पुस्तक चर्चा : पर्यटन क्षेत्रलाई सघाउने पुस्तक



  • रश्मी थापा

विगत लामो समयदेखि पर्यटन आर्थिक विकासको आधार बन्दै आएको छ । पछिल्लो समयमा नेपालको आर्थिक पाटोको बलियो स्तम्भ बनेर उभिएको पर्यटन क्षेत्रबारे थप उजागर गर्ने उद्देश्यले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि सन् २०१९ को अन्त्यतिर देखा परेको कोरोना भाइरसको संक्रमणबाट हुने जोखिमका कारण निषेधाज्ञा लगाएसँगै सरकारले उक्त कार्यक्रम स्थगित गरेको थियो ।

निषेधाज्ञाका कारण सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन सकेन । सरकारको लक्ष्य पूरा नभए पनि नेपालमा पर्यटन क्षेत्रको महत्वपूर्ण योगदानको कदर गर्दै नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर लेखक वसन्त घिमिरेले ‘नेपालको विकासमा पर्यटनको भूमिका’ नामक कृति प्रकाशनमा ल्याएका छन् ।

पर्यटन क्षेत्रसँग सम्बन्धित रहेर तयार पारिएको पुस्तकमा पर्यटनको ऐतिहासिक पृष्ठभूमि, संघीयतामा पर्यटन विकास, पर्यटन विकासको चरणबद्ध योजना, पर्यटनको ऐतिहासिक पृष्ठभूमि, संघीयतामा पर्यटनको विकास, पर्यटन विकासको चरणबद्ध योजना, पर्यटनको योजनाबद्ध विकासजस्ता विषयलाई समेटिएको छ ।

यसै गरी पुस्तकमा पर्यटन क्षेत्रका मुख्य गतिविधिहरु, सन् २०२० का लक्ष्य तथा उद्देश्यहरु, पर्यटन नीति तथा कार्यनीति, नेपालमा पर्यटन विकासका सम्भावना, ग्रामीण पर्यटनको अर्थ र प्रकृति, पर्यटन र ग्रामीण विकास, नेपालमा ग्रामीण पर्यटन, पर्यटनमा अन्तर्राष्ट्रिय सहयोग, नेपाली अर्थतन्त्रमा पर्यटनको प्रभाव आदि शीर्षकमा समेत प्रभावकारी लेख–रचना समेटिएका छन् ।

यसबाहेक नेपाल पर्यटन बोर्ड, पर्यटन नीति, पर्यटन ऐन, हवाई नीति आदिका बारेमा विस्तृत जानकारी र विवरण समावेश गरिएकाले पर्यटन क्षेत्रसँग सम्बन्धित मात्र नभई यसप्रति चासो राख्ने जो–कोहीका लागि पुस्तक उपयोगी साबित हुन सक्छ ।

जसबाट पाठकहरुले नेपालको पर्यटनको ऐतिहासिक पृष्ठभूमि, योजनाबद्ध विकासक्रम, नेपालको पर्यटकीय सम्भावना, पर्यटकीय गतिविधि र यससम्बन्धमा भएका नीतिगत एवं सस्थागत व्यवस्थाजस्ता धेरै विषयमा एकै पुस्तकबाट सहजै ज्ञान प्राप्त गर्न सक्नेछन् ।

पर्यटन व्यवसायलाई विषय बनाएर लेखिएको पुस्तकमा लेखकले पर्यटन क्षेत्र र यससँग सम्बन्धित विभिन्न पक्षलाई समेटेर पुस्तक ज्ञानवद्र्धक र उपयोगी बनाएका छन् ।

पुस्तक तयारीका लागि लेखकले मेहनतका साथै समय पनि उत्तिकै खर्चिएको देखिन्छ । पुस्तक समग्र पर्यटन व्यवसायी, पर्यटनविद्, योजनाविद्, यस क्षेत्रमा रुचि राख्ने व्यक्ति तथा पाठकका लागि समेत उपयोगी छ ।

निषेधाज्ञाका कारण सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा नभए पनि आगामी दिनमा पर्यटन क्षेत्रको विकास र उजागरको लागि यस पुस्तकले योगदान दिनुका साथै सकरात्मक भूमिका खेल्न सक्नेछ ।

यसभन्दा अघि पनि घिमिरेका पर्यटन तथा अर्थशास्त्रसम्बन्धी विकासका विविध आयाम, नेपालको सर्वाङ्गीण आर्थिक विकास, अर्थतन्त्र र विकास, नेपालको विकासमा पर्यटनको भूमिकालगायतका पुस्तक प्रकाशित भइसकेका छन् ।

अझै उनका दुई पुस्तक प्रकाशोन्मुख अवस्थामा रहेका छन् । थ्री स्टार प्रिन्टिङ प्रेसमा मुद्रण गरिएको ‘नेपालको विकासमा पर्यटनको भूमिका’ नामक यस पुस्तकको प्रकाशिका वसुन्धरा घिमिरे रहेकी छिन् भने किताबको मूल्य १,००१।– रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्