नेवारी परम्परामा कृष्णजन्माष्टमी पर्व



  • प्रेममान डंगोल

श्रीकृष्णलाई ५ हजार वर्षअघि भएको महाभारत युद्धको मूल पात्रको रुपमा लिइएको छ । अत्यन्तै कूटनीति गर्न जान्ने श्रीकृष्णलाई धूर्त र छलीको रुपमा पनि नेवारहरुले मान्दै आइरहेका छन् । यसको मूल कारण राजा यलम्बर कृष्णद्वारा मारिनु हो । काठमाडौं नेपालका किराती राजा यलम्बरलाई महाभारत युद्ध हेर्न जाँदा कृष्णले छल गरी शिर छेदन गरिदिएका थिए भनिन्छ । कौरव र पाण्डवहरुका बीचको युद्धमा जसले हार्छ उसैको पक्षमा लड्छु भनी नेपालदेखि गएका थिए राजा यलम्बर । यलम्बरले हार्ने पक्षबाट युद्ध गरिरहे भने महाभारत युद्धको अन्त्य नै नहुने ठानेर कृष्णले छल गरी उनको शिर सुदर्शन चक्रले छेदन गरेका थिए भनिन्छ । किराती राजा यलम्बर नेवारहरुका जिज्यु बाजे हुन् । त्यसैले नेवारहरुले यलम्बरलाई आजुद्यः भनी मान्दै आइरहेका छन् । राजा यलम्बरको शिर इन्द्रचोकमा मन्दिर बनाई स्थापना गरिराखेको छ । इन्द्रजात्राको समयमा मन्दिरअगाडि मचान बनाई यलम्बरको शिरको मूर्ति आकाश भैरवको प्रतीकको रुपमा मान्दै आइरहेको आजुद्यःलाई प्रदर्शन गरी जात्रा मनाइन्छ ।

ने.सं. ७५७ मा राजा सिद्धिनरसिंह मल्लले ढुङ्गै ढुङ्गाले निर्मित २१ वटा गजुर भएको विश्वप्रसिद्ध कृष्ण मन्दिर पाटनको राजदरबारअगाडि स्थापना गरिसकेपछि श्रीकृष्णको महिमा र महत्व नेपालमा अझ बढ्दै आएको हो । कृष्ण मन्दिरभित्र महाभारत र रामायणका विभिन्न किसिमका तस्वीर अत्यन्तै कष्ट गरेर कलात्मक ढंगले कुँदिएका छन् । त्यस्तै मन्दिरको चारैतिर भित्ताको ढुङ्गामा विष्णुको दश अवतार मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कीका कवितात्मक भावमा स्थापना गरिराखेका छन् । कृष्ण मन्दिरभित्र मुख्य देवताका रुपमा श्रीकृष्ण र सत्यभामाको मूर्ति छ ।

नेपाल भाषाका रञ्जना लिपिमा विभिन्न घटनाका विवरण मन्दिरमा लेखिएका छन् । श्रीकृष्ण भगवान्ले राजा सिद्धिनरसिंहलाई सपनामा आई मेरो र सत्यभामाको मूर्ति स्थापना गरी मन्दिर बनाउनू भनी आज्ञा गर्नुभएकोले गुरु हरिवंश उपाध्यायको सल्लाहबमोजिम मन्दिर बनाई मूर्ति स्थापना गरिएको भनाइ छ । कृष्ण मन्दिरमा कृष्णाष्टमीका दिन रातभर जाग्राम बसी भक्तजनहरुले पूजापाठ, भजनकीर्तन गर्छन् । सोही दिन बिहान राष्ट्रप्रमुख पनि देवताको दर्शन गर्न आउने र भक्तजनहरु पनि हुलका हुल आउने गर्नाले कृष्ण मन्दिरमा ठूलै मेला नै भइरहन्छ । कृष्णाष्टमीका दिन रात्रिमा पाटनका टोल–टोलमा कृष्णको खट जात्रा गरिन्छ ।

कृष्णाष्टमीका दिन देशैभर विभिन्न कार्यक्रम गरी कृष्ण–उत्सव गरिन्छ । भक्तपुरमा पनि टोलैपिच्छे राधाकृष्ण र कृष्णका बाललीला प्रदर्शन गरिन्छ भने दत्तात्रयमा भक्तजनहरुको ठूलो भीड हुने गरी मेला लाग्छ । कृष्णाष्टमीका दिन कृष्ण जन्म भएको दिनको मूल पर्वको रुपमा मनाउने सन्दर्भमा काठमाडौंको ठमेलस्थित ब्रह्मकुमारी राजसेवा केन्द्र, कष्णप्रणामी इस्कोन बूढानीलकण्ठ, कृष्णसेवा केन्द्र इमाडोल, रामकृष्ण वेदान्त समाज ललितपुर, साईबाबा केन्द्र नारनचौर, टोखा, साँखुलगायत विभिन्न स्थानमा कृष्णको खट जात्रा, झाँकी प्रदर्शन गरी नगरपरिक्रमा गराइन्छ ।

काठमाडौंको वसन्तपुर दरबारअगाडि पनि कृष्ण मन्दिर छ । ने.सं. ७६९ मा राजा प्रताप मल्लका ३० वटी रानीहरुमध्ये अत्यन्तै मन परेका दुईवटी राजमति र अनन्तप्रिया एकैपटक दिवंगत भए । यस घटनाले दुखित भइरहेका राजाले आफूलाई कृष्ण र रानीहरुलाई राधिकाको प्रतीकको रुपमा स–साना कलात्मक मूर्ति निर्माण गरी च्यासि कृष्णको खट जात्रा चलाएका हुन् । यसै गरी द्यःला समाजको नायकत्वमा हरेक वर्ष नागपञ्चमीदेखि शुरु गरिने भतिगा लाखे नाच टेकु सवल बहालमा कृष्णाष्टमीका दिन समापन गरिन्छ ।

नेपाल संवत् २६२ मा मरु सतल एउटै रुखको काठले बनाइसकेपछि बाँकी रहेका काठले बनाइएको सिंल्यं सतलमा कुनै पनि देवता भने राखिएको रहेनछ । ने.सं. १०४० मा सिंल्यं सतलनजिकै तहबिलमा रहेका धमना साल्मीको घरमा आगलागी भई नयाँ घर बनाउन जग खन्दा चार हात भएका कृष्ण नारायणको धातुको मूर्ति फेला परेछ । त्यस बेलाका राणा सरकारसँग स्वीकृति लिई भेटिएका कृष्ण नारायणको मूर्ति स्थापना गरी चारैतिर कुनामा उडिरहेका सिंह बनाई सिंल्यं सतल बनाइएको रहेछ । त्यही सिंल्यं सतलको नाम सिंह सतल हुन गएको हो ।

देशैभरि कृष्णजन्माष्टमी मनाइरहेको समयमा नेवारहरुको बस्ती भएको पाल्पामा भने रण उजेश्वरी भगवतीलाई राँगाको बलि दिएर खट जात्रा गरिन्छ । भगवतीले महिषासुर वध गरेको उपलक्ष्यको रुपमा राँगो, हाँस, बोका, भेडा, कुखुरा बलि दिएर दाफा भजनसहित रण उजेश्वरी देवीको भव्यरुपमा रातभर जात्रा गरिन्छ । भोलिपल्ट नवमीका दिन रातभर देवा बोकेका, देवीको खट बोकेकाहरु र जात्रामा भाग लिएर सघाएका सबैलाई देवीको प्रसादस्वरुप देवीलाई भोग दिएको राँगाको मासु राखेर भोज खुवाइन्छ । भोज खाइसकेपछि खट बोक्नेहरुलाई बेलाती लगाइदिन्छ । रातो क्वखाः रातो कपडाको माला लगाइदिएर टीका लगाई दिउँसो रण उजेश्वरी देवीको सिन्दुर जात्रा गरिन्छ । यो जात्रामा प्रहरीले सलामी दिई तोप पड्काएर बधाई दिइन्छ । ढोलक, झ्याली, पञ्चेबाजा, बौद्ध बाजा बजाउँदै नगरपरिक्रमा गरिन्छ ।

यो भगवतीको जात्रा अंग्रेजसँग भएको युद्धसँग सम्बन्धित रहेको छ । इ.सं. १७३४ देखि १७९७ सम्म नेपाल र अंग्रेजको बीच युद्ध हुँदा पाल्पाका बडाहाकिम कर्णेल उजीरसिंह थापाले तानसेका भगवतीसँग प्रार्थना गरेका रहेछन् । युद्ध जित्न सकेमा राजकीय सम्मानसहित जात्रा गर्नेछु भनेर भगवतीको प्रार्थना गरिसकेपछि कर्णेल उजीरसिंह थापाले बुटवलको तिनाउ नदीनजिकै रहेको मणि मुकुन्द सेनको पुरानो भग्नावशेष दरबारलाई किल्ला बनाएर दुई पटकसम्म अंग्रेजका जनरल उडलाई युद्धमा हराउन सफल भए । इ.सं. १८१६ मार्च ३ तारिखका दिन सुगौली सन्धि भइसकेपछि भगवतीको सानो मन्दिरलाई ठूलो बनाएर राजकीय सम्मानसहित जात्रा चलाएका हुन् भनिन्छ ।

अंग्रेजसँग युद्ध गरी जितर उजीरसिंहले स्थापना गरेको हुनाले रण उजेश्वरी नाम हुन गएको हो भनिन्छ । यो रण उजेश्वरी भगवतीको जात्रा पाल्पाको मौलिक परम्परागत जात्रा हुन गएको छ । यही दिन नै यहाँ काजी अमरसिंह थापाले चलाएको लक्ष्मीनारायण देवताको खट जात्रा पनि बेग्लै रुपमा चलाउँदै आइरहेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्