तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषित



बुटवल, (नेस) ।

रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन गरी बालअधिकारको क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेको तिलोत्तमा नगरपालिकालाई बुधबार पूर्वउपप्रधान तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्नुभएको हो ।

घोषणा कार्यक्रममा उपाध्यक्ष पौडेलले तिलोत्तमाले भौतिक र मानवीय विकासकालाई सन्तुलन मिलाएर अघि बढाएकोमा प्रशंसा व्यक्त गर्दै बालमैत्री नगरलाई दिगो बनाउन आफू सधैं प्रतिबद्ध रहेको बताउनुभयो । तिलोत्तमाले नगरलाई बालमैत्री घोषणा गरेर आफ्नौ हैसियत उन्नत बनाएको बताउँदै उहाँले भौतिक विकाससँगै सामाजिक विकासलाई पनि उत्तिकैं महत्व दिइनुपर्ने बताउनुभयो ।

प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले तिलोत्तमा नगरपालिकाले ५१ वटा सूचकको अभ्यास गरेर नगरलाई बालमैत्री नगर घोषणा गरेकोमा बधाईं दिँदै अन्य पालिकाहरूले पनि यो अभ्यास गर्नुपर्ने बताउनुभयो । यस्तै प्रदेश सांसद रमा अर्यालले भौतिक निर्माणलाई मात्र विकास मान्ने सोचबाट माथि उठेर तिलोत्तमाले विभिन्न अभियान सञ्चालन गरेको बताउँदै यस्ता अभियानले समुन्नत समाज निर्माणमा महत्वपूर्ण टेवा पुर्याउने उल्लेख गर्नुभयो ।

नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षता, उपप्रमुख जगेश्वरदेवी चौधरीको स्वागत तथा प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा कार्यक्रम भएको छ । तिलोत्तमाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरूमा मुलकमैं पहिलो अभ्यास गरी तीमध्ये ४१ वटा सूचकहरू शतप्रतिशत र १० वटा सूचकहरुमा अधिकतम ९९.८८ प्रतिशतसम्म नतिजा हासिल गरेको हो । बालबालिकाको सर्वोत्तम हित, सर्वाङ्गीण विकास र बालसहभागिताको सिद्धान्तमा आधारित भइ बालअधिकारको सम्मान, संरक्षण र सम्बद्र्धन गर्न राज्यको तर्फबाट गरिने समष्टिगत पद्दति र प्रयास नै बालमैत्री शासन हो ।

प्रतिक्रिया दिनुहोस्