डोटी प्रहरीको चालक र सह–चालकसँग मास्क खोइ अभियान सुरु



विमल विष्ट, डोटी ।

जिल्ला प्रहरी कार्यालय डोटीले कोरोना सङ्क्रमणबाट जोगिनका लागि जिल्लामा तपाइको मास्क खोइ अभियान सुरु गरेको छ । उक्त अभियान अन्तरगत हाल सम्म तीन हजार बढी नागरिकलाई मास्क बितरण गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रबक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

यसैसिल सिलामा निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशी तथा प्रहरी प्रमुख दानबहादुर मल्लको अगुवाइमा जिल्लाको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्ला बजारमा आज यहाँका सवारी चालक र सह–चालकसँग तपाइको मास्क खोइ, मास्क लगाऔं, कोरोनाबाट जोगिउ भन्ने कार्यक्रम सञ्चालन गरिएको छ । यहाँका सर्वसाधारसँग प्रहरीले बिगतदेखि सञ्चालन गर्दै आइरहेको उक्त अभियान आज यहाँका सवारी चालक र सह-चालकसँग गरेको हो ।

कोरोनाको तेस्रो लहरले भयावहको रुप लिइरहेका बेला यातायात व्यवसायी तथा सवारी चालक, सह–चालक लगायत नागरिकसँग प्रतक्ष सम्पर्कमा जोडिएकाहरुको उपस्थितिमा उक्त जनचेतना मुलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार सवारी साधनमा बढी भिड-भाड हुने र गाडीमा चढ्दा मास्क नै नलगाई चढ्ने भएकाले विषेशगरी चालक तथा सह–चालकसँग यो अभियान सञ्चालन गरिएका हो ।

कोरोना सङ्क्रमणबाट बच्ने सबैभन्दा प्रभावकारी कार्य मास्क लगाउनु तथा अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु रहेकाले यस्ता कार्यक्रम जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहने निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । कोरोना सङ्क्रमणका कारण ठुलो सङ्ख्यामा मानिसहरुको मृत्यु भइसकेको भएपनि अझै सर्वसाधारणमा चेतना नआइसकेको र लापर्वाही गरिरहेका कारण यस्ता किसिमका अभियानको आवश्यकता झनै बढीरहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्