भारतीय प्रधानमन्त्री मोदी इटाली र बेलायतको पाँच दिने भ्रमणमा जाने



इडिन्या न्युज नेटवर्क ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रोममा हुने १६ औं जी २० शिखर सम्मेलन र ग्लासगोमा हुने कोप २६ शिखर सम्मेलनमा भाग लिन अक्टोबर महिनाको २९ तारिखदेखि पाँच दिने भ्रमणका क्रममा इटाली र बेलायतको भ्रमणमा जानेभएका छन् ।

विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीले इटालीका प्रधानमन्त्री मारियो द्राघीको निमन्त्रणामा सन् २०२१ अक्टोबर महिनाको ३० देखि ३१ तारिखसम्म रोममा हुने जी–२० शिखर सम्मेलनमा भाग लिनेछन् । शिखर सम्मेलनमा जी–२० सदस्य देशहरू, युरोपेली संघ, र अन्य आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संगठनहरूका राज्य र सरकार प्रमुखहरू पनि सहभागी हुनेछन् ।

प्रधानमन्त्री मोदी सहभागी हुन यो आठौं जी–२० शिखर सम्मेलन हुनेछ । यो शिखर सम्मेलन अन्तर्राष्ट्रिय आर्थिक सहयोगका लागि बनाइएको प्रमुख अन्तर्राष्ट्रिय मञ्चका रूपमा उभिएको छ । यसै गरी भारतले सन् २०२३ मा पहिलोपटक जी–२० शिखर सम्मेलनको आयोजना गर्ने भएको छ ।

इटालीको अध्यक्षतामा हुन लागेको यस शिखर सम्मेलनमा’ जनता, ग्रह, समृद्धि’ केन्द्रीय विषय बनेको छ । यस विषयअन्तर्गत महामारीबाट सिर्जना हुने समस्याहरू निराकरण, विश्वव्यापी स्वास्थ्य सुदृढीकरण गरिने, आर्थिक गतिशील र लचिलोपन, जलवायु परिवर्तन र ऊर्जा परिवर्तन, दिगो विकास र खाद्य सुरक्षाबारे छलफल गरिनेछ ।

प्रधानमन्त्री मोदी इटालीका प्रधानमन्त्री मारियो ड्रागीसहित अन्य राष्ट्र प्रमुखसँग द्विपक्षीय बैठक बस्ने सम्भावना पनि रहेको छ । त्यसपछि प्रधानमन्त्री मोदी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको निमन्त्रणामा जलवायु परिवर्तनमा संयुक्त राष्ट्र ढाँचा सम्मेलन (युएनएफसीसी) को २६औं दलहरूको सम्मेलन (कोप २६) मा सहभागी हुन ग्लास्गो जानेछन् ।

इटालीसँगको साझेदारीमा बेलायतको अध्यक्षतामा सन् २०२१ अक्टोबर महिनाको ३१ तारिखदेखि नोभेम्बर महिनाको १२ तारिखसम्म कोप २६ को आयोजना हुनेछ । सोअन्तर्गत कोप २६ को विश्व नेताको सम्मेलन भने नोभेम्बर महिनाको १ र २ तारिखमा आयोजना हुनेछन् ।

सम्मेलनमा १ सय २० भन्दा बढी देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको सहभागिता रहनेछ । कोप २६ मूलतः २०२० मा आयोजित हुने गरी तय गरिएको थियो, तर कोभिड–१९ महामारीका कारण सो अवधि २०२१ सम्म सारिएको थियो ।

यूएनएफसीसीले जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी इच्छा र दृष्टिकोणलाई मूर्तरूप दिने कार्य गर्दछ । यस सम्मेलनको पक्षहरूको आवधिक सम्मेलन विश्वव्यापी जलवायु शिखर सम्मेलनको रूपमा उभिएको छ ।

सन् २०१५ मा पेरिसमा आयोजित कोप २१ मा प्रधानमन्त्री मोदीले भाग लिएका थिए । सो समय पेरिस सम्झौता पनि सम्पन्न भएको थियो, जसका कार्यान्वयन यसै वर्षबाट शुरू हुनेछ ।

कोप २६ सम्मेलनमा सहभागी पक्ष पेरिस सम्झौता कार्यान्वयन दिशानिर्देश अनुरूप कार्य गर्नेछन् । यसका साथै सदस्य राष्ट्र जलवायु वित्त परिचालन; जलवायु अनुकूलन, प्रविधि विकास र स्थानान्तरणको सुदृढीकरण, विश्वव्यापी तापक्रममा भएको वृद्धिलाई सीमित गर्ने र पेरिस सम्झौताको लक्ष्य हासिल गर्ने आवश्यक कार्यप्रति केन्द्रित रहनेछन् ।

यसै शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री मोदी बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसहित अन्य प्रमुखसँग द्विपक्षीय बैठक बस्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्