जिल्ला अदातलमा चार महिला अधिकृत ‘सहज र सरल न्यायका लागि कृयाशिल’



मोतीराम तिमल्सिना, काभ्रे । 

अप्सरा चापागाई २९, प्रकृति पराजुली २५, हिराकुमारी भण्डारी ३३ र कुसुम थापा ३३ । उहाँहरु चार जना जिल्ला अदालत काभ्रेपलाञ्चोकमा महिला अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । न्याय सेवामा कार्यरत रहेर नागरिकहरुलाई न्यायमा सहज र सरल पहुँच निर्माणका लागि भएका ब्यवस्थालाई सरलिकृत गर्ने उदेश्य बोकेर लोकसेवामा सहभागि भएका चारै जना महिला अधिकृत अदालतको सेवामा सन्तुष्ट छन् । नागरिकहरुलाई अझै सहज सेवाका लागि कृयाशिल भईरहेका छन् ।

२०७२ साल पुष १ गते धादिङ्ग जिल्ला अदालतबाट नायव सुब्बाबाट सेवा प्रवेश गर्नु भएकी अप्सरा चापागाईले काठमाडौ जिल्ला अदालतमा २०७३ भदौबाट तीन वर्षसम्म सेवा गर्नु भयो । २०७६ असार ५ गते अधिकृतमा लोक सेवा आयोगबाट नाम निकालेसँगै उच्च अदालत पाटनमा एक वर्ष सेवा गरी २०७७ असोज ५ गतेबाट काभ्रेपलाञ्चोक जिल्ला अदालतमा कार्यरत हुनुहुन्छ । ब्यवस्थापनमा मास्टर्स अध्ययन गरी एलएलवी अध्ययन गर्नु भएकी अधिकृत अप्सराले जागिर पछि विवाह गर्नु भएको हो । न्याय महङ्गो नभएकाले अदालत भित्र आउँदा नागरिकहरुलाई सहज सेवाका लागि प्रयत्न गरिरहेको बताउनु भयो । ‘

बाहिर गरिने टिका टिप्पणी भन्दा अदालत भित्रको न्याय विल्कुल फरक छ’–अप्सरा चापागाईले भन्नुभयो–‘नागरिकहरुलाई सहज र सरल न्याय दिन अदालत सधै तत्पर छ ।’ अदालतले चापागाईलाई सूचना अधिकारी र प्रशासनको जिम्मेवारी प्रदान गरेको छ । काठमाडौको तारकेश्वर २ मा जन्मनुभएकी अप्सराले बनेपा ९ मा विवाह गर्नु भएको छ ।कुसुम, प्रकृति र हिराकुमारी भण्डारीले २०७८ साउन ३१ गते लोक सेवा आयोगबाट अधिकृत पदमा नाम निकाल्नु भएको थियो । हिराकुमारी भण्डारीको फरक खालको संर्घष छ । सिन्धुपाल्चोक मेलम्चीमा जन्मिएकी हिराकुमारीको शशस्त्र द्वन्द्वका क्रममा विद्यालयबाट फर्कँदा एउटा आँखामा गोलीका छर्रा लागेको छ । ४ वर्षको उमेरमा बुबा गुमाएर संर्घषपूर्ण जीवन विताउनु भएकी भण्डारीको १७ वर्षको उमेरमा पाँचखालमा विवाह भएको थियो ।

सामाजिक संस्थामा जागिर खाँदा खाँदै तेश्रो सन्तान जन्मिएपछि उहाँले लोकसेवाको तयारी गर्नु भएको थियो । बच्चाहरुलाई सुताएर रातभर अध्ययन गरेकी हिराकुमारी भण्डारीले मेहनत गर्दा जति जिम्मेवारी वा असहज अवस्थामा पनि सफल बन्न सकिन्छ भन्ने उदाहरण आफु भएको बताउनु भयो । ‘अदालतलाई प्रविधिमैत्री बनाउँदै नागरिकहरुलाई सहज र सरल बनाउँदै नागरिकमैत्री न्याय बनाउन जरुरी छ’–हिरकुमारी भण्डारीले भन्नुभयो–‘स्थानीय सरकार, नागरिक समाज तथा सरोकारवालाहरुले न्यायको सहज पहुँचका लागि सचेतना गराउनु आवश्यक छ ।’ हिराकुमारी भण्डारीलाई अदालतले ३ नम्वर ईजलाश र ३ नम्वर फाँटको जिम्मेवारी प्रदान गरेको छ । ग्रामीण विकासमा स्नातकोत्तर र एलएलबी अध्ययन गर्नु भएकी भण्डारीको सफलतामा परिवारको साथ र सहयोग छ ।

कसुम थापा १ नम्वर इजलाश र फाँटको जिम्मेवारी प्राप्त गर्नु भएको छ । डाँक्षी काठमाडौ घर भएकी कुसुमले यस अघि संसदको पुस्तकालयमा कार्यरत हुनुहुुन्थ्यो । लोकसेवा आयोगबाट अधिकृतमा नाम निस्किए सँगै कुसुमको दैनिकी नागरिकलाई न्याय प्रदान गर्न केन्द्रित छ । सोसोलोजीमा मास्टर्स र एलएलबी अध्ययन गरीसक्नु भएकी कुसुम विवाहित हुनुुहुन्छ । न्याय सेवा मार्फत नागरिकहरुलाई सेवा प्रदान गर्ने रुचीका कारण यो क्षेत्र रोजेको बताउने कुसुमले भन्नुभयो–‘कानुन तथा न्याय प्रणालीका जनचेतनाका अभावले हुने गरेको अपराधमा सबै सचेत हुनु जरुरुी छ । न्यायमैत्री समाज निर्माणका लागि सबैको पहल आवश्यक छ ।’ सानालाई ऐन, ठुलालाई चैन भन्ने सुन्नुभएकी कुसुमले अदालत भित्र त्यस्तो नभएकाले सबैलाई बराबरी प्राथमिकतामा सेवा हुने गरेको अनुभव गर्नु भएको छ ।
प्रकृति पराजुली ।

मोरङ्ग स्थायी घर भई काठमाडौ बुढानिलकण्ठमा बसोबास गर्ने प्रकृतिले २५ वर्षको उमेरमा लोकसेवाबाट अधिकृत पदमा नाम निकाल्नु भयो । विए एलएलबी उर्तिण गरी न्याय सेवमा प्रवेश गर्नु भएकी प्रकृतिले महिला भएकै कारण जिम्मेवारी कम हुने हो कि ? भन्ने भ्रम जिल्ला अदालतमा नरहेको बताउनु भयो । ‘महिला भएकै कारण जिम्मेवारी कम पाईएला भन्ने भ्रम हट्यो’–प्रकृतिले भन्नुभयो–‘महिलाहरुको दोहोरो जिम्मेवारी भएर पनि पुरुष भन्दा धेरै काम गर्न सक्षम छौ ।’ अदालतले प्रकृतिलाई २ नम्वर इजलाश र फाँटको जिम्मेवारी दिएको छ ।जिल्ला अदालत काभ्रेपलाञ्चोकका उप सचिव गोविन्दप्रसाद घिमिरेले चारै जना महिला अधिकृतमा उत्सुकता, जिम्मेवारीबोध र कार्य क्षेत्रमा दक्ष भएको बताउनु भयो ।

‘पुरुष भन्दा महिलाहरुले जिम्मेवारी बोध गरेर काम गरेको पाएँ’– उप सचिव श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेले भन्नुभयो–‘अदालतमा कार्यरत चारै जना महिला अधिकृतको काम र जिम्मेवारीबोधबाट अदालत सन्तुष्ट छ । नागरिकलाई न्यायमैत्री सेवा प्रदान गर्न उहाँहरु सफल हुनु भएको छ ।’महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा अदालतमा पनि आन्दोलन चलिरहेको छ ।

एउटै मुद्दाका लागि सेवाग्रहिहरु पटक पटक अदालत आउनु पर्ने कानुनी ब्यवस्थाका कारण पाईरहेको ढिलाईलाई छिटो, सरल, सहज सेवाका लागि जिल्ला अदालत काभ्रेपलाचोकमा कार्यरत चार महिला अधिकृत कृयाशिल छन् । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा तीन न्यायाधिश, एक उप सचिव, पाँच अधिकृत सहित ४० भन्दा धेरै कर्मचारी कार्यरत छन् । पाँच मध्ये चार अधिकृत महिला हुन ।

प्रतिक्रिया दिनुहोस्