चिसोबाट बचाउन गृहकार्य शुरू



रसुवा ।

हिमाली जिल्ला रसुवामा चिसोवाट बच्न र बचाउन आवश्यक गृहकार्य शुरू गरिएको छ । मंगलबार जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल गरी गृहकार्य गरेको हो ।

हिमपात भएमा आम समुदायलाई बढ्दो चिसो र हिमपातबाट जोगाउन न्यानो कपडा वितरण गर्ने, आवश्यक पर्ने दाउरा संकलन गर्न लाङटाङ राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय रसुवालाई भनिएको प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष नवराज जैसीले बताउनुभयो ।

गोसाइँकुण्ड गाउँपालिका–१, ३, ४, ५ को ठूलो स्याफ्रु, ६ नम्बर वडाको नागुङ र ठाडे आमाछोदिङमो गाउँपालिकाको वडा नम्बर एक बाहेकका वडा नम्बर २, ३, ४ को चौहतर र स्यो ५ नम्बर वडाको ब्राजम, सिम्वु, तातोपानी गोङगाङ, उत्तरगया गाउँपालिकाको वडा नम्बर १ को तिरू, गोगने करुमर्याङ, शिरूचेत, खड्कु, वडा नम्बर २ को बास्तोला, कालिका गाउँपालिकाको १, २ को लोकिल र स्याउबारी, ज्याङलाङ प्राविभन्दा माथि, नौकुण्ड गाउँपालिकाको एक नम्बर वडाको आरूखर्क, सिमबन्दी, थाङदोर, बेताङ, साङयुल र वडा नम्बर दुईको अति विपन्न घर–परिवारलाई न्यानो कपडा वितरण गरिने उहाँको भनाइ छ ।

अत्यधिक चिसो र हिमपात हुने जिल्लामा रसुवा पनि पर्ने भएकाले आवश्यक पर्ने ठाउँमा सम्वन्धित स्थानीय तहहरूको समन्वयमा चाँडोभन्दा चाँडो विपन्न घर–परिवारलाई न्यानो कपडा वितरण गरिने प्रजिअ जैसीले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्