कारागारमा असुलीविरुद्ध कैदीबन्दी आन्दोलित



राजविराज, (नेस) ।

सप्तरीस्थित राजविराज कारागारका कैदीबन्दी आन्दोलित भएका छन् । जेलर सुमन कोइराला र कार्यालय सहयोगी चन्दन यादवले अनाहकमा दुःख दिँदै आएको भन्दै कैदीबन्दीहरुले भोक हडताल शुरु गरेका हुन् ।

जेलर कोइरालाले यादवसँग मिलेर चौकीदारबाट सञ्चालित किरानाका सरसमानमा मनपरी ढंगले रकम असुल्ने गरेको, सरकारबाट पाउने सेवा–सुविधामा पनि कटौती गरेको र भेट्न आउने आफन्तहरुलाई दुव्र्यवहार गर्ने गरेको कैदीबन्दीले टेलिफोनमार्फत जानकारी गराएका छन् । जेलरको सरुवा हुनुपर्ने, मनपरी ढंगले असुल्ने कार्य अन्त्य हुनुपर्ने र भेट्न आउने आफन्तहरुसँग समान व्यवहार हुनुपर्ने उनीहरुले माग छ ।

कैदीबन्दी शुक्रबार बिहानैदेखि भोक हड्तालमा बसेका हुन् । प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन गौतम, प्रहरी उपरीक्षक (एसपी) अविनारायण काफ्लेलगायतको टोली पुगेपछि २ घण्टाको छलफलपछि दिउँसो ३ बजेतिर कैदीबन्दीहरुले भोक हड्ताल अन्त्य गरेका थिए ।

सीडीओ गौतमले कैदीबन्दीहरुले उठाएको विषयमा छानबिन समिति गठन गरिएको बताउनुभएको छ । ‘कैदीबन्दीको समस्या बुझ्न हामीले तत्काल कारागार पुग्यौं र सरकारी सेवा–सुविधा नपाइएको लगायत कैदीबन्दीहरुको गुनासो बुझियो,’ उहाँले भन्नुभयो– ‘ती गुनासाको वास्तविकता बुझ्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत किशोर रामको संयोजकत्वमा समिति पनि गठन गरिसकेका छौं ।’

तत्काललाई केही गुनासा समाधान गराइए तापनि कैदीबन्दीले उठाएको कारबाहीको माग भने समितिले प्रतिवेदन बुझाएपछि मात्रै अघि बढ्ने सीडीओ गौतमको कथन छ । ‘अहिले कैदीबन्दीले अनशन स्थगित गरेका छन् ।’ –उहाँले भन्नुभयो । १ सय २५ जना क्षमता रहेको राजविराज कारागारमा हाल ३ सय ६५ जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्