गरिबी निवारणका लागि सहकार्यमा जोड



कास्की (नेस) ।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आसायनी मेडागंगोडा लाबेले गण्डकी प्रदेशको गरिबी निवारणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबार भएको भेटवार्तामा उहाँले यस प्रदेशका दुई लाख नागरिक गरिबीको रेखामुनि रहेको र सन् २०३० सम्म त्यो रेखाबाट माथि उकास्न युनिडिपीले सघाउने बताउनुभयो ।

नेपालमा दुई लाख नागरिक गरिब रहेको तथ्यांक रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई दैनिक कम्तीमा दुई सय रुपैयाँ आम्दानी गर्ने बनाउनुपर्ने र त्यसका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मानव विकास सूचकांकमा गण्डकीको अवस्था राम्रो भएको उल्लेख गर्दै उहाँले यहाँका असल अभ्यासलाई लुम्बिनी र कर्णालीमा लागु गर्नुपर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री पोखरेलले युएनडिपीले गण्डकीमा भौतिक उपस्थिति नै जनाएर काम गर्दा अझ सहज हुने बताउँदै भन्नुभयो, “गण्डकी प्रदेशमा सम्भव भए रिजनल अफिस नभए फिल्ड अफिस स्थापना हुनेछ भन्नेमा म विश्वस्त छु, आवश्यक निर्णयका लागि डिआरआरसँग अनुरोध गर्दछु ।”

युनएनडिपीले गण्डकी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि जुन परियोजनामा सहकार्य गर्न इच्छा देखाएकोमा त्यसलाई छिट्टै पूर्णता दिने विश्वास व्यक्त गर्दै उहाँले नव प्रवर्र्तनका क्षेत्रमा, साना तथा मझौला उद्योगको विकासमा, कृषिको आधुनिकीकरण गर्नमा युएनडिपीबाट सहयोग हुने आँफूहरूको चाहाना रहेको बताउनुभयो ।

उद्यमशीलता प्रवद्र्धन, कृषिको बजारीकरण, डिजिटल प्रविधिको प्रयोगमा युएनडिपीले भविष्यमा महत्वपूर्ण सहयोग गर्नेे विश्वास व्यक्त गर्दै उहाँले युएनडिपीको सहयोगमा वालिङ नगरपालिकामा सञ्चालित उद्यम विकास लगायतका कार्यक्रम प्रभावकारी भएकाले त्यस्ता असल अभ्यासलाई सबै पालिकामा लैजाने सन्दर्भमा प्रदेश सरकार सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

दीगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन र स्थानीयकरणमा युएनडिपीको सहयोग बढाउन आवश्यक देखेको भन्दै मुख्यमन्त्री पोखरेलले यसमा सहयोग प्राप्त हुने अपेक्षा गरेको बताउनुभयो ।

दीगो विकास लक्ष्यको स्थानीयकरण, एकीकृत तथ्यांक विकास तथा अनुगमन प्रणाली तयार पार्न र अत्यावश्यक क्षेत्रमा स्थानीय तहलाई सहयोग गर्न साझेदारको समन्वय युएनडिपीले गरिदेओस् भन्ने चाहना रहेको उहाँले बताउनुभयो ।

आवासीय प्रतिनिधि आसायनीले गण्डकी प्रदेशले लगानी सम्मेलन गर्न लागेकामा खुसी व्यक्त गर्दै यसका लागि पनि आफूहरू सघाउन तयार रहेको बताउनुभयो ।

नेपाल आउनु अघि मोरक्कोमा रहेर काम गरेकी उहाँले नर्थ अफ्रिकाका मुलकबाट समेत नेपालले सिक्नुपर्ने बताउँदै मोरक्को, इजिप्ट र अल्जेरियाका असल अभ्यासलाई अनुसरण गर्दै दीगो विकासका लक्ष्य प्राप्तिमा नेपाल र प्रदेश सरकार अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पर्यटन प्रबद्र्धन, नवप्रवर्तन, फोहोर व्यवस्थापन, संसद सहयोग कार्यक्रम, निर्वाचन सहायता परियोजनामा युनिडिपीले सघाउँदै आएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनमा सहयोग गरेको भन्दै आसायनीले पर्यटन क्षेत्रमा थप पाँच हजार रोजगारी सिर्जना गर्ने, पोर्टर र गाइडलाई कम्तीमा ६५ सय घन्टा काम दिलाउन लक्ष्य रहेको सुनाउनुभयो ।

भेटघाटमा गण्डकीका प्रमुख सचिव डा. दामोदर रेग्मी, योजना आयोगका उपाध्यक्ष डा. रघु काफ्ले, युएनडिपीको रिजनल अफिस बुटवलका प्रमुख सुदीप अर्याल सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्