खानी विभागको निर्देशन लत्याउँदै घोराही सिमेन्टको चोरी कार्य



न्युज अफ नेपाल, रोल्पा ।

विवादै विवादको भूमरीमा रहेको दाङको घोराही सिमेन्टले स्थानीय प्रशासनको संरक्षणमा चोरीकार्यलाई तिव्रता दिइरहेको छ । गैरकानुनी चोरी कार्यमा संलग्न भएको घोराहीले सम्बन्धित निकायका निर्देशनलाई समेत वेवास्ता गर्दै आएको छ । घोराही सिमेन्टले चोरी गर्नको लागि बाटो बनाउने बहानामा रोल्पा सिमेन्टको चुनढुंगा दैनिक सयौँ टिपरमा गाडीमा हालेर ओसारिरहेको छ ।

स्थानीय वासिन्दाले पटक पटक प्रशासन र खानी विभागलाई जानकारी गराउँदा पनि त्यसलाई रोक्न खानी विभाग र प्रशासनले कुनै पहल गरेको छैन । चुनढुंगा चोरीमा अहिले जिल्ला प्रशासन कार्यालय समेत मुछिएको छ । तर विवादित उद्योगपति पुरूषोतमलाल संघाईको प्रशासनले संरक्षण गर्दै आएको स्थानीयको आरोप छ ।

संघाईले जिल्ला प्रशासन कार्यालय रोल्पा, दाङ र सल्यानलाई मिलाएको गर्वका साथ बताउँदै आएका छन् । ती कार्यालयले पनि प्रभावित र अन्य पीडित उद्योगीको गुनासो सुन्नुको सट्टा संघाइको पक्षमा काम गर्दै आइरहेका उनीहरू बताउँछन् । अझ संघाईले खानी विभाग त आफ्नो मुठीमै रहेको भन्दै अन्यलाई धम्की दिने गरेका छन् ।

घोराही सिमेन्टको चोरी रोक्नका लागि रोल्पाको त्रिवेणी गाउँपालिकाले पटक पटक पत्र लेखेर रोक्न चेतावनी दिएपनि त्यसको पटक पटक उल्लंघन गर्दै सांघाईले स्थानीय निकायलाई समेत उल्टै चुनौति दिँदै आएका छन् । अर्काको स्वमित्वमा रहेको खानीबाट भइरहेको चुनढुंगा चोरी रोक्न लुम्बिनी प्रदेश प्रहरी कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयसम्म उजुरी परेको थियो । तर यस विषयमा सुनुवाई भएन ।

यसबारेमा जिल्ला प्रहरी कार्यालय रोल्पाले निषेधाज्ञा खुलेपछि दुबै पक्षलाई उपस्थित गराई थप कार्य गर्ने जानकारी प्रदेश प्रहरी कार्यालयलाई गत जेठमा नै जवाफ दिएको थियो । प्रदेश प्रहरी कार्यालयले सोही बेहोराको जानकारी प्रहरी प्रधान कार्यालयलाई समेत गरायो । तर अहिलेसम्म एकअर्को निकायलाई जानकारी गराउनेबाहेक अरु प्रगति हुन सकेको छैन । बरु दिउँसो हुने चोरीकार्य अहिले राति राति हुन थालेको छ ।

अहिले पनि घोराही सिमेन्ट उद्योगका सयौँ टिपरले दैनिक चुनढुंगा ओसार्ने गरेका छन् । चोरेको कच्चा पदार्थबाट उद्योगले सगरमाथा र सगरमाथा गोल्डको नाममा अहिले बजारमा सिमेन्ट बेचिरहेको छ । तर वर्षौंदेखि यसरी अर्काको खानीबाट चुनढुंगाा चोरी भइरहेको भन्ने प्रतिवेदन थन्क्याएर किन चुप बस्दैछ खानी विभाग ? यसले पक्कै, पनि धेरै प्रश्न उब्जाएको छ ।

बाटो खन्ने नाममा वन विनास घोराही सिमेन्टले बाटो बनाउने नाममा वनको स्वीकृति बिना वन फडानी गरिरहेको छ । वन फडानी गरि रूख राति राति ओसारीरहेको रहस्य खुलेको छ । रूख कटान गर्दा वातावरणीय प्रभाव बारेमा कुनै अध्ययन भएको छैन । वातावरणीय प्रभाव सम्बन्धित प्रतिवेदन नै नक्कली बनाएर घोराहीले रूख काटेर ओसारीरहेको छ । तर गाउँपालिकाले यस विषयमा पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै कारवाही गर्न आग्रह गर्दै आएको छ ।

चोरीमा दुई कम्पनी संलग्न रोल्पा सिमेन्टको चुनढुंगा चोरीमा प्रेमप्रकाश पुनको स्वामित्वमा रहेको पुन कन्स्ट्रक्सन प्रालि र संघाईको स्वामित्वमा रहेको शिव स्वरूप माइनिङ प्रालिले गरिरहेका छन् । यी दुवै कन्स्ट्रक्सन कम्पनीले घोराही सिमेन्टको मिलेमतोमा चुनढुंगा चोरी गरिरहेका छन् ।

खानी विभागले यसअघि एक टोली गठन गरेको थियो । रोल्पा सिमेन्ट प्रालिको चुनढुंगा क्षेत्रमा अवैध खानी संचालन गरी पुन कन्स्ट्रक्सन र शिव स्वरूप माइनिङ एण्ड कन्स्ट्रक्सनमार्फत चुनढुंगा चोरी निकासी गरेको खानी विभागले अध्ययन टोली ठहर गर्दै प्रतिवेदन उल्लेख छ । तर टोलीको प्रतिवेदन अहिले दराजमा थन्किएको छ।

के छ प्रतिवेदनमा ?

रोल्पा सिमेन्ट प्रालिको चुनढुंगा चोरी भएको विषयमा अध्ययन गर्न खानी विभागले सिनियर डिभिजनल जियोलोजिष्ट कुमार खड्का र जियोलोजिष्ट राजेन्द्र आचार्य रहेको अध्ययन टोली बनाएको थियो । उनीहरुले रोल्पा सिमेन्ट प्रालिको चुनढुंगा खानी क्षेत्रमा अवैध रूपमा खानी संचालन गरी चोरी निकासी सम्बन्धको स्थलगत अध्ययन प्रतिवेदन विभागलाई बुझाएको थियो । तर टोलीले दिएको प्रतिवेदन कार्यान्वयन नगरी खानी विभाग कानमा तेल हालेर बसेको छ ।

टोलीले रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ बुढागाउँमा रहेका रोल्पा सिमेन्ट प्रालिको नाममा रहेको चुनढुंगा खानी क्षेत्रको स्थलगत अध्ययनमा गैरकानुनी काम गएको ठहर गरेको थियो । त्यसक्रममा शिव स्वरूप माइनिङ एण्ड कन्स्ट्रक्सन प्रालिले बाटो निर्माण गरिरहेको पाइएको र जथाभावी चुनढुंगा उत्खनन् गरी निकासी गरेको थियो ।

त्यस्तै बाटो निर्माणमा प्राविधिक डिजाइन, इन्टिमेट र लागत नभएको, रोल्पा सिमेन्टको खानी क्षेत्रमा राप्ती माइनिङ एण्ड कन्स्ट्रक्सन प्रालिले बाटो निर्माण गरिरहेको, स्वीकृत क्षेत्र भन्दा एक किलोमिटर टाढा बाटो निर्माण गरेको, चुनढुंगा दाङ जिल्लामा निकासी हुने गरेको र सो चुनढुंगा केही सिमेन्ट उद्योग र केही क्रसर लाने गरेको पाइएको थियो ।

यसमा ३७ लाख १२ हजार ५०० रुपैयाँ छली भएको प्रतिवेदनमा उल्लेख छ । यी सवै काम रोल्पा सिमेन्टको सहमति विना शक्ति र पैसाको आडमा पुन कन्स्ट्रक्सन र सो माइनिङले अहिलेसम्म पनि गरिरहेको छ । रोल्पा सिमेन्टको खानी क्षेत्रमा माइनिङले बाटो निर्माण गरिरहेको सार्वजनिक महत्वको विषय भएको उल्लेख छ। रोल्पा सिमेन्ट प्रालिको समेत सहमतिमा बाटो निर्माण हुनुपर्ने, बाटो निर्माण गर्दा निस्किएको चुनढुंगा रोल्पा सिमेन्टको नाममा हुने भनिएको छ ।

घोराही सिमेन्टले विना अनुमति त्यस क्षेत्रमा उत्खनन सम्बन्धमा स्पष्टीकरण सोध्नुपर्ने, बाटो खन्ने र सम्याउने बहानामा अवैध खानी संचालन गरी महत्वपूर्ण खनिज चोरी निकासी भएको प्रशासनलाई पत्राचार हुनुपर्ने, विभागबाट खानीहरुको नियमित निरीक्षण अनुगमन गरी खानीहरु व्यवस्थित गर्नुपर्ने सुझाव टोलीले दिएको थियो ।

चुनढुंगा चोरीको विषय छानबिनकै क्रममा छः जयराज घिमिरे, प्रवक्ता, खानी विभाग चुनढुंगा चोरीको तथ्य बाहिर आएपछि खानी तथा भूगर्भ विभागको टोली एक महिना अघि स्थलगत अध्ययन र अनुगमनका लागि रोल्पा गएको थियो । टोलीले स्थलगत अध्ययन गरी फर्किसकेको छ । विभागले अहिले सम्बन्धित सवै कम्पनीसँग तथ्यगत जवाफ मागेको छ ।

बाटो पुग्न नसकेको गाउँमा बाटो बन्ने प्रस्ताव आएपछि त्रिवेणी गाउँपालिकाले बाटो बनाउन अनुमति दिएको रहेछ । तर त्यही बाटो खन्ने नाममा विवाद आएको हो अहिले । चुनढुंगा उत्खनन् गरी चोरीएको विवाद अहिले छानबिनका क्रममा छ । त्यसको जवाफ आएपछि विभागले कानुन बमोजिम निर्णय गर्छ । अर्को निर्णय नगरेसम्म रोल्पा चुनढुंगा उद्योगलाई पनि काम रोक्न हामीले भनिसकेका छौं ।

प्रतिक्रिया दिनुहोस्