनासो गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले कृषि सहकारी संस्थामार्फत किसानलाई मल बिक्री गर्दै आएका छन् । तर, दुवै कम्पनीका गोदाममै मल रित्तिएपछि सहकारीहरूले किसानलाई बिक्री गर्नका लागि मल पाएका छैनन् ।

गहुँ छर्ने बेलामा डीएपी र अहिले उम्रिएपछि युरिया मल राख्नुपर्नेमा देशभर मलको अभाव भएको हो । देशभर १ लाख ३० हजार टन रासायनिक मलको माग रहेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गहुँ र तरकारी खेतीका लागि यो सिजनमा ६० हजार टन डीएपी र ७० हजार टन युरिया मलको माग छ । तर अहिले कृषि सामग्रीको गोदाममा ९ हजार ८ सय टन युरिया र ३ हजार १ सय २२ टन डीएपी तथा साल्ट ट्रेडिङसँग ९ हजार १ सय ६६ टन युरिया गरी कुल २२ हजार १ सय ३८ टन मात्रै रासायनिक मल मौज्दात छ ।

१५ हजार टन युरिया मल विदेशबाट आपूर्तिको क्रममा छ । चालू आर्थिक वर्षका लागि ३ लाख ९ हजार टन मल खरिदको स्वीकृति भए पनि २ लाख ३२ हजार टन मल आउने टुङ्गो नै छैन । ७६ हजार ५ सय टन मात्रै आपूर्ति भएको छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य निरन्तर बढेपछि आपूर्तिकर्ताले नल्याएको कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु पोख्रेलले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्