पुण्यका लागि वीर्यपारमिता



  • यशोधरा वज्राचार्य

संसारका सबै प्राणीहरूले आफू बाँच्नका लागि ‘वीर्य’ गरिरहेका हुन्छन् । वीर्यको साधारण अर्थ परिश्रम हो । धर्मको अर्थले हेर्ने हो भने वीर्य भन्नाले ‘कुशल कर्म अर्थात् पुण्य कर्म गर्न मनमा पैदा हुने उत्साहलाई’ बुझाउँछ । बुद्धधर्ममा ‘वीर्य’ बौद्ध साधकको लागि अति आवश्यक छ । बुद्धधर्मको श्रावकयान (थेरवादी), महायान, वज्रयानमा वीर्यका साथ ‘शील समाधि प्रज्ञा’ को अभ्यास गरिन्छ ।

थेरवाद बुद्धधर्मको उद्देश्य ‘बहुजन हिताय बहुजन सुखाय’ लाई आदर्श मानेर वीर्यका साथ अभ्यासमा लागेर भिक्षु–भिक्षुणी, उपासक–उपासिकाहरूले मार्गफल (स्रोतापन्ना, सकृदागामि, अनागामि, अर्हन्त) का साक्षात्कार गर्दछ । त्यस्तै महायान, वज्रयानको मुख्य उद्देश्य ‘बुद्ध नै बनेर सबै सत्वलाई दुःखमुक्त अवस्था निर्वाणसम्म पुर्‍याउने’ रहेका छन् ।

महायानको लक्ष्य ‘बुद्धो भवयं जगतो हिताय’ र वज्रयानको उद्देश्य ‘सर्व प्रकारं जगतो हिताय’ को लागि वीर्यको साथ अभ्यासमा लागेका हुन्छन् । यसरी कुनै व्यक्तिले ‘सबै सत्वप्राणीहरूको हितका निम्ति सम्यक् सम्बुद्ध बन्छु’ भने सङ्कल्पयुक्त भएको बोधिचित्त जगाइसकेको छ भने त्यस व्यक्तिलाई ‘बोधिसत्व’ भनिन्छ । यसरी ‘बोधिचित्तउत्पाद’ गरिसकेको व्यक्ति ‘बोधिसत्व’ ले निर्वाणको मार्गलाई निरन्तर दिन वीर्यलाई ‘वीर्यसमाधि’, ‘वीर्यइन्द्रिय’, ‘वीर्यबल’, वीर्यसम्बोध्याङ्ग’ का रूपमा अभ्यास गरिन्छ ।

बौद्ध ग्रन्थहरूमा उल्लेख भएअनुसार ‘बुद्ध’ वा ‘सम्यक् सम्बुद्ध’ बन्नका लागि ‘षट्पारमिता’ अध्यासमा निरन्तर लागेर ‘पुण्यसम्भार’ (पुण्यको भण्डार) र ‘ज्ञानसम्भार’ (ज्ञानको भण्डार)ले परिपूर्ण भएपछि मात्र बन्न सकिन्छ । षट्पारमिता भन्नाले ६ वटा पारमिताहरू दानपारमिता, शीलपारमिता, क्षन्तिपारमिता, वीर्यपारमिता, ध्यानपारमिता र प्रज्ञापारमिता हुन् ।

पारमिताको अर्थ पारि गइसकेको भन्ने बुझिन्छ । बुद्धधर्ममा संसारका सबै दुःख र दुःखको हेतु (कारण) बाट पार गैसकेका हुनाले ‘पारमिता’ भनिएको हो । पारमिताको अभ्यासले स्वयं पनि संसारको दुःखबाट पार हुने र पार गराउने हुनाले पारमिताको नामले चिनिन्छन् । स्वयं शाक्यमुनि बुद्धले यही ‘षट्पारमिता’ पूर्ण गरी ‘सम्यक् सम्बुद्ध’ बनेको उल्लेख पाइन्छ ।

दिपंकर बुद्धको पालामा ‘सुमेध ऋषि’ भई जन्मिनुभएका शाक्यमुनि बुद्धले ‘म पनि सर्वसत्वप्राणीहरूलाई दुःखबाट मुक्त बनाउन बुद्ध बन्नेछु’ भनी प्रार्थना गर्नुहुँदा दिपंकर बुद्धले पनि ‘आजभन्दा तीन असंख्य–चार कल्पपछि सिद्धार्थ गौतम भई लुम्बिनी वनमा जन्मी शाक्यमुनि नामको बुद्ध हुनेछ’ भन्ने व्याकरण (भविष्यवाणी) गर्नुभएको थियो ।

त्यस बेलादेखि नै ‘सम्यक् सम्बुद्धत्व’ प्राप्त गर्नका लागि बोधिसत्व भई बोधिचित्तोत्पाद गरी बोधिचर्या गर्दै असंख्य जन्म लिएका कुरा बौद्ध ग्रन्थहरूमा उल्लेख पाइन्छ । यस्तै तीन असंख्या चार कल्पपछि शाक्यमुनि बुद्धको जन्म ईशापूर्व ५६३ मा सिद्धार्थ गौतम भई नेपालको लुम्बिनी उदानमा कपिलवस्तुको महारानी महामाया देवीको कोखबाट भएको बौद्ध ग्रन्थहरूमा उल्लेख पाइन्छ ।

यही जन्म नै भगवान् बुद्धको अन्तिम जन्म हो ।’ उहाँले ‘बुद्धत्व’ वा ‘सम्यक् सम्बुद्धत्व’ प्राप्त नहुन्जेल बोधिसत्व भई षट्पारमिताको अभ्यास गरेको उल्लेख पाइन्छ । षट्पारमिता दान, शील, क्षान्ति आदि ६ वटै पारमिता एक–अर्काका परिपूरक हुन् । एकले अर्को पारमितालाई पूरा गर्न सहयोग पुर्‍याइरहेको हुन्छ ।

ईशाको सातौं शताब्दीको आचार्य शान्तिदेवद्वारा रचित ग्रन्थबोधिचर्यावतार ग्रन्थमा वीर्यको यसरी वर्णन गरिएको पाइन्छ, ‘वीर्य नै जागेन भने बोधि (पूर्णज्ञान) हुन सक्दैन, किनभने वीर्यमा नै बोधि आश्रित छ । पुण्यसम्भार पूरा गर्न वीर्य नभई हुँदैन । जसरी वायु नभए गति हुँदैन, त्यसरी नै वीर्य नभई सम्भार हुँदैन ।

यसकारण वीर्यपारमिताको अभ्यासका लागि वीर्यबारे विस्तृत ज्ञान हुनु अति आवश्यक देखिन्छ । वीर्य पुण्य हुने कर्म (कुशल कर्म) गर्न मनमा पैदा हुने उत्साह हो । जबसम्म वीर्यका विपक्षहरूलाई चिनेर, बुझेर नष्ट पार्न सक्दैन, तबसम्म आफूमा वीर्य जगाउन गाह्रो हुन्छ । वीर्यका विपक्ष अर्थात् शत्रुहरूमा आलस्य (सामान्य अल्छीपन), कुत्सिताशाक्त ‘खराब वा कुलतमा आशक्ति हुनु), विषाद (निराश वा खिन्न हुनु) आत्मावमन्यना (हीनताबोध) आदि हुन् ।

यहाँ कुशल कर्म भन्नाले षड्पारमिताका अभ्यास पूरा गर्दै जाने, धर्मश्रमण, चिन्तन र भावना गर्ने काममा उत्साह नै ‘वीर्य’ अर्थात् कुशलोत्साह हो ।राम्रोसँग मिहिनेत नगरी, वर्षौं तथा अझै जन्मौंको कठोर अभ्यास नगरी कोही पनि बुद्ध बन्न सक्दैन । त्यसकारण वीर्यलाई बोधिसत्वको मार्गको एक स्वतन्त्र अभ्यासको रूपमा लिइन्छ ।

वीर्यका विपक्षहरूलाई चिनेर हटाउने अभ्यास गर्नु नै वीर्यको सही अभ्यास हो । अल्छी व्यक्तिले वास्तवमा आफ्नो र अरुको हित गर्न सक्दैन । आफ्नो लौकिक (लोकसम्बन्धी) वा लोकोत्तर (लोकभन्दा माथि) दुवै हित गर्न मिहिनेत र परिश्रम गर्नै पर्ने हुन्छ । संसारको दुःख देखेर तीव्र छटपटाहट पैैदा नभएबाट कुनै काम नगरेर बस्नुमा नै सुख ठानेर त्यसरी नै सुख लिइरहन मन लाग्ने र निद्राकै आश्रयमा रहनाले आलस्य पैदा हुन्छ । यस दुःखमय संसारबाट आफूलाई छटपटी उत्पन्न गर्न सके मात्र ‘आलस्य’ हटी बोधिको यात्रा अघि बढ्छ ।

कुत्सित भन्नाले जुवा, तास, जाँड–रक्सी, नाचगान, शत्रुसित झै–भगडा, अर्काको कुरा काट्नु, अरुको जीवनको अनावश्यक चियोचासो गरिरहनुजस्ता विषयहरू हुन् । यी विषयहरूमा बढी रमाउने र त्यसबाट मनोरञ्जन लिने बानी भएमा कुत्सिताशक्ति भनिन्छ । यस्तो आशक्ति भएको व्यक्तिले सही किसिमले धर्मअभ्यासमा उत्साह पैदा गर्न सक्दैन ।

विषाद भनेको खिन्नता हो । बोधिप्राप्त गर्नु धेरै महान् कार्य भएको र धेरै मिहिनेत र समय लाग्ने देखेर आफूले हिम्मत हारेर खिन्न हुनु विषाद हो । त्यस्तै आत्मावमन्यता भन्नाले ‘म जस्तो भाग्यहीन या तुच्छ व्यक्तिले बोधि पाउन कसरी सकूँला र’ भन्ने खालको विचारले आफ्नो क्षमताप्रति नै अवमूल्यन गर्नु हो । यस्ता वीर्यका विपक्षहरूलाई राम्ररी बुझेर, जानेर हटाउन सक्नु नै वीर्यको सही अभ्यास हो ।

बुद्धधर्ममा आलस्य, कुत्सिताशाक्त, विषाद, आत्मावमन्यता आदिलाई हटाउने धेरै उपायहरू उल्लेख भएको पाइन्छ । ती मध्ये केही अति महत्वपूर्ण उपायहरूमा (१) मरणानुस्मृति गर्नु : मृत्युको चिन्तन मनन, मृत्युको अवश्यम्भावी तथ्य, मृत्युको समयको अनिश्चितको तथ्य, मृत्युकै प्रक्रियाको ध्यान गर्नाले उद्वेग पैदा हुन्छ

। यसरी अभ्यास गर्दै जाँदा वीर्यका विपक्ष (शत्रु) हरू नष्ट हुँदै जान्छन् । (२) मनुष्यको जन्म प्राप्त गर्न दुर्लभ छ भन्ने कुराको चिन्तन मनन् गर्नु: भगवान् बुद्धले सूत्रहरूमा एउटा दृष्टान्त दिई मानव जन्म धेरै दुर्लभ हुन्छ भन्ने बुझाउनुभएको पाइन्छ । यो दृष्टान्तको चर्चा ‘नन्दप्रवज्यासूत्र, आर्यकुसुमसञ्चय महायानसूत्र’ आदि तथा आचार्य नागार्जुन शान्तिदेव आदि आचार्यहरूले आफ्ना शास्त्रहरूमा उल्लेख गर्नुभएको पाइन्छ ।

भगवान् बुद्धले दिनुभएको उपमामा ‘महासागरमा तैरिने जुवा (गोलो प्वाल भएको काठ) मा त्यही महासागरमा बस्ने अन्धो कछुवा जो सय वर्ष वा हजार वर्षमा एकपटक हावा खान सतहमा उत्रन्छ । त्यसको घाँटी जुवाको प्वालमा छिर्नु अत्यन्त दुर्लभ हुन्छ । त्यस्तै कुनै प्राणीले अरु गतिहरूबाट छुट्कारा पाएर मनुष्य जन्म प्राप्त गर्ने सम्भावना त्यो भन्दा पनि कम हुन्छ ।’

त्यसैले दुर्लभ मनुष्य जीवन पाएपछि पशुपन्छीको जस्तो ढङ्गले आहार, निद्रा, भय, मैथुन इत्यादि कुराहरूमा मात्र आफूलाई सीमित राखेर जीवनलाई खेर फाल्नु बुद्धिमानी होइन । यो बुझेर धर्माभ्यासमा वीर्य (उत्साह) पैदा गर्नुपर्दछ ।

वीर्यका भेदहरू:

वीर्यका भेदहरू धेरै किसिमले गरिएका पाइन्छन् । ती मध्ये प्रमुख भेदहरू यी हुन् ।

(१) सन्नाह वीर्य: सर्वसत्वप्राणीहरूलाई संसारको दुःखबाट नतारेसम्म म आराम गर्दिन भन्ने दृढ संकल्पसहितको वीर्यलाई ‘सन्नाह वीर्य’ भनिन्छ । यस सन्नाह वीर्य कवचजस्तो बनेको वीर्य हो ।

धेरै प्राणीहरूलाई बुद्धता दिलाउन अत्यन्त बलियो अठोट गरेर मिहिनेत गरिराख्नुपर्ने हुन्छ । त्यस्तो अठोटलाई कुनै कुराले पनि बिगार्न या भत्काउन नसक्ने हुनुपर्दछ । त्यसैले एक बोधिसत्वले त्यस्तै खालको अभेद्य, अठोट र जाँगर (उत्साह) पैदा गर्नुपर्ने हुन्छ ।

(२) प्रयोग वीर्य : प्रयोग वीर्य भनेको वीर्यलाई अभ्यासमै उतार्नु हो । यसको लागि तीन प्रकारका वीर्यको अभ्यासमा उत्रिनुपर्दछ । (अ) क्लेश (राग, द्वेष, मोह आदि) लाई त्याग गर्नु : क्लेशहरू मनमा उदाएको ख्याल गर्न स्मृतिवान् भएर रहने र उदाएको थाहा पाउनेबित्तिकै यथायोग्य उपाय अपनाएर ठीक पारिहाल्ने अभ्यासमा पटक्कै अल्छी नभएर उद्योग गरिरहनु प्रयोग वीर्य हो ।

(आ) कुशलमूलहरूको सञ्चय : विभिन्न किसिमका कुशलमूलहरू सञ्चय गर्ने, जस्तो कि चारै किसिमका दाना (आमिषदान, अभयदान, मैत्रीदान, धर्मदान) र अरु पारमिताको अभ्यास, शील र ब्रहमचर्यवासको अभ्यास, सत्वलाई परिपाक गराउने अभ्यास, अनुत्तर ज्ञान हासिल गर्ने अभ्यास आदि हुन आउँछन् ।

(इ) सत्वार्थक्रिया गर्नु : सत्वप्राणीहरूको हितका निमित्त गरिने कर्महरू– सततवीर्य (निरन्तर वीर्य गरिरहने), सत्कृत्यवीर्य (हाँकिएर प्रयत्न गर्नु अर्थात् सत्कारपूर्वक गर्नु), अटलवीर्य (विचलित नभईकन अघि बढ्नु), अनिवत्र्यवीर्य (कहिल्यै पछि नफर्कने) र विगतमानवीर्य (अभिमान न आइकन वीर्य बढ्दै जानु) पाँचै किसिमका वीर्यहरूद्वारा लागि पर्नुपर्छ ।

(३) असन्तुष्टि वीर्य : बोधिसत्वहरू कुशल कर्ममा प्रयत्न गरेर कहिल्यै पनि अघाउँदैनन् निरन्तर मिहिनेत गर्न मन लाग्नु, कहिले पनि पुग्यो भन्ने भावना नआउनु हो । बुद्धता प्राप्त हुँदासम्मै उनीहरू असन्तोषीजस्तो भएर वीर्य गरिरहन्छन् ।

वीर्यको अभ्यासको फल:

वीर्य अभ्यासका लौकिक र लोकोत्तर फल हुन्छन् । वीर्य एक मानसिक इन्द्रिय भएकोले यो सबै मनुष्य र प्राणीहरूमा हुन्छ ।

(१) लौकिक फल: सामान्य मानिसको वीर्यलाई लौकिक फल अर्थात् लोक (संसार) सम्बन्धी फल दिलाउने खालको वीर्य हुन्छ । धन–सम्पत्ति जोड्नु, व्यापार–धन्दाहरू बढाउनु, जागिर खान मिहिनेत गर्नु आदि पनि वीर्य नै हो तापनि यो लौकिक फल दिने भएकोले दुःखबाट तार्ने किसिमको हुँदैन । कुशल कर्मबाहेकको अन्य कर्ममा भएको वीर्य अशुद्ध हुन्छ ।

कुशल कर्ममा र करुणाले अभ्यास गरिएको वीर्य शुद्ध हुन्छ । शुद्ध वीर्यको फल लोकमा पनि राम्रो हुन्छ । लोकका कामहरू बन्दै जानु, धर्मानुकूल सम्पत्ति प्राप्त हुँदै जानु, मनुष्य, अमनुष्य, देवताहरूले समेत सहयोग र दुःख नदिनेजस्ता फलहरू प्राप्त हुन्छन् । यस जीवनमा पनि सुख दिन्छन् र परलोकमा पनि पुण्य बलले गर्दा जहाँ जन्मे पनि धेरै गुण र बलियो कर्म लिएर जन्मिन्छ ।

(२) लोकोत्तर फल: अलौकिक फल अर्थात् लोकोत्तर फल ‘सम्यक् सम्बुद्धता’ नै हो र त्यसमा पनि विशेष गरेर बुद्धको बल र वैशारद्यजस्ता गुणहरूको सजिलैसित प्राप्ति गराउने वीर्यपारमिता नै हो ।

वीर्य र वीर्यपारमितासम्बन्धी अध्ययन, चिन्तन–मनन गर्ने विययहरू अझ पनि धेरै रहेका छन् । यहाँ छोट्करीमा उल्लिखित तथ्य तथा भावनालाई राम्ररी अध्ययन, चिन्तन–मनन गरी राम्रा पक्षहरूलाई ग्रहण गर्न सकेको खण्डमा आफूले गरिरहेको कर्म र कर्मको फललाई बुझ्न सकी सदा कुशल अर्थात् पुण्यकर्म गरी यस जन्मलाई सफल पार्न सकिन्छ र पुनर्जन्ममा पनि मनुष्य नै भई मोक्षको मार्गमा लाग्न सकिनेछ ।

(लेखिका एम.ए. (महायान बुद्धधर्म) हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्