खाद्य गोदाममा शून्य खाद्य मौज्दात

सहुलियतको खाद्यान्न पाउनबाट सर्वसाधारण वञ्चित

0
Shares

वीरबहादुर बम, मुगु ।

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडअन्तर्गतका डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न मौज्दात शून्य हुँदा सहुलियतको खाद्यान्न पाउनबाट सर्वसाधारण वञ्चित भएका छन् । उनीहरु व्यापारीबाट महँगोमा किनेर खान बाध्य भएका छन् ।

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाअन्तर्गत चार डिपो र दुई बिक्री केन्द्र छन् । यो आर्थिक वर्षमा यी डिपो तथा बिक्री केन्द्रका लागि स्वीकृत खाद्यान्न कोटा ढुवानीको जिम्मा लिएका ठेकेदारले ढुवानी नगर्दा सहुलियतको खाद्यान्न पाउनबाट सर्वसाधारण वञ्चित भएका हुन् ।

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड सोरुकोट डिपोका लागि १ हजार ५ सय शाखा कार्यालय गमगढीबाट १ हजार क्विन्टल खाद्यान्न निर्धारण गरिएको छ । श्रोकोट डिपोका लागि सुर्खेतबाट १ हजार ५ सय क्विन्टल स्वीकृत भएको र रातापानी बिक्री

केन्द्रका लागि ८ सय ५० क्विन्टल छुट्याएको छ । यी तीन स्थानको ढुवानीको जिम्मा निर्माण सेवाले पाएको भए पनि हालसम्म ढुवानी भएको छैन । पुलु डिपोका लागि सुर्खेतबाट १ हजार र शाखा कार्यालय गमगढीबाट ७ सय ५० क्विन्टल ढुवानीको जिम्मा ऋणमोक्ष वर्कसप्लार्यसले र कालै बिक्री केन्द्रका लागि २ हजार क्विन्टलको ढुवानीको जिम्मा हिमाल निर्माण सेवाले पाएको भए पनि ढुवानीको जिम्मा लिएका ठेकेदारले हालसम्म पनि ढुवानी नगर्दा सर्वसाधारणले सहुलियतको खाद्यान्न नपाएको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाका प्रमुख पुष्कर भामले बताउनुभयो ।

यो आर्थिक वर्षमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाका लागि ११ हजार क्विन्टल स्वीकृत भएको थियो । ११ हजारमध्ये ९ क्विन्टल राजापुर, नेपालगन्ज र सुर्खेतबाट शाखा कार्यालय गमगढीसम्म ढुवानीको जिम्मा खड्का निर्माण सेवा जुम्लाले पाएको छ । धनगढीबाट २ हजार क्विन्टल बराल निर्माण सेवाले जिम्मा लिएको छ । शाखा कार्यालय गमगढीसम्म ढुवानीको जिम्मा लिएका दुई ठेकेदारमध्ये खड्का निर्माण सेवाले हजार क्विन्टल मात्र ढुवानी गरेको छ । हाल खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाको गोदाममा ३ सय क्विन्टल मात्र मौज्जाद रहेको छ । यो खाद्यान्न ३ देखि ५ दिनभित्र बिक्री भई गोदाममा मौज्जाद शून्य हुने अवस्था छ ।

डिपो तथा बिक्री केन्द्रमा प्रति ३० केजी जिरा मसिनाका १ हजार ६ सय ७५ मध्ये ३० केजी बोराको १ हजार ६५ मा सर्वसाधारणलाई बिक्री गर्ने खाद्यान्न डिपो तथा बिक्री केन्द्रमा नहुँदा ती स्थानका व्यापारीबाट प्रति २५ केजी जिरा मसिनाको २ हजारदेखि २ हजार २ सय खाद्यान्नको १ हजार ७ सयदेखि १ हजार ८ सयसम्म मूल्य हालेर सर्वसाधारणले उपभोग गर्नुपरेको सोरू गाँउपालिका–९ का बाँचे विकले बताउनुभयो ।

ज्याला मजदुरी गरेर जम्मा गरेको रकमले सहुलियतको खाद्यान्न डिपोबाट नपाएपछि ४ सयदेखि ५ सयसम्म महँगोमा तिरेर व्यापारीबाट किनेर खानुपर्ने बाध्यता रहेको छ । यो वर्ष भारी वर्षाका कारण अन्नबालीमा राम्रो उत्पादन नभएकाले खाद्य संस्थानकै भरमा स्थानीय भए पनि अहिले डिपो बन्द छन् । महँगोमा खाद्यान्न किन्न सर्वसाधारण बाध्य रहेको मुगुम कार्मारोङ गाउँपालिका–५ का सोनाम लामा बताउनुहुन्छ ।

यो वर्ष भारी वर्षाले जिल्लाभरका किसानले आफ्नो खेतबारीमा लगाएको अन्नको उत्पादन अघिल्ला वर्षभन्दा राम्रो छैन । फेरि हिउँद शुरु भइसकेको छ । हिमपात शुरु भएपछि ढुवानीमा समस्या हुन्छ । अहिले हिमपात नहुँदै खाद्यान्न ढुवानी भए सर्वसाधारणलाई बिक्री गर्न सहज हुने ढुवानीको जिम्मा लिएका ठेकेदारलाई हिमपात नहुँदै ढुवानी गर्न ताकेता गरेको भए पनि उनीहरु असार अन्तिमसम्म आफ्नो ढुवानी गर्ने जिम्मा भएकाले ढुवानी गर्न हतार नगर्ने भनेर जवाफ फर्काउने गरेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाका प्रमुख भामले बताउनुभयो ।