कलह र कुर्सी नै विकासको बाधक देखियो



  • रमेशकेशरी वैद्य

देशमा आर्थिक अभाव छैन । जनतासँग शोषण गरेको कर, दाता रकम र रेमिट्यान्स रकम थुपे्रको छ । तर यसको उपभोग सरकारले गर्न जानेको छैन, जसले गर्दा यी रकम सरकारी क्षेत्रलाई मात्र पोस्न ठीक भएको छ । यसले गर्दा सर्वसाधारणले पाउनुपर्ने सुविधा, सहुलियत पाउन सकिराखेका छैनन् । अहिले देशमा प्रधानमन्त्री एकजना छन् तर देश सञ्चालन कसले कसरी गरेको छ, त्यो समाजलाई थाहा छैन । जे होस्, मुलुक द्रुत विकासमा जानुप¥यो, लोकतन्त्रमा सधैँ मेरो गोरुको बाह्रै टक्का हुनुभएन ।

संसारमा प्रायः मानिसको खराब आदत एउटा यस्तो चीज हो जसलाई बदल्न धेरै गाह्रो छ । तैपनि जसको आदत राम्रो हुन्छ, जो व्यावहारिक हुन्छ, त्यसलाई बदल्नुपर्ने कुनै जरुरत पर्दैन । बरु उसले बाँचुन्जेल एक–अर्कालाई राम्रो कुरा सिकाएर केही न केही योगदान गरिराखेको हुन्छ । यसमा प्रायः मानिसले हाम्रो समाजमा मतलब राख्दैन भने कतिपय मानिसले यिनीहरुको कदर तथा प्रशंसा पनि गरिराखेका हुन्छन् । एउटा दुःख लाग्दो कुरा के छ भने, हाम्रो मुलुकमा राम्रा–सोझा मानिसबाहेक स्वार्थी, अहं भावना र मुर्ख मनुष्यहरु धेरै छन् । यस्ता व्यक्तिलाई परिवर्तन गर्न सकिँदैन । यस्ता व्यक्तिलाई ठीक पार्ने भगवान् नै हुन्, जसलाई पत्याउनु वा नपत्याउनु आ–आफ्नो सोच र विचार हो । तैपनि यस्ता व्यक्तिलाई समाजमा भएका राम्रा मानिस, संघसंस्थाहरुले नै बदल्ने प्रयासचाहिँ रोक्नुहुँदैन । अनि मात्र व्यक्ति, समाज तथा देशको द्रुत विकासमा टेवा पुग्न जान्छ ।

यो कस्तो मुलुक ? लोकतन्त्र आएपश्चात् हरसमय कुनै न कुनै कलहले छोडेको छैन । यस प्रकारको कलह कुकुर–बिरालोको होइन, बुद्धिजीवी तथा पढेलेखेका व्यक्तिहरुकै भइराखेको छ । त्यो पनि कुर्सी, आफ्नो मान्छे र स्वार्थीपनको कलह । सधैँको यस्तो लडाइँले हाम्रो देश पछि परिराखेको छ । यसले गर्दा यिनीहरु यति ढिड भइसकेका छन् कि हामी कुन दिशामा गइराखेका छौं भन्ने उनीहरु आफैंलाई होस छैन । जब देशमा यस्ता व्यक्तिहरुमा मानवता हराउँदै जान्छ र देशको कानुन फितलो हुन्छ तब यस्ता हर्कतहरु बराबर दोहोरिराखेका हुन्छन् । ठूला–ठूला कुर्सीमा बसेर रमिता हेर्ने, भ्रष्टाचार गर्ने, अल्लड समाजको तमासा हेर्ने व्यक्तिहरु जबसम्म परिवर्तन हुँदैनन् तबसम्म यो देश यस्तै भइरहन्छ । जसरी इनारको भ्यागुतो इनारमा नै रमाउँछ, त्यसरी नै यहाँका व्यक्तिहरुलाई पनि त्यही आदत लागिसकेको छ । अन्यथा हाम्रो अवस्था अरु देशको तुलनामा धेरै सुध्रिंँदै जान्थ्यो होला ।

वास्तवमा भन्ने हो भने, अहिलेको परिप्रेक्ष्यमा देशमा रहेका राम्रा बुद्धिजीवीहरु नै परिवर्तन हुनु सख्त जरुरत छ । अन्यथा देशमा गरिबी निवारणमा समस्या, रोजगार समस्या, सुस्त विकास तथा युवा पुस्ता रोजगारको हिसाबले विदेश पलायन यथावत् रहनेछ । देशको विकास सुस्त छ तापनि नक्कली बुद्धिजीवीहरु गफ दिएर दिन कटाइराखेका हुन्छ । गफ नै दिने भए हामी नेपालीले पनि चन्द्रमामा पाइला टेकिसक्यौं, मंगल ग्रहमा पुगिसक्यौं भने भइगो नि । आजभोलि कम्प्युटर टेक्निकले यी कुराहरुलाई देखाउन सम्भव पनि छ नि । तर फाइदा के हुन्छ, हामी हाँसोको पात्र बन्नुबाहेक ।

हाम्रो मुलुकमा एउटा अर्को विडम्बना के छ भने, उसले राम्रो गर्‍यो मैले पनि राम्रो गर्नुपर्छ भन्ने संस्कारको शुरुवात भएन । अन्यथा हाम्रो मुलुक पनि अरुको मुलुकजस्तै हुनको लागि समय लाग्दैनथ्यो होला । गलत ढंगले पैसा कमाउन चाहनेजस्ता खराब संस्कार नै हाम्रो देशको दुर्भाग्य हो । यी सब सीधासाधा र सहन सक्ने समाजले गर्दा भइराखेको मान्न सकिन्छ । मानिसहरु समाजमा सोझोजस्तो भएर मात्र के काम लाग्यो, सर्वप्रथम यस्ता संस्कारलाई हटाउनु नै समाजमा भएका राम्रा व्यक्तिहरुको दायित्व हो । अब यिनीहरु पनि हरेस खाएर मुख मोड्ने हो भने यो देशलाई बनाउन गाह्रो हुनेछ । हुन त पञ्चायती व्यवस्थादेखि नै मुलुकमा राम्रोे राजनीतिक संस्कारको विकाश हुन सकेन । भ्रष्टाचार, आफ्नो मान्छे, अल्छी प्रशासनजस्ता नचाहिने कुराहरुलाई विगतदेखि नै सुधार गर्न सकिएन । लोकतन्त्र आएपछि पनि अर्धबुद्धिजीवीहरुले यही कुरालाई पछ्याए, जसले गर्दा मुलुक द्रुत विकासमा जान सकेन ।

चुनावमा पार्टीहरुलाई पैसा चाहिने, आफ्ना मान्छे एवं कार्यकर्तालाई पालनपोषण गर्नुपर्ने आदि कारणले गर्दा नेताहरुले चाहेर पनि राम्रो काम गर्न सकेनन् । यसले गर्दा आज हाम्रो देशको यो हाल छ । हामीले सरकार, नेता, कार्यकर्ता आदिलाई मात्र किन दोष दिने ? हुन त अझै पनि राम्रा–राम्रा बुद्धिजीवीहरु छन् । तर भएका बुद्धिजीवीहरु पनि कुनै न कुनै विषयलाई लिएर सधैँ झगडा गरिराखेका हुन्छन् । त्यसकारण अब यस्ता लडाइँहरु निरन्तर नहुनका लागि बुद्धिजीवीहरु परिवर्तन हुनु आवश्यक छ अनि मात्र देश राम्रो हुनेछ । समग्रमा भन्नुपर्दा सर्वप्रथम देश हाँक्नेहरु स्वार्थलाई छोडेर परिवर्तन हुनुपर्दछ । त्यसपछि देशमा रहेका तमाम बुद्धिजीवीहरुले देश चलाउनेहरुलाई देशलाई यसरी हाँक्नुपर्दछ भनेर निरन्तर राय–सुझावहरु दिइराख्नुपर्दछ । यो होइन कि मेरो मानिसलाई राम्रो कुर्सीमा राख्नुपर्‍यो, मेरो टेन्डर हुनुपर्‍यो, मलाई राजदूत बनाउनुपर्‍यो, मेरो सामानको भाउ बढाइदिनुप¥यो, यस्ता स्वार्थी बाटो त्याग्नुपर्दछ । यदि यस्तै कुरामा मात्र अल्झिराख्ने हो भने बुद्धिजीवी भएर बाँच्नुको केही अर्थ आउँदैन । हामी तथा हाम्रो समाज पनि सधैँ गोज्याङ्ग्रो भएर बस्नुहुँदैन, एक–अर्कालाई राम्रो कुरा सिकाएर अनावश्यक जमातलाई छोडी अन्यायविरुद्ध लड्न सिकाउन सक्नुपर्दछ । एक–आपसको दलीय कलह सदाका लागि त्याग्नै पर्छ । अनि मात्र मुलुक बिस्तारै सही ट्रयाकमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्