सातपटक म्याद थप्दा पनि बनेन नगरकोट सडक

स्थानीय सरकार नै उत्रियो आन्दोलनमा



भक्तपुर ।

भक्तपुरको कमलविनायक नगरकोट सडकको निर्माणले गति नलिएपछि चाँगुनारायण नगरपालिकाले दबाबस्वरूप आन्दोलन गर्ने भएको छ । निर्माण शुरू भएको आठ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

नगरप्रमुख सोमप्रसाद मिश्रले दबाबमूलक कार्यक्रमअन्तर्गत पुस ७ गते सडक निर्माण अलपत्र पर्नुका कारणबारे सरोकारवालासँग अन्तरक्रिया गर्ने जानकारी दिनुभयो । त्यस्तै, पुस ११ गते जिल्ला प्रशासन कार्यालय घेराउ, पुस १५ गते सडक सुधार तथा विकास आयोजना कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको नगरप्रमुख मिश्रले बताउनुभयो ।

उहाँले ठेकेदार कम्पनीको कार्यालय र निवास घेराउ, काठमाडौंको माइतीघर मण्डलामा धर्ना र अरनिको राजमार्गमा चक्काजामजस्ता आन्दोलनका कार्यक्रम तय गरेको जानकारी दिनुभयो । पहिलो तीन दिनको कार्यक्रमले पार्ने प्रभाव र प्रतिक्रियालाई विश्लेषण गरी पछिल्ला कार्यक्रमको मिति तय गरिने उहाँले बताउनुभयो । नगरप्रमुख मिश्र र उपप्रमुख विणा बाँस्तोलासहितको टोलीले गत कात्तिक १५ गते ३० दिनभित्र सो सडकको निर्माण कार्य सम्पन्न नभए आन्दोलन गर्ने व्यहोरोको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाएको थियो ।

उहाँले ठेक्का रद्ध गरेर सो सडक निर्माणको जिम्मा नगरपालिकालाई दिन मागसमेत गर्नुभयो । कमलविनायकदेखि नगरकोटसम्मको करिब १६ किलोमिटर लामो उक्त सडक सुधार एवम् विस्तारका लागि भारतीय निर्माण कम्पनी एआईपीएल र नेपाली निर्माण कम्पनी शैलुङ कन्सट्रक्सनले संयुक्तरूपमा ठेक्का लिएको थियो । कुल ५२ करोड ९६ लाख रुपियाँ लागतको उक्त सडक एआईपीएल र शैलुङले २०७१ जेठमा ३१ करोड ५२ लाख ९२ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७३ असार ३ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

भारतीय बैंक एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण शुरू भएको उक्त सडकको पटकपटक गरी ७ पटक म्याद थप भइसकेको छ । ठेक्का म्याद थपसँगै लागतसमेत बढेको छ । ३१ करोड ५२ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको उक्त सडकको पछिल्लो संशोधित ठेक्का रकम ३५ करोड ८७ लाख १८ हजार रहेको छ । हाल सो सडकको निर्माण करिब ७८ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्