बैतडी ।
स्वास्थ्य कार्यालय बैतडीले परिवार नियोजनका सेवा गाउँघरमै दिने उद्देश्यसहित जिल्लाको विभिन्न स्थानीय तहहरुमा सञ्चालन गरेको निःशुल्क परिवार नियोजन स्वास्थ्य शिविरबाट डेढ सय लाभान्वित भएका छन् । मंसिर ५ गतेदेखि शुरु भएको उक्त शिविर जिल्लाका आठ स्थानीय तहका विभिन्न स्वास्थ्य चौकीमा सम्पन्न भएको थियो ।
शिविरबाट १ सय २४ जनाले सेवा लिएका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरीशप्रसाद भट्टले जानकारी दिनुभयो । भट्टका अनुसार ३७ जना पुरुषले भ्यासेक्टोमी (पुरुष बन्ध्याकरण) गराएका छन् भने ४९ जना महिलाले मिनिल्याप (महिला बन्ध्याकरण) गराएका छन् । यस्तै, लामो अवधिको परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट र आयूसीडी ३८ जनाले राखेका छन् । जिल्लामा परिवार नियोजनका अस्थायी र स्थायी साधनमा प्रयोग गर्ने पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको जनाइएको छ ।
पुर्चौडी नगरपालिकाको हाट स्वास्थ्य चौकीबाट मंसिर ५ गतेबाट शुरु भएको भएको शिविर मंसिर २३ गते डिलाशैनी गाउँपालिकाको सिमार स्वास्थ्य चौकीमा समापन भएको हो । सन्तानको रहर पुगिसकेकाहरुलाई गाउँमै सेवा दिने उद्देश्यले स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा र सुनौलौ परिवार नेपाल (मेरी स्टोप्स इन्टरनेसनल) को प्राविधिक सहयोगमा शिविर सञ्चालनमा गरिएको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
यसैबीच मानसिक स्वास्थ्य शिविरबाट ५२ जनाले सेवा लिएका छन् । स्वास्थ्य कार्यालयको आयोजनामा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा ५२ जनाले सेवा लिएका हुन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी भट्टका अनुसार विशेषज्ञहरुले सेवा प्रदान गरेका उक्त शिविरबाट २७ जना महिला र २५ जना पुरुषले शिविरमा सेवा लिएका हुन् ।
मानसिक स्वास्थ्यको विषय ओझेलमा परेकाले मानसिक स्वास्थ्यको विषय पनि आधारभूत स्वास्थ्यकै विषय हो भन्ने कुरा जागृत गराउन शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताउनुभयो । मानसिक स्वास्थ्यका कार्यक्रमहरु नहुँदा विभिन्न खालका समस्याहरु बल्झिरहने भएकाले स्वास्थ्य कार्यालयले गत वर्षदेखि मानसिक स्वास्थ्यका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । अहिले सेवा लिएका नागरिक र अन्यका लागि फेरि दोस्रो चरणमा पनि शिविर सञ्चालन गरिने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।











प्रतिक्रिया