लगनगाँठो कस्ने दिनको विशेष शृङ्गार



  • गीता शाह

जन्म, विवाह र मृत्यु कसैले ठोकुवा गर्न नसकिने पक्ष हुन् । त्यसैले त भनिन्छ– यसको तिथी–मिति पहिले नै तय भएको हुन्छ । त्यस्तै, विवाहका लागि पनि जोडी पहिले नै तय भएको हुन्छ अर्थात् भाग्यले नै जुराइदिएको हुन्छ । विवाह एउटा पवित्र बन्धन हो, जसको माध्यमबाट दुई भिन्न व्यक्तिबीचमा प्रेम, विश्वास र आपसी समझदारीको बीजारोपण भई एउटा परिवार निर्माण हुने गर्दछ । विवाहले दुई व्यक्तिबीचमा मात्र नभएर दुई भिन्न परिवारबीच नाता सम्बन्ध कायम गर्दछ । विवाहपछिको परिवार र समाज निर्माण तथा परिचालन सदियौंदेखि यही क्रममा निरन्तर चल्दै आएको छ । जीवनको एक अभिन्न र महत्वपूर्ण कार्य मानिने विवाह गर्न वा लगनगाँठो कस्न शुभ साइत जुर्नुपर्छ । यही मंसिर महिनामा लगनगाँठो कस्ने योजना बनाएका व्यक्तिका लागि ५, १२, १३, १४, १९, २५, २६ र २७ गते गरी आठ दिन विवाहको साइत जुरेको छ ।

विवाहका दिन महिलाहरू अरू बेलाभन्दा आकर्षक देखिन चाहन्छन् । त्यस दिन हरेक दुलही सकेसम्म राम्री देखिने प्रयास गर्छन् । र त दुलहीको शृङ्गार विशिष्ट नै हुन्छ । राम्रो शृङ्गारले बाँकी अरू वस्तुको संयोजन गर्छ । विवाहको मेकअपमा विशेष गरी राता सौन्दर्य प्रसाधन प्रयोग गरिन्छ । यद्यपि व्यक्तिको छालाको रंगअनुसार शृङ्गार गर्नुपर्ने हुन्छ । विवाहमा हुने कार्यक्रममा भिन्न÷भिन्नरूपमा पनि प्रस्तुत हुन सकिन्छ । विवाहका दिन महिलाहरू सोह्र शृङ्गारमा सजिनुपर्छ । यसले महिलालाई पूर्णता दिन्छ । अनुहारको आकार, रंग एवं कदलाई केन्द्रित गरेर शृङ्गार गर्नुपर्छ । अनुहारमा गरिने शृङ्गारमा लिपस्टिक, आई स्याडो र गाजलले विशेष भूमिका खेल्छ ।

हुन पनि मुख्यतः विवाहमा सुहाउँदो सौन्दर्य सामग्री प्रयोग गरी मेकअप गर्नुपर्छ । दुलही हुँदा बनाइने जुरो आकर्षक हुनुपर्छ । केश तथा आफ्नो अनुहारको आकार हेरी जुरो बनाउनुपर्छ । अहिले जुरोमा राखिने विभिन्न एसेसरी पनि उपलब्ध छन् । मेकअप तथा जुरोको संयोजन नमिल्दा हुने खल्लोपन हटाउन पहिलेदेखि नै तयार रहनुपर्छ । शृङ्गार तथा केश सज्जा तबमात्र खुल्छ– जब अनुहार तथा केशमा चमक हुन्छ । अनुहार चम्किलो तथा दागरहित छ भने शृङ्गार खुल्छ । त्यसका लागि स्किन पोलिसिङ, बडी मसाज, स्टिम बाथ, सहोना, ब्लिच, फेसियल, मेनिक्योर तथा पेडिक्योर आदि महत्वपूर्ण छन् भने केशका लागि हेड मसाज, हेयर प्याक, कन्डिसनर, स्टिम ट्रिटमेन्ट आदि आवश्यक छ ।

सबै दुलहीलाई उस्तै किसिमको शृङ्गार सुहाउँछ भन्ने छैन, अनुहारको बनोटअनुसार फरक–फरक तरिकाले गर्नुपर्छ । स्किन टोनअनुसार शृङ्गारका साधन पनि फरक–फरक हुन्छन् । गोरो स्किनका लागि रोजमेरी रंग उपयुक्त हुन्छ भने कालो वर्णका लागि प्राकृतिक रंग राम्रो हुन्छ । अनुहारको फेयरनेस हेरी पेनकेक वा फाउन्डेसन छनोट गर्नुपर्छ । यदि स्किन टोनअनुसार बेस मिलेन भने शृङ्गार नराम्रो देखिन्छ । अनुहार हेरी गाढा तथा हलुका शृङ्गार गराउनुपर्छ । आँखाको सेप हेरी गाजल पनि फरक–फरक तरिकाले लगाउनुपर्छ । ठूला आँखालाई सानो बनाउन, सानो आँखालाई ठूलो देखाउन तथा चिन्की आँखाको आकार मिलाउन गाजलले महत्वपूर्ण भूमिका खेल्छ । त्यसै गरी आई स्याडो पनि सोहीअनुरूप लगाउनुपर्छ । अनुहारको नमिलेको भागलाई मेकअपले मिलाउन सकिन्छ । केशको भोल्युम तथा निधारको आकार हेरी जुरो बनाउनुपर्छ । अनुहार सानो छ भने ठूलो जुरो सुहाउँदैन ।

विवाहको दिन दुलहीको अनुहारको छालाको प्रकृति हेरेर वाटरप्रुफ कस्मेटिक्स छनोट गर्नुपर्छ । त्यस दिनको मेकअप गाढा एवं नेचुरल हुनुपर्छ । पहिले अनुहारबाटै शृङ्गार शुरु गरेर केशलाई पोनिटेल गरी बाँध्नुपर्छ । त्यसपछि फेसवास वा कलेजिन मिल्कले एक मिनेट मसाज गरेर फेसियल फोमले पुछिदिनुपर्छ । यदि नाक छोटो वा डिल सानो भए नाकको दुवैपट्टि डार्क कलरको कन्सिलरले नाकको सेप दिनुपर्छ अनि छालाको कलर हेरेर फाउन्डेसनमा थोरै क्रिम मिसाई अनुहार, घाँटी कान, नाक, ढाड र हातमा लगाउँदा यी सबैको कलर एकै किसिमको देखिनुपर्छ । त्यसमाथि लुज पाउडर प्रयोग गर्नुपर्छ । त्यसपछि आई मेकअप गर्नुपर्छ ।

आई मेकअप गर्दा सबैभन्दा पहिले आँखाको भागमा बेसकोट लगाउनुपर्छ । आईबलमा रेड वा ब्राउन कलरको स्याडो हाफ लगाएर बाँकी आईबलमा साडीको कलरअनुसार स्याडो लगाउनुपर्छ । अनि वाटरपु्रफ आइलाइनरले माथिबाट थोरै कोस तानेर मोटो गरी लगाउनुपर्छ । आँखाको तल्लो भागमा नबग्ने र आँखा सानो छ भने आँखाको साइडमा मोटो गरी गाजल लगाउने गर्नुपर्छ । यसरी गाजल लगाउँदा आँखा ठूलो र राम्रो देखिन्छ । त्यसपछि परेलामा वाटरप्रुफ मस्कारा प्रयोग गरी परेलालाई आईकलले च्यापिदिनुपर्छ ।अब दुलहीका लागि लिपस्टिकको छनोट गर्नुपर्छ । लिपस्टिक छान्दा रातो वा मरुन कलर नै राम्रो हुन्छ । ओठ पातलो भए जुन कलरको लिपस्टिक छ त्यसभन्दा एक स्टेप डार्क कलरको आउट लाइन तान्नुपर्छ । यदि ओठ ठूलो भए इनलाइन तानेर लिपस्टिक लगाइदिनुपर्छ । अनुहार लाम्चो भए गोलो टीका र अनुहार गोलो भए लाम्चो टीका लगाउनुपर्छ ।

टीकामा मोती वा स्टोन जडेको भए अनुहार अझ उज्यालो देखिन्छ । अनुहारको शृङ्गार सकिएपछि चिउँडोको भागबाट कानको भागसम्म माथिसम्म तानेर रोज लगाउनुपर्छ । रोज निधार, नाक, चिउँडो, घाँटीमा पनि लगाउनुपर्छ । अन्तिममा अनुहार चम्काउन गोल्डेन कलरको सिमरको धूलो ब्रसको सहायताले अनुहार एवं घाँटीसम्म लगाउनुपर्छ ।अनुहारको शृङ्गार गरेपछि केश शंङ्गार गर्नुपर्छ । दुलहीको हाइटअनुसार केशको ब्राइडल जुरो बनाउनुपर्छ । दुलही अग्ली भए अगाडि बफ नउठाई पछाडिको भागमा प्mलावर जुरो बनाउनुपर्छ । अगाडिको भागमा बफ उठाएर जुरो बनाई बफ उठाउँदा होचा दुलही पनि अग्ला देखिन्छन् । त्यसपछि रेड वा गोल्डेन कलरको साइड फ्लावर र मोती पिनले डेकोरेसन गरिदिनुपर्छ । अन्तिममा गोल्डेन र रेड कलरको ग्लेटर्स लगाइदिनुपर्छ । मेकअप पूरा भएपछि दुलहीलाई साडी एवं गरगहना लगाइदिनुपर्छ । त्यसपछि घुम्टी ओढाएर लाइट पर्फ्युम छर्कनुपर्छ । यसो हुँदा उष्कृष्ट शृङ्गारले पूर्णता पाउनेमा शंका रहन्न ।

(शाह मेकअप आर्टिस्ट तथा प्रशिक्षक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्