विमानस्थलको झाडी फँडानी गरियो



बाँके ।

नेपालगञ्ज विमानस्थल आसपासको ९० बिघामा फैलिएको झाडी फँडानी गरिएको छ । झाडी फँडानी गर्ने काम चलिरहेको छ । विमानस्थल आसपासमा ठूलो झाडी हुँदा त्यहाँ रहेका जंगली जनावर धावन मार्गमा आएर जहाज सँग ठोकिने गरेपछि विमानस्थल कार्यालयले झाडी फँडानी गरेको हो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोग लिएर झाडी सफाइ शुरू गरेको विमानस्थल कार्यालयले पछिल्लो दिनमा आफैंले सफाइ गरिरहेको छ ।

नेपालगञ्ज विमानस्थलका प्रमुख सुभाष झाले विमानस्थलको एक सय ७५ बिघा जमिनमध्ये सय बिघाको झाडी सफाइ गर्ने काम भइरहेको बताउनुभयो । उहाँले ९० बिघाको झाडी सफाइ गरिसकेको जानकारी दिनुभयो । विमानस्थलले आफ्नो क्षेत्रमा तारबार गरेपनि स्थानीयले घाँस र दाउराका लागि तारजाली काटि दिने भएकाले त्यहींबाट जंगली जनावर विमानस्थल भित्र प्रवेश गरेको पाइएको छ । पछिल्लो तीन हप्तामा ९० प्रतिशत झाडी सफा गरेको विमानस्थल प्रमुख झाले बताउनुभयो ।

जंगली जनावर पटक पटक जहाजसँग ठोकिरहे पछि सुरक्षा चुनौती थपिएको थियो । प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीको विशेष निगरानीमा झाडी सफाइ भइरहेको छ । प्रजिअ खत्रीले झाडी सफाइको लागि बजेटको व्यवस्था गरिदिन पत्राचार गर्नु भएको छ । यद्यपि, अहिलेसम्म बजेट आइसकेको छैन । शनिबार प्रजिअ खत्रीसँगै एसपी श्याम कृष्ण अधिकारी, अशोक बम र नरेन्द्र गिरीले विमानस्थलको निरीक्षण गर्नु भएको छ ।

अनावश्यक मानिसलाई विमानस्थल परिसरमा प्रवेश हुन नदिन विमानस्थलका विभिन्न सेन्ट्री पोस्टमा प्रहरी राखिने भएको छ । एसपी श्यामकृष्ण अधिकारीले शनिबार नै तीन जनाप्रहरी पठाइदिने आश्वासनदिनु भएको छ ।

पछिल्लो डेढ महिनामातीन वटा जहाज सँग बँदेल ठोकिएको छ । विमानस्थलका प्रमुख झाले पूर्णरूपमा झाडी सफाइ गर्न २० करोड बढी लाग्ने बताउनु भयो । उहाँले शुरूमा ठूलो रकम लागेपनि त्यसपछि वार्षिक १५ लाख आसपासले सरसफाइ गर्न सकिने बताउनुभयो ।

नेपालगञ्ज विमानस्थललाई विस्तारका लागि गुरुयोजना बनाइएको छ । करोडौंको गुरुयोजना बनाएर रनवे विस्तार गरिरहेको विमानस्थलको आसपासमा रहेको झाडीबाट निस्किने जंगली जनावर आएर जहाज सँग ठोक्किदा ठूलो दुर्घटनाको जोखिम बढाउने गरेको छ ।

नेपालगञ्ज विमानस्थलमा दुई सय मिटर रनवे विस्तारको काम भइरहेको छ । विमानस्थलका प्रमुखझाले दुई सय मिटर रनवे विस्तारको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

विमानस्थलमा अहिले पन्ध्र सय मिटरको रनवे रहेको छ । दुई सय मिटर थपिँदैछ । रनवेलाई बढाउँदै पच्चिस सय मिटर पुर्याउने रणनीति रहेको छ । नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तर बनाउन माग भइरहेको छ । अहिले नै नेपालगञ्ज बाट काठमाडौं पछि धेरै उडान भइरहेको छ । दैनिक ४० उडान हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्