जुवाको खालबाट ६ सय पक्राउ, सवा करोड बरामद



पर्वत ।

गण्डकी प्रदेशमा गएको चार महिनामा मात्रै जुवाको खालबाट ६ सय जना पक्राउ परेका छन् भने खालबाटै सवा करोडभन्दा बढी नगद बरामद भएको छ । गण्डकी प्रदेशका ११ जिल्लाबाट आर्थिक वर्ष २०७८/०७९ को चार महिनाको अवधिमा ५ सय ८० जना पक्राउ परेका हुन् भने जुवा खालबाट १ करोड २० रुपैयाँ बरामद भएको हो ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका सूचना अधिकारी प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार गत साउनदेखि कात्तिकसम्मको अवधिमा ११ जिल्ला रहेको गण्डकी प्रदेशका सात जिल्लामा प्रहरीले गरेको कारबाहीबाट १ करोड २० लाख ४० हजार २ सय ७१ रुपियाँ बरामद भएको छ । चार महिनाको अवधिमा वागलुङ, म्याग्दी, मुस्ताङ र मनाङमा भने जुवा खेल्दै गरेको अवस्थामा कोही पनि पक्राउ परेका छैनन् ।

सोही अवधिमा सबैभन्दा बढी केस नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २७ वटा रहेका छन् । एक महिला र एक सय ६५ पुरुष गरी १ सय ६६ जना पक्राउ परेको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट कुल १३ लाख ८ हजार २ सय १४ रुपियाँ जफत भएको छ । प्रवक्ता पौडेलका अनुसार कास्कीमा १ सय ३३ पुरुष र ३४ महिला गरी १ सय ६७ जना पक्राउ परेका छन् । कास्कीबाट प्रदेशका जिल्लाभरमा सबैभन्दा बढी ७१ लाख ६३ हजार १ सय ८० रुपियाँ बरामद भएको छ । पर्वतमा साउन, भदौ, असोज र कात्तिकमा बराबर दुई/दुई गरी आठ केस दर्ता भएका छन् । ४३ जना पुरुष र ६ जना महिला गरी ४९ जना पक्राउ परेको पर्वतबाट १२ लाख ६२ हजार ८६ रुपियाँ जफत भएको छ ।

यस्तै, लमजुङ जिल्लामा साउन, भदौ र असोजमा एक–एक केस रहेका छन् भने कात्तिकमा दुई केस रहेका छन् । एक महिला र ५० जना पुरुष पक्राउ परेको लमजुङबाट ३ लाख ७१ हजार ६ सय ५६ रुपियाँ बरामद भएको छ । सोही अवधिमा तनहुँका ७६ जना पुरुषलाई जुवा खेल्दै गरेको अवस्थामा प्रहरी नियन्त्रणमा लिएको थियो । गोरखामा साउन, भदौ र कात्तिकमा जुवासम्बन्धी एक–एक केस रहेका छन् भने २२ जना पुरुष पक्राउ परेका छन् । स्याङ्जामा साउनमा चार, भदौ र असोजमा एक–एक गरी ६ वटा जुवा केसमा ४१ जना पुरुष पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्