महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्ती विशेष



  • डकेन्द्रसिं थेगिम

‘देवकर्मले देवतुल्य, राजकर्मले राजा, महान् विचारले महान्, नोकर बुद्धिले नोकर हुन्छ अनि कुकर्मले नर्कमा र पापकर्मले नाशिन्छ’ भन्ने महावाणीका संवाहक महागुरु फाल्गुनन्दको १३७ औं जन्मजयन्ती आज कार्तिक २५ गते ‘विश्व शान्ति तथा मानव एकता दिवस’ का रुपमा मनाइँदै छ । इलामको इभाङ–५, डाँडागाउँमा पिता जगनबाज लिङदेन र माता हंसमती बेघाको तेस्रो पुत्रका रुपमा १९४२ साल कार्तिक २५ गते आइतबार जन्मनुभएका नरधोज फलामे चुरा लगाउने भएकाले फलामसिं कहलिँदै कालान्तरमा फाल्गुनन्द नामले प्रख्यात हुनुभयो ।
नेपाल सरकारले २०६६ मङ्सिर १६ गते महागुरु फाल्गुनन्दलाई सोह्रौं राष्ट्रिय विभूति घोषणा गर्‍यो । साथै २०७२ मंसिर ३ गते अर्काे निर्णय गरी उहाँको जन्मदिन कार्तिक २५ गते किरात धर्मावलम्बीलाई सार्वजनिक बिदा दिने घोषण भयो । यसरी सरकारले फाल्गुनन्दलाई ठूलो सम्मान दिएको छ । किरातीहरु धर्म, कर्म, भाषा, लिपि, साहित्य, संस्कृति, इतिहास बिर्सेर घोर नरकमा डुबी हराउन, नाशिन लागेको समयमा भगवान् अवतारका रुपमा फाल्गुनन्दबाट माङवाणी एवं देववाणी भयो : ‘किरात समुदाय शाखा–सन्तानहरुको मनमस्तिष्कबाट सोच्ने, आत्माशक्ति हेर्ने दिव्यशक्ति फुत्त निस्केर गयो । त्यसो गर्दा घोर कालरात्रिझैँ अँध्यारो भई सोच्ने, बुझ्ने विवेक–ज्ञान हराएर अन्धकारमय भई जीवन बरबाद भयो । अतः अघोर अँध्यारो कालरात्रि सुनसान भएकोले ज्ञान, विवेक, बुद्धिविहीन हुँदा बोल्दा पनि भकभकेझैँ, आँखाले देखे पनि धर्मराएझँै दृष्टिविहीन भयौं । आदिम कालको धर्म, कर्म, ज्ञानहरु बिर्सेर अनि धर्ममार्ग भुलेर पापमार्गको अवलम्बनले धर्ममार्ग अलमलिएर गयो । पाप बढ्यो, कर्मकाण्ड, धर्म–संस्कारमा विकृति आयो । खान, पिउन नजानेर अधबेस्रो भइगयौं । यस्तो व्यवहारले रिस उठ्ने, जोश चल्ने, आसुरी प्रवृत्तिको विकासले लुटपाट, कुटपिट, मारपिट, काटाकाट, मारामार गर्ने राक्षसी प्रथाको दानवी संस्कारले ढाक्यो ।

मानव जातीय नीति, मानव धर्मदर्शन, किरात धर्मदर्शन खोज्ने ज्ञानज्योति, सेतो छुट्याउने आँखा बिग्रेर हरायो । गरिब, टुहुरा, विवेकहीन, ज्ञानविनाको अचेत भई बसेका तिमीहरुको दुःख ईश्वरले देखेर तागेरामाङले उपदेश दिन अन्तर आत्म ज्ञान, परमात्म ज्ञान, आध्यात्म ज्ञान दिन भनी मलाई देवीरुपी देवात्मा पठाएकोले आएको छु । किरात धर्मावलम्बी हो, शुभ–अशुभ, सत्य–झुट्टा, ज्ञान–अज्ञान, पाप–धर्म, दिन–रात, अमृत–विष, कालो–सेतो, नकारात्मक–सकारात्मक, मित्र–शत्रु छुट्याएर मार्गदर्शन, ज्ञानदर्शन, धर्मदर्शन दिइराखेको छु । सहस्र किरात जनजातिहरुको मूल बाटो र मूल मार्गदर्शन नै देवविद्या, राजविद्या, ब्रह्मविद्या, योगविद्या यही चतुर्थ विद्या हो । किराती एकता भएर निरन्तर सेवा मातापिताको र इष्टदेवको आराधना अर्चना गर्नू । यही धर्ममार्ग इष्टदेवको सेवाबाट परमात्मा परमेश्वर तागेरनिखवाभूभाङ मान्ने मान्यताले सम्पूर्ण शक्ति, देवशक्ति, राजशक्ति, धनशक्ति, जनशक्ति, तनशक्ति, मनशक्ति, सिद्धिशक्ति प्राप्त हुन्छ । यही ज्ञानबीच दर्शन उत्थान गर्दै जाऊ, विश्व ब्रह्माण्डको धनीमानी, तीन त्रिलोक, अठार भुवनको मालिक हुनेछौ ।’

फाल्गुनन्दको अवतरणको गाँठी ज्ञान सारभूतरुपमा यही हो । यही ज्ञानबाट सत्य, दया, शान्ति र अहिंसाको सूत्रपातले ‘विश्व शान्ति र मानव एकता’ को मार्ग भई किरात धर्म आज २०/२२ राष्ट्रमा विश्वव्यापी अन्तर्राष्ट्रिय धर्म भइसकेको स्थितिको प्रतिमूर्ति दर्शनदाता महागुरु फाल्गुनन्द नै हुनुहुन्छ । वेदको फेद मुन्धुम हो, मुन्धमदर्शन अथाह, अखण्डित र अपराजेय छ । संसारका धर्मदर्शनको मूल सार– आत्मावाद, परमात्मावाद र अनात्मावाद यो त्रितत्ववादको सम्पूर्णवाद मुन्धुममा पाइने शाश्वत सत्य ज्ञानको सूत्रपात फाल्गुनन्दको अध्यात्मवादमा पाइन्छ । यही ज्ञानका महाज्ञानी महागुरुले कलियुगको अन्त्य गराई सत्य युगको शुरुवात गर्नुभएकोले उपनाम सत्याहाङमा हुन पुग्यो ।

अर्काेतिर जप–तप, ध्यान–ज्ञान, शिक्षा–दीक्षा, सत्य आहार, सत्य विहार, सत्य व्यवहारका मुर्धन्य सत्यवादी फाल्गुनन्द तपस्वी, सरस्वती आदि संज्ञाले सम्बोधित हुनुहुन्छ । उहाँ संन्यासी, योगी र ‘खाप्पुठयाक’ अर्थात् खरानीको सेतो टीका लगाउने युगपुरुष हुनुहुन्थ्यो । ध्यान, ज्ञान, जप, तप र गुफा साधनाले ५०–५५ खण्डमा साम्जिक मुन्धुमप्रतिपाद, ७–८ वटा मन्दिर स्थापना, कुम्भकर्ण फक्ताङलुङ महातीर्थस्थलको तीर्थ ढोकामा मार्गदर्शन, सत्रथुम दश लिम्बुवानको चुम्लुङ गराई सातबुँदे ‘सत्यधर्म मुचुल्का’ दस्तावेज लिखित धर्मसभा अद्वितीय ऐतिहासिक दस्तावेजहरु हुन् । सम्भवतः १९८८ वैशाख २४ गतेको धर्मसभा नेपालको प्रथम ऐतिहासिक धर्मसभा मानिन्छ ।

ध्यानबाट मन शुद्ध, दानबाट धन शुद्ध, सेवा गरे तन शुद्ध, तीर्थ गरे आत्मा शुद्ध र त्याग गरे कर्म शुद्ध हुन्छ भन्ने महागुरु फाल्गुनन्दको उपदेश छ । बलिपूजा, हत्या, हिंसा प्रतिबन्ध गर्न पनि उहाँ आजीवन लागिपर्नुभयो । ईश्वरका सृष्टि हामी जीव एकै हौँ, मानिसको दुई जात स्त्री र पुरुष मात्र हुन् भन्नुभयो । लैङ्गिक भेदमा भौतिक संंरचना मात्र फरक तर कर्मकाण्ड, ज्ञानकाण्ड र हक–अधिकार समान हो भनेर उद्घोष गर्नुभयो ।

उहाँको मुख्य सन्देश हो– बाबु–आमाका छोरा–छोरी सबै हुन् मानिस बराबारी । छोरा र छोरीमा भेद्भाव नगर, छोरासरह छोरीलाई हंस, अंश, वंश, हक–अधिकार र बराबर पढलेख गर्न देऊ भन्ने लिपिबद्ध र सनहद बनाउनुभयो । समान मूल्य–मान्यताका नायक महागुरुको महाज्ञान साम्यवादभन्दा माथि छ । सत्यवाद, मानववाद र जातीय समानताका महान् दर्शनिक हुनुहुन्छ उहाँ ।

महागुरुको सन्देश छ– संसार संयोग र वियोगको दोसाँध हो । आफ्ना सन्तान पनि प्रतिविम्बरुपी ‘चिनो’ मात्र हुन्, मानिसहरु तेरो–मेरो, तेरो–तेरो, मेरो–मेरो भन्दै लडाइँ–झगडा गर्छन्, यो सब अज्ञानता हो । न तेरो, न मेरो । संसार झमेरो हो । मोक्षको सारै सार भएकोले संसार हो । संसार साझा हो । साझा फूलबारीमा थरी–थरी, रङ्गी–विरङ्गीका फूलहरु समानरुपमा फुल्न पाऊन् । ईश्वरका सृष्टिमा सर्वश्रेष्ठ फूल मानिस हुन् ।

यस्ता दिव्यवाणीका धर्तीमाता फाल्गुनन्द ईश्वर, माङ, भगवान् हुनुहुन्छ । उहाँका अनुसार ‘मानवजीवनमा तपस्याभन्दा ठूलो खेती र ध्यानभन्दा ठूलो धन अर्काे छैन । शत्रुलाई पनि मित्र बनाउनू, जाइ नलाग्नू, आइलागे आत्मरक्षा गर्नू ।’

महागुरु मुहिगुम अङसिमाङ फाल्गुनन्दको आजसम्म अनेक मठमन्दिर निर्माण भएका छन् । फाल्गुनन्द चित्राङ्कित हुलाक टिकट प्रकाशन, फाल्गुनन्द प्रतिमा स्थापना, फाल्गुनन्द राजमार्ग, फाल्गुनन्द प्रतिष्ठानजस्ता कैयौं अमरकृत स्तम्भहरु, माङहिम र अनेकौं संघसंस्थाहरु स्थापना भएका छन् ।

साङ्गठनिक एकता कायम गर्दै किरात धर्मदर्शन अक्षरशः लागू गर्न, ज्ञानकाण्ड सशक्त परिचालन गर्न, किरात धर्म तथा साहित्य उत्थान संघ र कर्म संस्कारलाई कार्यान्वयन गर्न कर्मकाण्ड ‘किरात चोत्लुङ अङसी माङ्गेन्ना सेवा’ संस्था स्थापना गरी फाल्गुनन्दको हुबहु धर्मदर्शन प्रयोगमा ल्याउने अहोरात्र अभ्यास भइरहेका छन् ।

पुँजीपतिहरु धनका गोठाला मात्र हुन्, अबको विश्वशान्ति किरात धर्मले मात्र गर्दछ भन्ने सःशी मुन्धुमका ज्ञाता महागुरु त्रिकालज्ञ हुनुहुन्थ्यो । मानिस–मानिसको छुवाछूत, उच्च–नीच, शोषण–दमन, अमानवीय सामाजिक कुसंस्कृति अन्त्यका लागि दृढ तपस्वीलाई दुईपटक राजद्रोहको अभियोग लगाएर पहिलोपटक धनकुटा बडाहाकिमसामु पु¥याई फाँसीमा झुन्ड्याउने प्रयास भयो ।

उहाँले कर्मसंस्कारहरु तुलफूल, कन्दमूल, रोटी, नैवेद्य आदिले सात्विक विधिविधानअनुसार गर्न आह्वान गर्नुभयो । मैले दिएको कर्मज्ञान नछोड्नू, चनाखो हुनु, जाँडरक्सी–मांस नखानू, बिहान–बेलुका धूपबत्ती, इष्टदेवको आराधना–अर्चना, नित्य सेवा गर्नू, जप–तप, ध्यान–ज्ञान, शिक्षा–दीक्षामा लाग्नू भन्नुभयो । मुन्धुम हाबेक साम्जिक मुन्धुम पढ्नु, यही मार्गबाट भाग्य उदय हुन्छ भनी अहिंसात्मक ज्ञानको मार्गनिर्देश गर्दै २००५ चैत २२ गते पाँचथर याम्बोङको हाङयकमा ६४ वर्षको उमेरमा उहाँ परमधाम हुनुभयो ।

यस्ता राष्ट्रिय किरात विभूतिको १३७ औं जन्मजयन्तीले विश्वशान्ति, मानवशान्ति, ब्रह्माण्ड शान्तिको मंगलमय कामना चढाउँदै अगाध श्रद्धा, आस्था भक्तिपूर्वक माङसेवा अर्पण गर्दछु । महागुरुफाल्गुनन्द अमर रहून् ।

(लेखक किरात धर्म तथा साहित्य उत्थान संघसँग सम्बद्ध हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्