शान्ति र मानवताका अथक् अभियन्ता : प्रेम रावत



  • डा. प्रेमराज ढुङ्गेल

भारतको तेलङ्गना राज्यमा थप कैदीबन्दी नभएर पाँचवटा कारागारहरू बन्द भए । सामान्यतया तथ्याङ्कले के देखाउँछ भने आपराधिक गतिविधिका कारणले कारावास सजाय पूरा भई जेलबाट छुटेर गएका कैदीबन्दीहरू पुनः जेलमा आउने दर उत्तर अमेरिकी राज्यहरूमा बढ्दो छ । तर, टेक्सास राज्यको एउटा जेलमा यसको उल्टो नतिजा देखियो । अर्थात्, त्यहाँबाट छुटेर गएका कैदीबन्दीहरू पुनः फर्केनन् । टेक्सास विश्वविद्यालयका लागि यो अध्ययन र अनुसन्धानको विषय भयो । यी माथिका दुवै उदाहरणहरूमा कारण समान थियो– त्यहाँका कैदीहरू प्रेम रावतको शान्ति शिक्षा कार्यक्रममा सहभागी भएका थिए । त्यस कार्यक्रमका कारण उनीहरूमा सकारात्मक रूपान्तरण भई परिवार तथा समाजमा घुलमिल भएर उदाहरणीय जीवन जिउन थाले ।

शान्ति सन्देशको अथक् अभियान :
शान्ति र मानवताका एक अथक् अभियन्ता प्रेम रावतले गत साढे पाँच दशकदेखि अनवरत रूपमा संसारभरिका मानिसहरूलाई आफ्नो शान्ति सन्देशले उत्प्रेरित गरिरहनुभएको छ । राष्ट्रियता, धर्म वा जीवनशैली जेसुकै भए पनि हरेक मानिसका लागि उहाँको सरल र सीधा सन्देश उत्तिकै सान्दर्भिक छ । उहाँको सन्देशको तात्पर्य ‘आन्तरिक शान्ति सम्भव छ र यो मानिसको जन्मजात अधिकार हो’ भन्ने नै हो । उहाँका अनुसार शान्ति मानिसका लागि अत्यावश्यक र आधारभूत मानव अधिकार हो । यसरी मानिसहरूलाई शान्तिको व्यावहारिक अनुभूति गराउँदै संसारभरि यात्रा गरिरहनुहुने प्रेम रावतको जन्मदिन पनि संयोगवश अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकै दिनमा पर्न गएको छ ।

सन् १९५७ डिसेम्बर १० अर्थात् वि.सं. २०१४ मङ्सिर २५ मा उत्तरी भारतमा जन्मनुभएका रावतको सन्देशभित्र हरेक व्यक्तिको हृदयमा स्थित आन्तरिक शान्ति र स्वतन्त्रताको ढोका खोल्ने युगीन जीवनमुखी प्रेरणा मुखरित हुन्छ । उहाँको सन्देश केवल शब्दभित्र सीमित नभएर व्यावहारिक प्रत्यक्ष अनुभवमा आधारित छ । आनन्द, खुशी र जीवनको सफलताका वास्तविक आयामहरू प्रस्तुत गर्नु उहाँको आफ्नै मौलिक विशेषता हो । उहाँ भन्नुहुन्छ– ‘खुशी तपाईंको आफ्नो सम्पत्ति हो जुन तपाईँभित्रै विद्यमान छ ।’ आफ्ना पिता श्री हंसजी महाराजको प्रेरणा र मार्गदर्शन अनुरूप चार वर्षकै उमेरमा उहाँले आन्तरिक शान्ति र आनन्दका विषयमा बोल्न शुरु गर्नुभएको थियो । उहाँ केवल आठ वर्षको बाल्यकालमै हुँदा उहाँका पिताको देहावसान भएपछि यो महान् कार्यको उत्तरदायित्व आपूmले सम्हाल्नुभयो । आजसम्म पनि उहाँको यो यात्रा निरन्तर जारी छ । उहाँ भन्नुहुन्छ, ‘शान्ति हरेक मानिसको जीवनमा हुनु आवश्यक छ । शान्ति विश्वलाई चाहिएको होइन, यो त हरेक मानिसलाई चाहिएको छ । जब संसारका मानिसभित्र शान्ति हुन्छ तब विश्वमा पनि शान्ति हुन्छ ।’

सन् १९७१ मा केवल १३ वर्षको उमेरमै उहाँलाई भारतबाहिर लन्डन (इङ्ल्यान्ड) र लस एन्जलस (अमेरिका) बाट आफ्नो सन्देश प्रस्तुत गर्नका निमित्त निमन्त्रणा आएपछि उहाँको विदेश यात्रा प्रारम्भ भएको थियो । उहाँले नेपाल र भारतका विभिन्न शहर र गाउँका खुल्ला ग्राउन्ड, बन्द हल वा स्टेडियमहरूमा लाखौँ मानिसहरूलाई थुप्रै कार्यक्रममार्पmत सम्बोधन गर्नुभएको छ । यसका साथै संयुक्त राष्ट्र संघ, युरोपियन मुलुक तथा अन्य देशका संसद्लगायतका अन्तर्राष्ट्रिय प्रतिष्ठित मञ्चदेखि विभिन्न चर्चित विश्वविद्यालयहरू, ठूला कारागारहरू, टेलिभिजन तथा रेडियोलगायतका थुप्रै सञ्चारमाध्यमहरू र अन्य धेरै निकायहरूको निमन्त्रणामा उहाँले सम्बोधन गरिसक्नुभएको छ र गरिरहनुभएको छ । संसारका १०० भन्दा बढी देशका करोडौँ मानिसहरूसम्म उहाँको सन्देश पुगिसकेको छ ।

उहाँको सन्देशले विश्व मानव समुदायलाई मानवता र शान्तिको एउटा बृहत् परिवार बनाइरहेको छ । उहाँको सन्देशले मानव अन्तस्करणमा छुन्छ । आज सारा संसार भौतिक उन्नतिका साथ वास्तविक सुखको खोजीमा छ । अनि, प्रेम रावत भन्नुहुन्छ– ‘हरेक व्यक्तिभित्र सन्तुष्ट हुने प्यास अन्तरनिहित छ ।’ तर, उहाँ यी कुरा भन्नुमात्रै हुन्न, प्रत्यक्ष अनुभव गर्ने तरिका पनि सिकाउनुहुन्छ । शायद यसै कारणले होला के धर्म, के जाति, के सम्प्रदाय, के देश, आज संसारका करोडौँ मानिस उहाँको सन्देशलाई हृदयदेखि नै स्वीकार गरिरहेका छन् ।

भोजन, पानी र शान्ति :
गाँस, बास र कपासलगायत मानिसका थुप्रै आवश्यकता छन् । तीमध्ये पनि आधारभूत आवश्यकताहरु खाना, स्वच्छ पानी र शान्ति प्राप्तिका लागि मद्दत गरी आत्मसम्मान, शान्ति र समृद्धि अभिवृद्धि गर्ने उद्देश्यले प्रेम रावतले ‘द प्रेम रावत फाउन्डेसन’ नामक एक परोपकारी संस्थाको स्थापना गर्नुभएको छ, जसको भर्खरै बीसौँ वार्षिकोत्सव मनाइयो । यस फाउन्डेसनका विभिन्न कार्यक्रमहरूमध्ये ‘जनभोजन कार्यक्रम’ पनि एक हो, जसले विपन्न क्षेत्रका बालबालिका र वृद्धवृद्धालाई पोषणयुक्त भोजन र सफा खानेपानी निःशुल्क उपलब्ध गराउँछ । भारतको बनटोली (राँची), नेपालको तसर्पु (धादिङ) र अफ्रिकाको घानामा सञ्चालित यस कार्यक्रमले गरिबीको दुश्चक्रबाट छुट्कारा दिलाउन योगदान पु¥याएको छ । प्रेम रावत फाउन्डेसनले अन्य परोपकारी संस्थाहरूसँग मिलेर विश्वभरि प्राकृतिक प्रकोपका बेलामा त्यसबाट प्रभावित मानिसहरूका लागि तत्काल राहतको कार्यमा पनि सहयोग प्रदान गर्दै आइरहेको छ ।

फाउन्डेसनको अर्को प्रमुख तथा अत्यन्त प्रभावकारी कार्यक्रम ‘शान्ति शिक्षा कार्यक्रम’ अर्थात् ‘पिस एजुकेसन प्रोग्राम’ हो । यो भिडियोमा आधारित एउटा नौलो शृङ्खलाबद्ध कार्यक्रम हो, जसले मानिसलाई आन्तरिक क्षमता र व्यक्तिगत शान्ति प्राप्त गर्न मद्दत गर्दछ । यस कार्यक्रममार्पmत सहभागीहरूले आफूभित्र स्थित मानवता, आशा, आत्मसम्मानजस्ता आन्तरिक स्रोतहरूका बारेमा केन्द्रित भई आफूलाई व्यक्त पनि गर्न सक्छन् । यसले व्यक्तिगत शान्ति कस्तो हुन्छ भनेर व्याख्या वा परिभाषित गर्नेभन्दा पनि हरेक व्यक्तिलाई आफ्नै बुझाइमा पुग्न सशक्तीकरण गर्दछ । कैदीबन्दी तथा त्यहाँका सुरक्षा निकायका अतिरिक्त यो कार्यक्रम विद्यालय तथा कलेजका युवाहरू, आश्रयस्थल वा कल्याणकेन्द्र, सुधार गृहलगायतका विभिन्न स्थानहरूमा प्रभावकारी सिद्ध भएको छ ।

संसार कोरोना महामारीको प्रताडनामा त्रसित भएको समयमा पनि उहाँले हिम्मत र साहसप्रद प्रेरणादायी सन्देशलाई शृङ्खलाबद्ध रूपमा अनलाइन भिडियोमार्पmत प्रस्तुत गर्नुभयो । हिन्दी र अङ्ग्रेजी भाषामा भएका ती शृङ्खलाहरूमध्ये ‘लकडाउन’, ‘वन टु वन’, ‘साथ साथ’ र ‘हिम्मतको समय’ प्रमुख थिए । बन्दाबन्दीको जटिल अवस्थामा यी कार्यक्रम हेरेपश्चात् घरभित्रै थुनिएका आम मानिसका लागि एउटा जीवन जिउने आधार प्राप्त भएका थुप्रै प्रतिक्रिया आइरहे । मानिसले निराशामय परिवेशभित्र घरभित्रै बस्दा पनि आशाको किरणलाई पहिचान गर्ने सुअवसर पाइरहेका थिए । हालसालै पनि उहाँले आफ्नो आधिकारिक वेबसाइट ‘टाइमलेसटुडे डट टीभी’ मार्पmत भर्चुअल माध्यमबाट आफ्नो सन्देश प्रस्तुत गरिरहनुभएको छ । उहाँको सन्देशमा यथार्थ हुन्छ– ‘हामीले जबसम्म हामीभित्रै रहेको त्यो शान्तिलाई प्राप्त गर्दैनौँ, जबसम्म हामीले हाम्रो जीवनमा त्यसलाई महसुस गर्दैनौँ तबसम्म हामीले बाहिर जस्तोसुकै माहोल निर्माण गरे पनि त्यो शान्तिलाई हाम्रो जीवनमा स्थापित तुल्याउन सक्दैनौँ ।’ उहाँका सन्देशभित्र जीवन हुन्छ अनि वास्तविक जगत् पनि ।

एक विशिष्ट लेखक :
प्रेम रावत एक विशिष्ट लेखक पनि हुनुहुन्छ । उहाँले अगस्त २०१७ मा जापानबाट ‘स्प्लिटिङ द एरो’ नामक पुस्तक प्रकाशित गर्नुभएको छ, जुन विश्वमा अधिक चर्चामा रह्यो (यसको नयाँ संस्करण ‘शान्ति सम्भव छ’ भन्ने शीर्षकमा पनि प्रकाशित छ) । उक्त पुस्तकको नेपाली अनुवाद ‘तीरको लक्ष्य’ नेपालमा पनि उपलब्ध छ । हालै प्रकाशित उहाँले लेख्नुभएको ‘हियर योरसेल्फ’ (आफ्नैलाई सुन्नुहोस्) शीर्षकको नयाँ अङ्ग्रेजी पुस्तक गत भाद्र २९ गते अमेरिकाको न्युयोर्क शहरमा लोकार्पण भयो । यो पुस्तक प्रकाशित भएको दुई हप्ताभित्रै ‘न्युयोर्क टाइम्स’ पत्रिकाले सर्वाधिक विक्री हुने १० पुस्तकहरूको सूचीभित्र पर्न सफल भएको खबर सम्प्रेषण गरेको छ । उक्त पुस्तक स्पेनी, फ्रान्सेली, इटालियन र पोर्तगाली भाषामा समेत प्रकाशित भइसकेको छ । ‘द पट विद द होल’ र ‘द स्टोन कटर’ पनि उहाँद्वारा लिखित प्रसिद्ध पुस्तकहरूमध्येमा पर्दछन् ।

शान्ति र मानवताको क्षेत्रमा विशिष्ट र अनवरत योगदानका लागि उहाँलाई संसारका विभिन्न मुलुक, संघसंस्था तथा प्रतिष्ठित मञ्चहरूबाट थुप्रै सम्मानहरू प्राप्त भएका छन् । कतिपय देशका शहरहरूले सम्मानार्थ नागरिकता प्रदान गरेका छन् भने थुप्रै देशका प्रतिष्ठित शहरहरूले आफ्नो शहरको साँचो प्रदान गरेर सम्मान गरेका छन् । त्यस्तै केही अन्तर्राष्ट्रिय संस्थाहरूले उहाँलाई ‘शान्तिदूत’ घोषणा गरेका छन् । सन् २०१२ मा मलेसियामा उहाँलाई ‘ब्रान्डलरियट लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मानित गरियो । यो सम्मान पाउने उहाँ चौथो व्यक्ति हुनुहुन्छ र त्यसअघि पाउनेमध्येकै एक हुनुहुन्थ्यो– नेल्सन मण्डेला । सन् २०१३ मा उहाँलाई पेरुको कुस्को शहरमा त्यहाँ प्रदान गरिने सर्वोच्च सम्मान ‘द वान्ड अफ पावर’ प्रदान गरियो भने न्युजिल्यान्डको वेलिङ्टनमा मावोरीको सर्वोच्च सम्मानद्वारा विभूषित गरियो । त्यसअघि सन् २०१० मा बेलायतमा उहाँलाई लन्डन शहरको स्वतन्त्रता सम्मान प्रदान गरिएको थियो ।

कुशल पाइलट :
प्रेम रावत सधैँ आजको प्रविधि र सञ्चारमाध्यममार्पmत समाजलाई सकारात्मक दिशातिर लम्कन प्रेरित गरिरहनुहुन्छ । चार छोराछोरीका पिता र चार नातिनातिनीका हजुरबुबा भइसक्नुभएका उहाँ एक लेखक तथा शान्ति र मानवताका अभियन्ता मात्रै हुनुहुन्न, सङ्गीत सृजना, विभिन्न परिकारका खाना पकाउने, पुराना कारहरू मर्मत गरेर पुनर्जीवन दिने, सन्देशका बीचमा सान्दर्भिक र मीठा कथालाई प्रस्तुत गर्ने, चित्रकला तथा फोटोग्राफीको समेत सोख राख्ने बहुमुखी प्रतिभावान् हुनुहुन्छ । यसभन्दा अतिरिक्त १४,००० घण्टा उडान पूरा गरिसक्नुभएको उहाँ एक कुशल पाइलट पनि हुनुहुन्छ । बढीभन्दा बढी सङ्ख्यामा मानिसहरूकहाँ आफ्नो शान्ति सन्देश प्रत्यक्ष पुर्याउन सकियोस् भनेर उहाँ आफैँ हवाईजहाज वा हेलिकप्टर चलाएर संसारका स–साना गाउँदेखि ठूला शहरहरूसम्म पुग्नुहुन्छ ।

उहाँको अथक् यात्राले मानव मात्रको आन्तरिक जागरणको सकारात्मक भावलाई विश्व समुदायमा प्रवाह गरिरहेको छ । अन्ततः हामी अपेक्षा गरौँ– उहाँको यो यात्रा, यो मानवीय सुकार्य अनि प्रेरणाप्रद सन्देशबाट सबैको जीवन सुख र आनन्दमय बनोस् । संसारका हरेक मानिसले शान्ति र आनन्दको सुखद संसारलाई निर्माण गरिरहन सकून् अनि उहाँको यो शान्ति र मानवताको अभियान अभैm सार्थक बन्दै जाओस् ।

प्रतिक्रिया दिनुहोस्