अद्भूत मानवबाट रहस्यमय उपचार



– रोहिणी घिमिरे

विज्ञानभन्दा बाहिर केही पनि हुन सक्दैन । यो ध्रुवसत्य कुरा हो । तर कहिलेकाहीँ विज्ञानले प्रमाणित गर्न नसक्ने कुरा पनि भइदिन्छ । त्यस्ता कुरालाई पनि पत्याउनुपर्ने हुन्छ । उपचारको सेरोफेरोमा काठमाडौंमै भएका दुईवटा सत्य घटना यहाँ उल्लेख गरिन्छ ।

श्री ३ वीरशमशेरका नाति अर्थात् उत्तरतर्फका कमान्डिङ जनरल रुद्रशमशेर राणालाई प्यारालाइसिस भएको थियो । उनको बायाँ अंग नचल्ने भएको थियो । सम्भव भएसम्मका सबै किसिमका उपचार गरियो तर बीसको उन्नाइस भएन । केही राणा दाजुभाइले उनलाई बिसेक नहुने रोग लागेकाले रोलक्रमबाट हटाउने चर्चासमेत गरेका थिए ।

रुद्रशमशेरकै नाति इतिहासकार ९६ वर्षीय पुरुषोत्तम शमशेर राणाका अनुसार वि.सं. १९६६ को कुरा हुनुपर्छ । शिवरात्रि आउनुभन्दा दुई दिनअघि चिरपरिचित व्यक्ति फणीन्द्रनाथ शर्मा आएर रुद्रशमशेरकी पत्नी लक्ष्मीकुमारी देवीलाई भने, ‘पशुपतिमा एक अभूतपूर्व महात्मा आएका छन्, आज्ञा पाए ती महात्मालाई बोलाउने थिएँ ।’ लक्ष्मीकुमारीले सक्दो चाँडो ती महात्मालाई लिएर आउन स्वीकृति दिइन् ।

इतिहासकार राणा भन्नुहुन्छ, ‘ती महात्मा गोरो, अग्लो, कालो दाह्री–जुँगा भएको, कालो अल्खा धारण गरेको, कालो झोला भिरेको, तेजस्वी एवं अद्भूत थिए रे !

रद्रशमशेरको दरबारमा ल्याइएपछि ती महात्मा काठ बिछ्याएको ठाउँमा बसेछन्, फलफूलसहितको मिष्ठान्न भोजन लिन पनि उनले अस्वीकार गरेछन् ।

ती महात्माले झोलाबाट दुई पुरिया खरानीजस्तो औषधि झिकी सुत्ने बेलामा पानीमा मिलाएर पशुपतिको स्मरण गर्दै खान दिनू भने । रुद्रशमशेरकी पत्नीले सोहीअनुसार गरिन् । भोलिपल्ट बिहान अकस्मात् रुद्रशमशेर उठेर हिँड्न सक्ने भए । उनी तुरुन्तै सिंहदरबार पुगेर श्री ३ चन्द्रशमशेरलाई दर्शनार्थ आएको खबर पठाए । दुई दिनअघि मात्रै उठ्न नसक्ने अवस्थामा देखेकोले चन्द्रशमशेरले पिठ्युँमा बोकाएर माथि ल्याउनू भनी अराए । तर रुद्रशमशेर आफैं सिंहदरबारको भर्‍याङ चढेर आएको देख्दा चन्द्रमशमशेर छक्क परे । यो कसरी सम्भव भयो भनी प्रश्न गरे । रुद्रशमशेरले पनि अद्भूत महात्माको बारेमा बताए ।

चन्द्रशमशेरले पिठ्युँमा बोकाएर माथि ल्याउनू भनी अराए । तर रुद्रशमशेर आफैं सिंहदरबारको भर्‍याङ चढेर आएको देख्दा चन्द्रमशमशेर छक्क परे ।

सोही समयमा थानकोट, साँगा, दक्षिणकाली जतासुकैका नाकाहरूमा श्री ३ चन्द्रशमशेर, रुद्रशमशेर, फणीन्द्र शर्मा सबैले ती महात्माको खोजतलास गर्न मान्छे पठाए । धेरै दिनसम्म खोज्दा पनि पाउन सकेनन् । इतिहासकार पुरुषोत्तम शमशेर राणा भन्नुहुन्छ, ‘आखिर जिजुबुबा रुद्रशमशेरको प्यारालाइसिस निको पार्न पशुपतिनाथ बाबा (शिवजी) नै सवारी भएको सबैले अनुमान गरे । प्यारालाइसिस निको भएपछि वि.सं. २०१८ मा उहाँको स्वर्गारोहण भयो ।’

यस्तै अर्को घटना झनै रहस्यमय छ । झन्डै ७०–८० वर्षअगाडिको कुरा हो । तत्कालीन दरबार हाइस्कुलका प्रधानाध्यापक रुद्रराज पाण्डेका घरमा दुईजना महात्मा ल्याइएका थिए । तीमध्ये रामस्नेही बाबा सरदार रुद्रराज पाण्डेका समेत गुरु थिए । रामस्नेही बाबाको प्रताप पैmलिएपछि काठमाडौंमा उनको नाम नसुन्ने कोही थिएन । राजा महेन्द्रसमेत बाबालाई भेट्न र आशिर्वाद लिन रुद्रराजको घरमा सवारी हुन्थ्यो । नेपालका प्रथम प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले रामस्नेही र गोपाल बाबाको बारेमा एउटा सानो पुस्तिका नै छपाएको कुरा नेपालमा वाणिज्य र व्यवस्थापन शिक्षाका संस्थापक प्रोफेसर ईश्वरीलाल श्रेष्ठले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।

प्रो. ईश्वरीलालका अनुसार रामस्नेही बाबाको खुट्टा धेरै नै दुख्न थाल्यो । मालिस र वैद्यको औषधिले ठीक भएन । बाबाले भने, ‘म यहाँ बस्दिन, नागार्जुन जंगलमा लगेर राखिदेओ ।’ राजा महेन्द्रबाट नागार्जुन दरबारमा लगेर राख्ने आदेश भयो तर उनले दरबारमा बस्न अस्वीकार गरे । त्यसैले दरबारनजिकै सानो छाप्रो निर्माण गरी बाबालाई राखियो । प्रो. ईश्वरीलालले भर्खरै प्रकाशित आफ्नो पुस्तकमा लेख्नुभएको छ, ‘एकदिन म रुद्रराजका छोरा माधवसँग बाबालाई भेट्न नागार्जुन गएँ । उहाँको खुट्टा दुख्न अझै बिसेक नभएको हामीले सुनेका थियौँ । त्यसैले हामीले ‘स्यारिडन’ नामको पेनकिलर लिएर गएका थियौँ । बाबाले पेनकिलर खान मान्नुभएन, बरु हनुमानजीको पूजा गर्न सामग्री तयार पार्न भन्नुभयो ।’

प्रो. ईश्वरीलालका अनुसार त्यस समयमा रामस्नेही बाबाले कुटीनजिकैको ठूलो ढुंगा सफा गर्न लगाई हनुमानको पूजा गरे । पूजा सकेर असिनपसिन भएपछि आराम गर्न कुटीभित्र प्रवेश गरे । पूजापछि हनुमान प्रकट हुने र आफ्नो पीडा नाश गर्ने विश्वास बाबाले ईश्वरीलाल र माधवलाई दिलाए । हनुमान कहाँबाट र कसरी प्रकट हुन्छन् भनेर ईश्वरीलाल र माधव दुवैजना प्रतीक्षा गरिरहेका थिए । उनीहरुले आकाशतिर आँखा नचाउन छाडेका थिएनन् ।

बाबा कुटीभित्र प्रवेश गरेको करिब दुई घण्टापछि त्यो सुनसान जंगलको परबाट एकजना टुपी राखेका अद्भूत युवक ब्राह्मण आउँदै गरेका देखिए । ती विचित्र ब्राह्मण नजिकै आइपुगेपछि ईश्वरीलाललाई सोधे, ‘यहाँ एकजना फकिर बाबा बस्नुहुन्छ भन्ने सुनेको थिएँ, बाबाको खुट्टा दुखिरहेको छ भन्ने सुनेर यो गिलासमा कुशको रस लिएर आएको, उहाँ कता हुनुहुन्छ ?’

ती ब्राह्मणको कुरा बाबालाई बताएपछि उनले भित्र पठाउने अनुमति दिए । ‘उहाँले ती युवकसँग कुनै सवालजवाफ नगरी गिलास लिएर कुशको हरियो रस तुनतुन पिउनुभयो, ती विचित्रका युवक पनि आफ्नो बाटो लागे’, ईश्वरलाल लेख्छन्, ‘ब्राह्मण बाहिरिएपछि बाबाले भन्नुभयो, ‘हनुमानजी आउनुभयो र मलाई औषधि खुवाएर जानुभयो, अब मेरो दुखाइ हराउँछ ।’

बाबाको कुराले प्रो. ईश्वरीलाल र माधव दुवैजना छक्क परे । बाहिर निस्किएर हेर्दा ब्राह्मण अलप भइसकेका थिए । नागार्जुनको त्यो अनौठो घटनापछि रामस्नेही बाबाको खुट्टा दुख्ने रोग सदाका लागि निको भयो । पछि उनी शहरमै फर्किएर बसे । अन्त्यमा भारतमा गई इहलीला समाप्त गरे ।

यसरी वीर शमशेरका नाति रुद्रशमशेर र रामस्नेही बाबाको उपचार गरी निको पार्ने अद्भूत प्राणी को हुन् ?

उनीहरुको औषधिले त्यस्तो कडा रोग कसरी ठीक हुन सक्यो ? यसको उत्तर अहिलेसम्म पनि रहस्यमय नै छ । यस उपचारलाई आधुनिक विज्ञानले प्रमाणित गर्न सक्दैन । रुद्रशमशेरको प्यारालाइसिस निको बनाउन पशुपतिबाट शिवजी नै आएको आफूहरुले मानिआएको पुरुषोत्तम शमशेर राणा बताउनुहुन्छ । त्यसै गरी रामस्नेही बाबाको खुट्टा दुख्ने बाथरोग निको पार्न हनुमान् नै आएको विश्वास आफूहरुलाई लागेको यसका प्रत्यक्षदर्शी प्रो. ईश्वरीलाल श्रेष्ठले आफ्नो पुस्तकमा दर्शाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्