फोहोरमैला व्यवस्थापनमा लाखौं सकियो, उपलब्धि शून्य

दुर्गन्धले स्थानीय बिरामी



इलाम ।

स्वच्छ, समृद्ध र सुसंस्कृत नगरका रूपमा परिचित इलाम नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा लाखौं रुपियाँ खर्च पनि उपलब्धि शून्य देखिएको छ । फोहोरमैला व्यवस्थापनमा मात्र करिब आधा करोड बजेट सकेको नगरले फोहोरमैलाको उचित व्यवस्थापन अझै गर्न नसकेको हो ।

चालू आर्थिक वर्षका लागि मात्र इलाम नगरपालिकाले ४ करोड १५ लाख रुपियाँ बजेट छुट्याएको छ । उक्त बजेटबाट व्यवस्थित फोहोरमैला संकलन केन्द्र निर्माण गर्ने नगरपालिकाले जनाएको भए पनि व्यवस्थापनको नतिजा शून्य छ । वातावरणीय प्रभावलाई समेत बेवास्ता गर्दै नगरले सामुदायिक वनमा लगेर फोहोर फाल्ने गरेको छ । इलाम नगरपालिका–९ मा रहेको खाल्डे सामुदायिक वनमा फोहोर फाल्दै आएको छ । उक्त स्थानको माथिल्लो भेगमा बस्ती छ भने तल्लो क्षेत्रमा पुवाखोला पर्दछ ।

माथिल्लो क्षेत्रबाट फालेको फोहोर खोलामा सीधै मिसिने गरेको छ । जसका कारण त्यस क्षेत्रको वातावरण दुर्गन्धित बनेको छ भने खोलासमेत दूषित बन्दै गएको छ । नगरले जथाभावी फोहोर फाल्दा दुर्गन्ध फैलिने गरेको स्थानीय कुमार चौहानले बताउनुभयो । सो क्षेत्रमा नकुहिने फोहोरमात्र फाल्ने गरेको नगरपालिकाले दाबी गरे पनि त्यहाँ कुहिने र नकुहिने फोहोर दुवै फाल्दै आएको छ ।

‘जथाभावी फोहोर नफालौं, फोहोरलाई मोहोरमा परिणत गरौं’ भन्ने नारा इलाम नगरपालिकाले बनाएको छ । तर, यो नारा अहिले नारामै सीमित भएको छ । स्थानीयले फोहोरमैलाको उचित व्यवस्थान गर्न नगरपालिकालाई आग्रह गर्दै आए पनि नगरले स्थानीयको मागको बेवास्ता गर्दै सामुदायिक वनमा अव्यवस्थित ढंगले फोहोरमैला फाल्दै आएको हो । फोहोरको दुर्गन्धले स्थानीयमा टाउको दुख्ने र वाकवाकी लाग्ने जस्ता समस्या देखिने गरेको छ । पशुपन्छीसमेत फोहोरकै कारण मर्ने गरेको स्थानीय सीताराम थापाको भनाइ छ ।

बाटोको आसपास यत्रतत्र बोतलका बोरा छरपष्ट रहेका छन् । नगरले ठूलो लगानी गरेर निर्माण गरेको कवाडी संकलन केन्द्रको भवन पनि अलपत्र छ । भवनभित्र कुकुर, बिराला मरेका छन् । सो भवन निर्माण र उक्त स्थानसम्म पुग्ने बाटो बनाउन गत वर्ष नगरले ५० लाख खर्च गरेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले भने नगरपालिकाले फोहोरमैला व्यवस्थापनको काम गरिरहेको र सो क्षेत्रमा पार्कसहितको फोहोरमैला व्यस्थापन केन्द्र बनाउने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्