डोटीको बेडगाउँ बालविवाहमुक्त टोल घोषणा



डोटी (नेस) ।

डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाको बेड गाउँ (टोल) जिल्लाभरकै पहिलो बालविवाह मुक्त गाउँ (टोल) घोषणा गरिएको छ । वडा अध्यक्ष रामबहादुर खड्काले शनिबार एक कार्यक्रमका बीचमा उक्त गाउँ (टोल) लाई बालविवाह मुक्त टोल घोषणा गर्नु भएको हो ।

जिल्लामा सबैभन्दा बढी बालविवाह गरिने वडाका रूपमा चिनिँदै आएको उक्त वडालाई अबका केही दिनमा बालविवाह मुक्त घोषणा गर्ने उदेश्यअनुरूप अहिले प्रत्येक गाउँ टोलहरूबाट नै बालविवाह मुक्त घोषणाको सुरुआत गरिएको हो ।

गुड नेवर्स इन्टरनेसनल नेपालको सहयोग तथा सामुदायिक विकास केन्द्रको पहलमा उक्त वडा निकट भविष्यमै बालविाह मुक्त वडा घोषणाको तयारीमा रही अहिले गाउँहरूलाई बालबिबाह मुक्त घोषणाको सुरुवात गरिन थालिएको सो संस्थाका शिक्षा अधिकृत तथा सूचना अधिकारी एकराज बडुले जानकारी दिनुभयो ।

बेड गाउँ जिल्लाकै पहिलो बालविवाह मुक्त घोषणा गरिएपछि त्यहाँका नागरिकहरू निकै खुशी भएका छन् । नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ ले पनि सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने मुख्य लक्ष्य लिएको छ । सोही लक्ष्यअनुसार ‘विहावारी २० वर्ष पारी’ नारा दिएको छ ।

सरकारको लक्ष्य हासिल गर्न र बालविवाह न्युनीकरण गर्नको लागि संस्थाले काम गरिरहेको गुड नेवर्स इन्टरनेसनल नेपालका जिल्ला संयोजक रन्जित चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो – ‘सरकारको लक्ष अनुसार हामी बालविवाह अन्त गर्नका लागि लागिपरेका छौँ, सम्भवत: केही दिनमा लडागडा बालविवाह मुक्तको घोषणा गछौँ, सबै नागरिकको सहयोग आवश्यक छ ।’ दिपायल सिलगढी नगरपालिका–८ लाइ बालविवाह मुक्त क्षेत्र घोषणा गर्न तीन वर्ष अघिदेखि गुड नेवर्स इन्टरनेट नेपाल र सामुदायिक विकास केन्ऽको सहकार्यमा विद्यालय र समुदायमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्