कामपाका पाँच कर्मचारीविरुद्ध मुद्दा



काठमाडौं, (नेस) ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय बोलपत्र आह्वान गर्दा बद्नियत गरेको अभियोगमा काठमाडौं महानगरपालिकाका पाँच जना वरिष्ठ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

टेकुमा निर्माण गर्न लागिएको महानगरपालिकाको भवन निर्माणका लागि टेन्डर आह्वान गर्दा विद्युतीय माध्यमबाट आएका बोलपत्रको मूल्याङ्कन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको भन्दै आयोगले काठमाडौं महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाइ प्रमुख उपनिर्देशक बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ९ बमोजिम कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस्