कोरोनाको ओमिक्रोन भेरिएन्ट भित्रिने चिन्ता



विश्वको अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरिएन्ट देखा परेको छ । विभिन्न राष्ट्रले नयाँ भेरिएन्टबाट आफ्ना नागरिक बचाउन धेरै स्वास्थ्य मापदण्ड र नीतिहरु अपनाएका छन् । ओमिक्रोन नामक भाइरसबाट बच्न हरेक राष्ट्रले सक्दो प्रयास गरिरहेका छन् ।

हाम्रै छिमेकी देशहरुको पनि सिमाना बन्द गरिसकेका छन् । विज्ञहरुले समेत यस भाइरसबाट बच्न आग्रह गरिरहेका छन् । तर, नेपालमा भने यस भाइरसलाई बेवास्ता गरिएको छ । अधिकांश सडक, सार्वजनिक स्थल, पाटीपौवा, मठमन्दिर, सार्वजनिक यातायातमा अत्याधिक भीड रहेको छ ।स्वास्थ्य मापदण्डको पालना नगरी मानिसहरु जथाभावी दौडिएका छन् । कोरोनाको नयाँ भेरिएन्टलाई कसैले गम्भीरताका साथ हेरेका छैनन् । कोभिडको दोस्रो लहर नसिधिँदै खोलिएको मठमन्दिरमा भक्तजनहरुको पूजाआजा गर्न भीड लाग्ने गरेको छ ।

मन्दिरमा दर्शन गर्ने, भजनकीतन गाउने भन्दै बूढाबूढीदेखि लिएर महिलाहरु बालबच्चासमेत बोकेर आउने गरेका छन् । सरकारले पटक–पटक स्वास्थ्य मापदण्डको पालना गर्न भने तापनि हेलचेक््रयाइँ गरेर मास्क नै नलगाई मन्दिरमा दर्शन गर्न आउनेको घुइँचो देख्न सकिन्छ ।अहिले हरेक जिल्लाका मन्दिरहरु खुलिसकेका छन् । स्वास्थ्य मापदण्ड पालना गराउँछौं भनेर कोरोनालाई लिएर लापरबाही गरेका छन् । मन्दिरमा बस्ने पुरोहितदेखि लिएर पूजाआजा गर्न चाहिने सामान बेच्ने व्यापारीले समेत स्वास्थ्य मापदण्डको पालना गरेको देखिँदैन ।

धर्म गर्ने भनेका छन् तर चर्को भीडभन्दा अरु केही छैन । मन्दिरमा भएका भीडले कोरोना बढ्ने संज्ञा दिइएको छ । यदि कोरोनाबाट जनता बचाउनु छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मठमन्दिर तत्कालै बन्द गर्नुपर्छ । मठमन्दिर मात्र बन्द गरियो भने कोरोना नियन्त्रण गर्न सरकारलाई निकै सघाउ पुग्छ ।रात्रिकालीन व्यवसायी, पार्टी प्यालेस, होटल व्यवसायजस्ता भीडभाड हुने स्थान गृह मन्त्रालयले बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुपर्छ । अत्यधिक भीडभाड हुने क्षेत्रहरु सञ्चालनमा मन्त्रालयले बन्देज लगाउन जरुरी देखिएको छ ।

मालपोत, यातायात कार्यालय र राहदानी बनाउने कार्यालय पनि सञ्चालनमा रोक लगाइदिए केही हदसम्म कोरोना नियन्त्रण सम्भव छ । केही दिनको लागि सिडियो कार्यालयबाट जनताले पाउने सेवासुविधा सञ्चालन गर्न दिनुहुन्न । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरु पनि केही दिनसम्म चल्नबाट बन्देज लगाएमा कोरोना नियन्त्रण गर्न सक्ने अवस्था सिर्जना हुन्छ । सरकारले बनाएको मापदण्ड पालना गर्नमा बैंक, फाइनान्स पनि चुकेको छ । वित्तीय संस्थाहरुले पनि स्वास्थ्य मापदण्ड पालना गर्न अटेर गरेका छन् ।अब सरकारले जोर–बिजोर प्रणाली लागू गर्नुपर्छ । यता, सरकारी वा निजी विद्यालयले पनि हेल्थ प्रोटोकलको पालना गरेका छैनन् । विद्यालयमा सामाजिक दूरीको पालना गर्नु असम्भवजस्तै देखिन्छ । विधार्थीहरुले मास्कसमेत लगाएका छैनन् ।

अहिले बालबालिका कोरोनाको घेरामा घेरिएका छन् । बालबालिकाले मास्क लगाउँदैनन् भने विद्यालयले स्यानिटाइजर व्यवस्थासमेत गरेको छैनन् । सरकारले बालबालिकालाई कोरोनाको नयाँ भेरिएन्टबाट टाढा राख्न प्रभावकारी ढंगले सामाजिक दूरीको पालना गर्न लगाउनुपर्छ । नत्र भए अनलाइनबाट पढाउनु नै उपयुक्त देखिएको छ । अनावश्यक रुपमा टाइम पास गर्न विनाकाम सडकमा प्रशस्तै मानिसहरु हिँडिरहेका हुन्छन् । आफ्नो स्वास्थ्यको ख्याल नगरी नेपाली जनता निस्फिक्री डुलिरहेका छन् । यसरी जथाभावी डुल्दा कोरोना संक्रमण बढ्ने डर ज्यादै हुन्छ ।

सार्वजनिक यातायातले कोरोना फैलाउन झनै ठूलो भूमिका खेलेको छ । बस, माइक्रोबस, ट्याम्पुजस्ता गाडीमा यात्रुको भीड धेरै नै हुन्छ । दाउरा मिलाएजस्तै राखिएका यात्रुको चाङमा कोरोना फैलिन सक्ने जोखिम बढी रहन्छ । अहिले बसका सहचालक चालकले नै मास्क, स्यानिटाइजरको प्रयोग गर्दैनन् ।सार्वजनिक यातायातमा यात्रा गर्ने कमै यात्रुले मात्र मास्क लगाएको देखिन्छ । लगाएका अधिकांशले पनि चिउँडो छोप्नको लागि मास्क लगाएका छन् । जसले गर्दा एउटासँग भएको रोग अर्कोलाई सर्ने दर बढिरहेको छ । ढोकैसम्म यात्रु उभ्याइएको हुन्छ तर त्यस्ता सवारीलाई कारबाही गरिँदैन ।

सरकारले सिटभन्दा बढी यात्रु हाल्न नपाउने निर्णय गर्नुपर्ने बेला भएको छ । सहचालक, चालकका साथै यात्रुले पनि अनिवार्यरुपमा मास्क लगाउनुपर्ने नियमको निर्माण गरेमा कोरोनाबाट जोगिने अलिकति आश जाग्छ ।चुनाव नजिकिएसँगै राजनीतिक दलहरुको महाधिवेशन, बेठक, सभाजस्ता गतिविधिहरुले स्थान पाएका छन् । दलहरु आफैं कोरोनालाई साइडमा राखेर भेला गर्दै हिँडेका छन् । न राजनीतिक दलले मास्क लगाउछन्, न त सिकाउँछन् । जनता पनि राजनीतिक दलका कार्यकर्ता बनेर भीड बढाउने काम मात्र गरिरहेका छन् ।

अहिले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन भइरहेका छन् । सयौंको संख्यामा वकिलहरु सडकमा ओइरिएका छन् । यो पनि कोरोना फैलिनुको प्रमुख कारण बन्न सक्छ । अब मन्त्रालयले २५ जनाभन्दा बढी सहभागी गरेर कुनै कार्यक्रम गर्न नदिने निर्णय गर्नुपर्छ ।हवाईजहाजहरुमा सरकारले बनाएका प्रोटोकलहरुको पालना भएका छन् कि छैनन् भनेर अनुगमन गरिनुपर्छ । साथै, सिट संख्याभन्दा बढी यात्रु हाल्ने, सरकारले बनाएका मापदण्ड पालनामा अटेर गर्ने लामो रुटकाका गाडी चल्न दिनुहुन्न ।

नेपाल र भारत छिमेकी मुलुक हुन् । यी दुई राष्ट्रलाई एक–अर्कोको देश जान कुनै रोकतोक लगाइएको छैन । नेपालीहरु आफ्नो परिचयपत्रको आधारमा भारत जान पाउँछन् भने भारतीय पनि सजिलै नेपाल छिर्न पाउँछन् । नेपालका अधिकांश नागरिकहरु रोजगारीको लागि भारत गएका छन् । नेपालमा पनि भारतीयको संख्या उल्लेखनीय छ ।
भारतमा कोरोना संक्रमणको दर बढेसँगै नेपालीहरु धमाधम आफ्नै देश फर्किदै छन् । तर, नाकामा कोरोनाको परीक्षण भएको छैन । भारतबाट नेपाल आउनेहरु सीधै आफ्नो घर धाइरहेका छन् । जसले गाउँ र टोललाई नै खतरामा पारेको छ ।

शहरमा त क्वारेन्टिनको व्यवस्था गरिएको छैन भने गाउँमा कल्पनाभन्दा बाहिरैको कुरा हो ।ठुल्ठूला व्यापारिक मल, सुपर मार्केटहरु जस्तै– भाटभटेनी, बिग मार्ट, लबिम मलमा पनि सरकारले बनाएको मापदण्ड पालना भएको छैन । सिनेमाघरहरुले पनि अलिक लापरबाही नै गरेका छन् । घरघरमा कबाडी सामान लिन आउनेलाई कोरोनाको बारे मतलब छैन । फुटपाथ व्यापारी, ठेलागाडा व्यापारी र किराना पसलेले पैसाभन्दा अरु केही देखेका छैनन् । सडकछेउछाउ पूरै ढाकेर बसेका फुटपाथ व्यापारीहरुले पनि स्वास्थ्य मापदण्डको पालना गरेका छैनन् । सरकारी कार्यालयमा झनै खुट्टा टेक्ने ठाउँ छैन ।

हरेक सरकारी कार्यालयमा दैनिक हजारौंको संख्यामा भीड लाग्छ । प्रभावकारी ढंगबाट काम सुचारु गर्न नसक्दा जनताले दुःख त पाएका छन् नै, त्योभन्दा पनि कोरोना फैलिने चिन्ताले पिरोलिरहेको छ । उपत्यकावासीलाई बचाउन मेयरहरुले साँगा र थानकोट नाकामा स्वास्थ्यकर्मी राखेर कोरोना परीक्षण गर्ने हो कि ?

यति गरिदिने हो भने उपत्यकावासीले कोरोना लाग्ने डरबाट अलिकति भए पनि राहत पाउँथे । अहिले देशभरका जनता उपत्यकामा बस्छन् । यदि केही गरी कोरोनाले विकराल रुप लियो भने उपत्यका नै सखाप हुन्छ । सरकारले पनि जनता बचाउने हो भने उपत्यका भित्रिने नाकाहरुमा कडाइका साथ चेकजाँच गर्नुपर्छ ।कोरोनाको नयाँ भेरिएन्टबाट देशका नागरिकहरुलाई बचाउन सरकारले आवश्यक नीति बनाउने बेला आएका छन् । अझ बालबालिका, दीर्घकालीन रोगी र बूढाबूढीलाई अनावश्यक काममा ननिस्कन आग्रह गर्नुपर्छ । यसबाट कोरोना केही मात्रासम्म न्यूनीकरण गर्न सकिन्छ ।
– अनुसा थापा, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्