नेपालगन्जमा १५ हजार निरक्षर



बाँके ।

नेपालगन्ज उपमहानगरपालिकामा १५ हजार मानिस निरक्षर रहेको तथ्यांक सार्वजनिक गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकालाई साक्षर नगर घोषणा गर्ने तयारी गरिरहँदा नगरमा अझै १५ हजार मानिस निरक्षर रहेको तथ्यांक बाहिर आएको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले दुई वर्षअघि सर्वे गर्दा नेपालगन्जमा २० हजार मानिस निरक्षर रहेकोमा अहिले १५ हजार निरक्षर रहेको बताउनुभयो । ‘२०७६ सालमा गरिएको सर्वेमा २० हजार मानिस निरक्षर देखिन्छन् । यो बीचमा हामीले साक्षरका कक्षाहरु सञ्चालन गरेका छौं’, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो– ‘अब १५ हजार निरक्षर छन्, भन्ने हाम्रो बुझाइ छ ।’

उपमहानगरपालिकाले साक्षर कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । १५ देखि ६० वर्षका मानिसलाई ४५ दिने साक्षरता कक्षा सञ्चालन गरिँदै छ । त्यसका लागि १ सय ३० जना बाल शिक्षिकालाई तयार गरिएको छ । यो हप्ताभित्र सबै वडाअनुसार निरक्षरको तथ्यांक निकाल्ने र कहाँ कति वटा कक्षा सञ्चालन गर्नुपर्छ भन्ने फाइनल गरिँदै छ ।

फाल्गुन मसान्तभित्र नेपालगन्ज उपमहानगरपालिकालाई साक्षर नगर घोषणा गर्ने तयारी भएको छ । यो अभियानका लागि ३० लाख रुपियाँ छुट्याइएको छ । निरक्षरलाई कम्तीमा आफ्नो नाम लेख्ने, हस्ताक्षर गर्ने र अलि–अलि पढ्न सक्ने बनाइँदै छ । ‘सामाजिक सुरक्षा भत्ता लिन जाँदा ल्याप्चे लगाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो– ‘बाल शिक्षिकाहरुले ४५ दिन पढाउँदा त्यति गराउन सक्छौं भनेका छन् ।’

दुई वर्षअघिको तथ्यांकले पश्चिम नेपालको शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्र मानिने नेपालगन्ज बजारमा २३ प्रतिशत निरक्षर रहेको देखाउँछ । यसअघि नेपालमा प्रौढ कक्षा सञ्चालन गरिन्थ्यो । ती कक्षामा पढ्नेले नाम लेख्न जाने पनि बिर्सिहाल्थे । अभियानअन्तर्गत सञ्चालन हुने यस्तो कक्षा र घोषणाहरु फगत हुने गरेका छन् । यसको ज्वलन्त उदाहरण खुला दिसामुक्त घोषणालाई लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्