शैक्षिक भ्रमणले तङ्ग्रिँदै पाल्पा



पाल्पा ।

कोरोना कहरका कारण सुस्ताएको पाल्पाको पर्यटन व्यवसाय पछिल्लो समयमा तंङग्रिनथालेको छ । पछिल्लो समय पाल्पामा हिजोआज आन्तरिक पर्यटक बढेपछि पर्यटन व्यवसायीमा केही उत्साह जागेको छ । खासगरी देशका विभिन्न जिल्लाबाट शैक्षिक अवलोकन भ्रमण आउने विद्यार्थी र शिक्षकहरूले यहाँका होटल लज र व्यापारिक केन्द्रहरूमा भीड लाग्ने गरेको छ । यसबाहेक यो अवधिमा विदेशी पर्यटकहरू पनि पाल्पामा बढी नै आउने गरेको पाइएको छ ।

ऐतिहासिक एवं सुन्दर पर्यकीय नगर रहेको तानसेनमा रहेका मठ मन्दिर दरबार र श्रीनगर क्षेत्रको सुन्दर दृष्यावलोकन गर्न आन्तरिक पर्यटक आउने गर्दछन् । पर्यटकको बृद्धिसँगै यहाँका करुवा र ढाका पसलहरूलाई राम्रो आम्दानीको स्रोत बन्ने गरेको छ ।

छुट्टीको समय उपयोग गर्न, विविध कुराको जानकारी लिनका साथै मनोरञ्जनका लागि अथवा पाल्पाको ऐतिहासिक कला संस्कृति र यहाँको सुन्दरता हेर्न हिजोआज पाल्पामा पर्यटकको संख्या बढेको हो । शिक्षा स्वास्थ्य र पर्यटनको नारा बोकेको पाल्पामा केही दिनयता आन्तरिक र वाह्य पर्यटकको संख्या बढेपछि यहाँका व्यापारीहरू निकै उत्साहित छन् ।

‘अरूबेला पर्यटकको कमी भए पनि यो बेलाको पर्यटक आवागमनले निकै उत्साहित बनाएको छ’– होटल व्यवसायी संघ पाल्पाका अध्यक्ष जीवलाल सुवेदीले भन्नुभयो– ‘पर्यटकको यो आवागमनलाई निरन्तरता दिनुपर्दछ ।’
नेपालको सुन्दर र पर्यटकका लागि राम्रो गन्तव्यका रूपमा रहेको पाल्पामा अनुकूल मौसम र भ्रमणका लागि शान्ति सुरक्षाको पनि राम्रो अवस्था रहेकाले आन्तरिक र वाह्य पर्यटकको संख्या बढेको हो ।

यद्यपि, यहाँ आउने आन्तरिक पर्यटक पनि एक महिनाको अवधिमा निकै बढेका छन् । यस अवधिमा कति पर्यटकहरू पाल्पा भ्रमणमा आए भन्ने कुराको आधिकारिक तथ्याङ्क राख्ने निकायको यहाँ कुनै व्यवस्था त छैन तर पनि होटल व्यवसायिका अनुसार एक महिनाको अवधिमा यहाँका होटलहरूमा प्रशस्त पर्यटकको आवागमन भएको छ ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले पर्यटकहरूको पाल्पाको आवागमन कायम राख्न पर्यटकको पाल्पा बसाइ लम्ब्याउन र पाल्पा भएर पोखरा वा लुम्बिनी जाने पर्यटकलाई यहाँ बस्ने र घुम्ने व्यवस्था गर्न जरुरी रहेको बताउनुभयो ।

वाह्य पर्यटकका रूपमा जर्मन, अमेरिका, बेलायत, फ्रान्स, जापान, कोरियालगायतका देशबाट आउने गरेका छन् । आन्तरिक पर्यटकहरू भने यहाँका सामुदायिक वन, कृषि प्रणाली, धार्मिक र ऐतिहासिक महत्वका मठमन्दिर, कलात्मक सम्पदाहरू हेर्न आउने गरेका छन् । यसबाहेक शिक्षण संस्थाका विधार्थी र शिक्षकहरूको पनि यस अवधिमा राम्रो उपस्थिति पाल्पा जिल्लामा रहेका छन् । खासगरी यहाँ आएका पर्यटकहरू जिल्ला सदरमुकाम तानसेनको अलावा रानीमहल, भैरवस्थान र रिडीसम्म पुग्ने गरेका छन् ।

ढाकाका कपडा, टोपी, ब्याग, पछ्यौरा, झिनियाँ रोटीलगायतका सामान चिनोको रूपमा लैजाने हँुदा ढाका पसलमा सामान बेच्न भ्याइनभ्याइ भएको छ । तानसेनमा रहेका १२ देखि १५ वटा ढाका पसलले दैनिक ३० हजारदेखि ५० हजारसम्मको व्यापार भएको बताउँछन् । यस्तै होटल तथा लजहरू पनि दैनिक भरिभराउ भएको होटल व्यवसायीले बताएका छन् ।

पाल्पामा खासगरी कार्तिक, मंसिर र पौष महिनामा आन्तरिक पर्यटकहरू बढी आउने गर्दछन् भने यसै अवधिमा विदेशी पर्यटकहरू पनि जिल्लामा वढी आउने गरेको भेटिन्छ ।

प्रतिक्रिया दिनुहोस्