पहाडी जिल्ला खोटाङमा डेंगुको प्रकोप



खोटाङ, (नेस) ।

पूर्वीपहाडी जिल्ला खोटाङका आठ जना बिरामीमा लामखुटेको टोकाइबाट सर्ने डेंगु रोग पुष्टि भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच जना र ६ नम्बर वडा नेर्पाका एक जनामा डेंगु रोग पुष्टि भएको हो ।

यस्तै, रावाबेंसी गाउँपालिका–३ लामीडाँडाका एक जना र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक बिरामीमा उक्त रोग लागेको पुष्टि भएको छ । डेंगु संक्रमितमध्ये एक बिरामीलाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डाक्टर वैभव मल्लिकले बताउनुभयो । संक्रमण पुष्टि भएका दुई जना बिरामी जिल्ला अस्पतालमा र अन्य पाँच जना बिरामी भने आफ्नै घरमा उपचाररत रहेका छन् ।

डेंगुकोे अहिलेसम्म खास उपचार नभएकाले लक्षणअनुसार उपचार गर्नुपर्ने डाक्टर मल्लिकको भनाइ छ । लामखुट्टेको टोकाइबाट बच्न, घरवरपर पानी जम्न नदिन, पूरा शरीर ढाक्ने लुगा लगाउन तथा सुत्दा अनिवार्य झुल प्रयोग गर्न डाक्टरहरूले सुझाव दिएका छन् ।

लगातार ५ दिन बढी उच्च ज्वरो आउनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरीर दुख्नु, ढाड दुख्नु, कसैलाई रक्तश्राव हुने डेंगुको लक्षण भएको डाक्टर मल्लिकले बताउनुभयो । जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, ५/६ दिनपछि शरीरमा बिमिरा आउनेलगायतका शारीरिक समस्या देखिनु पनि डेंगुको लक्षण भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्