१८ बर्ष अघिको रिसिबीको बदला लिन हत्या



रौतहट (नेस) ।

१८ बर्ष अघिको रिसिबीको बदला लिन रौतहटमा दुई साता अघि एक जनाको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
गत भदौ २६ गते घाँस काट्न गएका चन्द्रपुर नगरपालिका– ३ गैडाटारका रोहिणीप्रसाद घोरासैनीको हत्यामा संलग्न पक्राउ परेपछि पुरानो रिसिबीको बदलामा हत्या भएको खुलेको हो ।

कालापानी सामुदायिक बन उपभोक्ता समुहको जंगलमा हत्या गरेपछि घोरासैनीको शव साढे तीन फिटको रुखमा झुण्याईएपनि शव भने भुइमा नै लत्तारिएको थियो ।

सोही हत्यामा संलग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगरपालिका–३ का प्रल्हाद फुयाल, पर्साको पर्सागढी नगरपालिका–१ सृजना टोलका रमेश पहरी, पूर्बी नवलपरासी को कावासोती नगरपालिका–८ का सूर्य भण्डारी लाई पक्राउ गरेको छ । घटनाको मुख्य योजनाकार चन्द्रपुर नगरपालिका–४ कप्तानटोलका सहदेब भन्ने डोलप्रसाद बोलखे भने फरार रहेको प्रहरीले जनाएको छ । घोरासैनीको हत्या गर्न योजना बनाउने बोलखेले पक्राउ परेका फुयालको सहयोगमा ३ लाखमा पहरी र भण्डारी लाई प्रयोग गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

हत्या गरिएका घोरासैनीको बुवा भिमदत घोरासैनी लाइ २०६४ सालमा हत्याका योजनाकार बोलखेको परिबारले बोेक्सा बोक्सीको आरोप लगाएपछि भएको रिसीबी साध्न उनको हत्या गरेको बताइएको छ । हत्यामा संम्लग्न रमेश पहरीले सहदेब बोलखे मार्फत बिभिन्न माध्यम बाट १ लाख १५ हजार बुझेको र अर्का आरोपी सूर्य भण्डारीले ७ हजार बुझेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरी उपरीक्षक बिनोद घिमिरेले हत्या गरेपछि संलग्नहरुले आत्महत्याको प्रकृती देखाउन खोजेपनि अनुसन्धान बाट हत्या भएको खुलेपछि उनीहरुलाई पक्राउ गरिएको बताउनु भयो ।

उहाले पक्राउ परेकाहरु लाई कर्तब्य ज्यान मुध्दामा जिल्ला अदालत गौर बाट म्याद थप गरी अनुसन्धान भैरहेको बताउनु भयो । तीन महिना अघिनै घोरासैंनीको हत्या गर्ने योजना बनेको प्रहरीले जानकारी दिएको छ । मृतककी श्रीमती पुर्णकुमारी घोरासैनीले हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाहीको माग गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्