पुस्तक चर्चा : जिल्ला प्रशासन कार्यालयको दुरवस्था



  • डा. प्रचण्ड प्रधान

स्थानीय प्रशासनको आधारका रूपमा रहेको जिल्ला प्रशासन कार्यालयको दायित्व ग्रहण गर्दा आफूले निर्वाह गरेको भूमिका तथा भोगाइहरूलाई द्वारिकानाथ ढुंगेलले पुस्तकको रुप दिनुभएको छ । मकालु प्रकाशन गृहबाट प्रकाशित ‘जिल्ला प्रशासन ः मेरो भोगाइ’ नामक उक्त पुस्तकमा जिल्लास्थित प्रशासनिक संयन्त्रको नेतृत्वकर्ता जिल्ला प्रशासन कार्यालयको अवस्था प्रतिविम्बित भएको छ ।

नेपालको राजनीतिक व्यवस्था तथा प्रशासनिक प्रणालीको क्रमबद्ध अभिलेखमाथि विश्लेषणका साथै लेखक ढुंगेलले आफ्नो कार्यकालमा आफूले सम्पादन गरेका काम, पूरा गरेका कर्तव्य तथा जागिरे जीवन र व्यक्तिगत भोगाइलाई पुस्तकमा समेट्नुभएको छ । साथै भौतिक तथा सञ्चारको अति न्यून सुविधा भएका दुर्गम क्षेत्रमा कार्यसम्पादन गर्दाको अनुभवलाई मीठो तरिकाले प्रस्तुत गर्नुभएको छ । पुस्तकलाई लेखकको जागिरे जीवनमा दुई वर्षभन्दा बढी समय व्यतीत गरेको दार्चुला जिल्लाको स्मरणका रूपमा लिन सकिन्छ ।

विकसित मुलुकमा आफूले गरेका कामका अनुभव लिपिबद्ध गर्ने चलन छ । आफ्नो ज्ञान, सीप, अनुभव र स्मरण भावी पुस्तालाई हस्तान्तरण गर्न उपयुक्त माध्यम पुस्तक हुन्छ । यस पुस्तकको अध्ययन गर्दा यसलाई पनि सोही श्रेणीमा राख्न सकिने बलिया आधारहरू भेटिन्छन् ।

जिम्मेवारीमा रहँदा दैनिक कार्यसम्पादनका क्रममा सञ्चार सुविधाको अभाव हुँदा आफ्नो कार्यालयको महेन्द्रनगरमा रहेको तालुकदार अड्डा वा गृह मन्त्रालयमा सम्पर्क गर्न सेना वा प्रहरीका सञ्चार साधनमा निर्भर हुनुपर्ने बाध्यात्मक अवस्थालाई बडो रोचक ढंगबाट लेखकले प्रस्तुत गर्नुभएको छ । वास्तवमा जिल्ला प्रशासन कार्यालय (सीडीओ अफिस) समग्र जिल्लाकै अभिभावक हो । उसले नै अरुकहाँ अश्रय लिनुपर्ने अवस्थाले देशको अवस्थालाई प्रतिविम्बित गर्दछ ।

दार्चुला सुदूरपश्चिमको दुर्गम जिल्लामात्रै होइन, भौगोलिक एवम् जनसंख्याका आधारमा विश्वका दुई विशाल देश चीन र भारतसँगको अन्तर्राष्ट्रिय सीमासँग जोडिएको सामरिक दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण जिल्ला पनि हो । यस्तो संवेदनशील जिल्लाको सीमा सुरक्षा तथा अन्य क्षेत्रमा परिचालित सुरक्षाकर्मीहरूको लागि भौतिक सुविधा तथा सञ्चार सहजताजस्ता आधारभूत आवश्यकता न्यूनतम मापदण्डभन्दा पनि कम रहेको दर्शाउँछ । यो स्थितिमा पनि राष्ट्र सेवकहरूबाट भएको कर्तव्य निर्वाह पुस्तकमार्फत लेखक ढुंगेलको वर्णनले सिंहदरबारभित्र बस्ने राज्य सञ्चालकलाई गम्भीर भएर सोच्न बाध्य बनाउँछ ।

सीमापारिका समकक्षीहरूसँग बेला–बेला हुने भेटघाट र बैठकमा आफ्नोतर्फ पूर्वाधार तथा अन्य सुविधाको अभावका कारण लेखकलाई भएको हीनताबोध आमनेपाली र राष्ट्र सेवकले भोग्दै आएको तीतो यथार्थताको प्रतिनिधि घटना हो । यो पुस्तकको अध्ययनपश्चात् यस पंक्तिकारलाई पनि एउटा पुरानो कुरा सम्झना भयो । वि.सं. २०३५ तिर हुम्लाको यारी हुँदै कैलाश मानसरोवरसम्म यात्रा गर्ने मौका मिलेको थियो । त्यति बेला यारीभन्दा केही अगाडि रहेको मुचको प्रहरी चौकीमा बास बस्ने व्यवस्था भएको थियो । त्यहाँको वस्तुस्थितिलाई नजिकबाट नियाल्ने मौका मिलेको थियो ।

सीमावर्ती यारी गाउँ जहाँ वर्षायाममा मात्रै भन्सार कार्यालय आउने रहेछ । त्यसबाहेक अरु सरकारी कार्यालयको उपस्थिति नेपाल–चीन सीमामा कतै थिएन । खम्पा विद्रोहका क्रममा तिब्बती नेता वाङ्दी आफ्नो दलबलसहित उत्तरी भेगको बाटो हुँदै मुस्ताङबाट भागेका थिए । एकदिन बिहानै मुचुको प्रहरी चौकी वाङ्दीको फौजले घेरा हालेर आफूहरूलाई निर्बाधरूपमा भारत जान दिनुपर्ने माग राखेका रहेछन् । त्यति बेला प्रहरीसँग भएको हतियारले आधुनिक हतियारधारी खम्पाहरूसँग लड्न सक्ने क्षमता नहुँदा उनीहरूलाई निर्बाध त्यहाँबाट अगाडि बढ्न दिइएको रहेछ । संयोगवश, त्यहाँ आकाशवाणी चल्ने भएकाले जुम्लामा सम्पर्क गरी यसबारे जानकारी पु¥याइयो । त्यसपछि दार्चुलाको तीनगिरेमा सैनिक कारबाहीको तयारी गरिएको रहेछ । यसबाट सीमा सुरक्षासम्बन्धी तयारी तथा संरचनाको दयनीय अवस्था स्पष्ट हुन्छ ।

सरकारको प्रतिनिधिका रूपमा प्रमुख जिल्ला अधिकारीले अहम् भूमिका खेल्नुपर्ने र चुनावको समय कुन राजनीतिक समूहको पल्ला भारी गराउने भन्ने निर्देशनको समेत पालना गर्न प्रमुख जिल्ला अधिकारीले स्वयंले राजनीतिक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यो सन्दर्भ जनमत संग्रहमा होस् वा अन्य चुनावमा प्रमुख जिल्ला अधिकारीको भूमिका महत्वपूर्ण हुन्छ । प्रायः प्रमुख जिल्ला अधिकारीले प्रशासनिक तथा राजनीतिक जिम्मेवारी कुशलतापूवर्कक पूरा गरेको पाइन्छ । प्राकृतिक विपद्को बेलामा स्थानीय निकायहरूसँग समन्वय गरी आर्थिक अभाव, सञ्चार सुविधाको शून्यता तथा यातायातको असुविधाका बाबजुद उद्धार तथा राहत कार्यमा रातदिन खटिँदा पनि स्थानीयले दोष र खोट लगाउन नछोडेको अनुभवले पुस्तकलाई थप रोचक बनाएको छ ।

तत्कालीन राजा वीरेन्द्रको उद्धार कार्यसम्बन्धी निरीक्षण भ्रमणका बेला लेखक २४ घण्टासम्म खटिनुपरेको घटना सम्झनलायक छ । जिल्ला प्रशासनमार्फत कर्तव्य निर्वाह गर्दा स्थानीय प्रहरी प्रमुखसँगको सम्बन्ध, विकास निर्माणको काममा स्थानीय स्वार्थी मानिसले खेल्ने भूमिका, मनोमानी नियन्त्रण गर्न खोज्दा आफ्नै सहकर्मीको भूमिका वर्णन उल्लेखनीय छ । स्थानीय एवम् क्षेत्रीय स्रोत–साधन, कला र क्षमताको खाका तयार नगरी योजना बनाउँदा स्थानीय क्षमता र स्रोतको सदुपयोग नहुने तथा थोपरिएका योजनाले स्थानीयले उपयुक्त प्रतिफल पाउन नसकेका उदाहरण दार्चुलाको उत्तरी क्षेत्रका जनताको भोगाइ पुस्तकमा रहेको छ ।

४० वर्षपछि फर्किएर सोही जिल्लामा जाँदा यातायात, सञ्चार तथा अन्य भौतिक सुविधा सदरमुकामसम्म पुगेकाले केही फरक अनुभव गर्न सकिन्छ । तर, सीमा सुरक्षाको अवस्था, उत्तरी क्षेत्रका जनताको जीवनस्तर, अझै पनि सीमापारिको बजार र आयमाथि नै आश्रित हुनुपर्ने अवस्थालाई हेर्दा महाकालीबाट जति पानी बगेर समुन्द्रसम्म पुगे पनि दार्चुलावासीका दुःख र पीडा अझै सकिएका छैनन् भन्ने तत्वबोध पुस्तकले गराएको छ । पुस्तकमा उल्लेख भएका घटना विवेचना र स्थितिहरूको विश्वसनीयता कायम गर्न सन्दर्भ प्रमाण र अभिलेखका प्रतिलिपिहरू उचितरूपमा समावेश हुनु, सन्दर्भ पुस्तक, ऐतिहासिक प्रतिवेदनहरू सूचीकरणले पनि पुस्तकको व्यावहारिक, बौद्धिक महत्व बढाएको छ । यो पुस्तक सर्वसाधारण जनता, भविष्यका प्रशासक, प्रशासन शास्त्रका विद्यार्थीका निम्ति उपयोगी छ नै । राजनीतिककर्मीसमेत पुस्तकले उहाँहरूको राजनीतिक यात्रालाई मार्गनिर्देश गर्छ भन्नेमा मेरो विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्