युवक हत्याको मुख्य योजनाकारसहित दुई पक्राउ



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरको बालकोटमा एक युवकको हत्या भएको छ । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने राजु भन्ने ३३ वर्षीय राजन श्रेष्ठको शव सूर्यविनायक–२, बसीटोलस्थित हनुमन्ते खोला किनारको खेतमा फेला परेको हो ।

निर्माणाधीन हनुमन्ते करिडोर किनाराको टहरा नजिक श्रेष्ठको टाउको क्षतविक्षत हुने गरी धारिलो हतियार प्रहार गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव मध्यपुर अस्पतालमा लगिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक नरहरि रेग्मीले हनुमन्ते करिडोर किनाराको टहरानजिक होहल्ला भएको र स्थानीय तथा प्रहरी घटनास्थल पुग्दा श्रेष्ठ गम्भीर घाइते अवस्थामा थिए । प्रहरीले मध्यपुर अस्पताल नयाँथिमी पुर्याउँदा मृत घोषणा गरेको जनाएको छ ।

घटना विवरणअनुसार घर फर्कने क्रममा कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति उद्धार गरी मध्यपुर अस्पताल लगिएको थियो । प्रनाउ रेग्मीसहितको अनुसन्धान टोली राति नै घटनास्थल पुगेर अनुसन्धान शुरू गरेको थियो । प्रहरीले रातभरि कुटपिट गर्ने व्यक्तिको खोजी गरेको थियो । श्रेष्ठको हत्या आरोपमा प्रहरीले मुख्य योजनाकारसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मुख्य योजनाकार मानिएका सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ–२ का ३० वर्षीय प्रेम विक रहेका छन् ।

प्रहरी स्रोतका अनुसार आर्थिक लेनदेनसम्बन्धी विषयमा विवाद हुँदा हेमन्त र प्रेमले कुटपिट गरी हत्या गरेको खुल्न आएको छ । मृतक राजन जग्गा व्यवसायी रहेको र उनीहरूबीच आर्थिक लेनदेनको विवाद देखिएको प्रहरीको भनाइ छ । स्रोतका अनुसार हेमन्तले फोन गरी बोलाएपछि मंगलबार राति घरमै रहेका राजन मध्यपुर थिमि–३ गठ्ठाघर पुगेका थिए । राजनको गाडी गठ्ठाघरमा राखी उनीहरू मोटरसाइकलमा बालकोट पुगेर आर्थिक लेनदेनको विषयमा छलफल भएको देखिन्छ । त्यही विवाद हुँदा हेमन्त र प्रेमले चिर्पट, फलामको रडलगायतले अनुहारमा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकका आफन्तले महानगरीय प्रहरी वृत्त थिमि पुगेर घटनाको निष्पक्ष छानविन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । घटनामा पक्राउ परेका दुई जना आरोपितबाहेक अन्य पनि संलग्न हुन सक्ने आशंका व्यक्त गर्दै उनीहरूले अनुसन्धानको दायरा फराकिलो बनाउन मागसमेत गरेका छन् । घटनास्थल वरपर एक सय मिटरको दूरीमा समेत विभिन्न ठाउँमा रगतका टाटा देखिएको भन्दै आफन्तले घटनामा अन्य व्यक्तिहरूको समेत संलग्न भएको दाबी गरेका हुन् । मृतकका आफन्तले घटनास्थलदेखि केही मिटरको दूरीमा रहेको एकघरको कम्पाउन्डभित्र विभिन्न स्थानमा रगतको टाटा देखिएकोले सो घर र घरमा बस्नेहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

स्थानीयका अनुसार सो घरको फलामको रेलिङ बार, तुलसीको मठलगायतका स्थानमा रगतको टाटा देखिएको थियो । प्रहरीले त्यो रगत मृतकको हो वा होइन भनी फरेन्सिक जाँचका लागि पठाएको र त्यसको रिपोर्ट आएपछि मात्र यकिनका साथ भन्न सकिने जनाएको छ । मृतक श्रेष्ठ बुबाको मृत्यु भएपछि एक वर्षको आशोच बारिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्