वासुदेव शर्मा, जाजरकोट ।
जाजरकोटको त्रिभुवन माध्यमिक विद्यालयमा छात्राहरू पठनपाठनका क्रममा बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । खलंगा सदरमुकामको विद्यालयमा विद्यार्थी एक्कासि बेहोस हुन थालेपछि आइतबारसम्मका विद्यालय बन्द गरिएको हो ।
कक्षा ६ देखि १० मा अध्यनरत छात्रामा पठनपाठनकै समयमा अकस्मात् बेहोस हुने चिच्याउने, कराउने रुनेलगायतका समस्या देखिन थालेपछि विद्यालय बन्द गर्नुपरेको त्रिभुवन माध्यमिक विद्यालयले जनाएको छ । ‘पठनपाठनका लागि घरदेखि विद्यालय स्वस्थ अवस्थामा गएका छात्राहरू पठनपाठनका क्रममा भूत लागेको भन्दै काप्ने, कराउने, रुने गर्न थालेका हुन्’, प्रधानाध्यापक भक्तबहादुर मल्ल भन्नुहुन्छ– ‘दिनमा १० जनाभन्दा धेरै छात्रामा यस्तो समस्या देखिने गरेपछि स्वास्थ्कर्मीहरुको सल्लाहमा आइतबारसम्म विद्यालय बन्द गरेका छौ ।’
केही बेर बेहोस हुने, कराउने गरेपछि आफै ठीक हुने गरेको उहाँको भनाइ छ । बेहोस भएका छात्रालाई ठीक भए पनि केही समयपछि अन्य छात्रामा यस्तो समस्या देखिएपछि केही दिनका लागि विद्यालयको पठनपाठन बन्द भएको हो । करिब ६ महिनाअघि विद्यालयको छात्रावासमा बस्ने १२ कक्षामा अध्यनरत छात्राले आत्महत्या गरेकी थिइनँ । आत्महत्या गरेकी छात्रा प्रेत चढेको विद्यार्थीहरुको भनाइ छ ।
जिल्ला अस्पताल जाजरकोटका डाक्टर समीक्षा मल्लले छात्राहरुमा देखिएको समस्या मास हिस्टेरिया भएकाले विद्यालय बन्द गरी केही दिन सम्पर्क विच्छेद गरे समस्या समाधान हुने बताउनुभयो । विद्यालयमा आत्महत्या गरेकी छात्राले दुःख दिएको भन्दै आत्मशान्तिका लागि विद्यालयमा पूजापाठ, शान्ति स्वास्ति गर्न लागिएको विद्यालय स्रोतले जनाएको छ ।











प्रतिक्रिया