लेनदेनसम्बन्धी वर्तमान कानुनी व्यवस्था



दुर्गा दंगाल (चाँदनी)  । 

सामान्य अर्थमा कुनै पनि वस्तुको एक–अर्काबीच सरसापट, पैंचो गर्ने कामलाई लेनदेन व्यवहार भन्ने बुझिन्छ । समाजमा परम्परादेखि चलिआएका यस्ता लेनदेनसम्बन्धी व्यवहारहरुलाई कानुनले नियमित र व्यवस्थित गरेको पाइन्छ । कानुनी अर्थमा नेपालको देवानी संहिता, २०७४ अनुसार दुई वा दुईभन्दा बढी व्यक्तिहरुबीच कुनै सर्त राखी कुनै रकम वा वस्तु लिनुदिनु गरेमा निजहरुबीच लेनदेन भएको बुझिन्छ । लेनदेन भएको अवस्थामा रकम वा वस्तु लिनेले रकम वा वस्तु दिनेलाई त्यस्तो रकम वा वस्तु फिर्ता गर्नुपर्दछ । जस्तै– क भन्ने व्यक्तिले ख भन्ने व्यक्तिलाई गाडी किन्नका लागि रु. ५० लाख दुई वर्षमा वार्षिक १० प्रतिशतका ब्याजदरले फिर्ता गर्ने सर्तमा कानुन बमोजिम लिएमा निजहरुबीचमा लेनदेन भएको मानिन्छ ।

यससम्बन्धी साबिकको मुलुकी ऐन १९१० र २०२० मा स्पष्टरुपमा व्यवस्था गरिएको थियो । उक्त मुलुकी ऐनमा लेनदेनको परिभाषा लेनदेन गर्दा लिखत तयार पार्नुपर्ने कुरा, ब्याजसँग सम्बन्धित कुरा सावा–ब्याजसँग सम्बन्धित व्यवस्थालगायतका विभिन्न प्रावधानलाई समावेश गरिएको थियो । हालको नेपालको मुलुकी देवानी संहिता, २०७४को भाग ४को परिच्छेद १५को लेनदेन व्यवहारसम्बन्धी व्यवस्थाअन्तर्गत दफा ४७४ देखि ४९२ सम्म लेनदेनसम्बन्धी व्यवस्था गरिएकोछ ।दुई वा दुईभन्दा बढी व्यक्तिहरुबीच कुनै सर्त राखी रकम वा वस्तु लिनुदिनुगरेमा निजहरुबीच लेनदेन भएको मानिने र लेनदेन भएको अवस्थामा रकम वा वस्तु लिनेले रकम वा वस्तु दिनेलाई त्यस्तो रकम वा वस्तु फिर्ता गर्नुपर्ने व्यवस्था मुलुकी देवानी संहिता, २०७४को दफा ४७४को उपदफा १ र २ मा स्पष्ट उल्लेख गरिएको छ ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि ‘रकम’ भन्नाले वस्तुको मूल्यसमेत सम्झनुपर्दछ । कुनै पनि व्यक्तिले कुनै किसिमले अन्य व्यक्तिलाई रकम वा वस्तु दिनुपर्ने दायित्व भएकोमा त्यस्तो व्यक्तिले ऋण लिएसरह मानिने र त्यस्तो व्यक्तिले कानुनको अधीनमा रहेर सम्बन्धित व्यक्तिलाई त्यस्तो रकम वा वस्तु फिर्ता गर्नुपर्ने व्यवस्था दफा ४७५ मा गरिएको छ । कसैले पनि लेनदेन कारोबार गर्दा कानुन बमोजिम लिखत नगरी लेनदेनको कारोबार गर्नु नहुने व्यवस्था दफा ४७६ मा व्यवस्था गरिएकोछ । लेनदेन कारोबार भएको प्रमाणित गर्ने चेक, बिल, भौचर, रसिद र भरपाईसमेतको कागजातहरु लेनदेन प्रयोजनका लागि लिखत हुन् ।

लेनदेन कारोबार गर्दा तयार पारिने लिखतमा लेनदेन गर्ने व्यक्तिहरुको नाम, थर, ठेगाना, बाबुआमा, बाजेबजैको नाम र विवाहितको हकमा पति–पत्नीको नाम, लेनदेनको कारण र परिणाम, वस्तु लेनदेन भएकोमा त्यस्तो वस्तुको मूल्य फिर्ता गर्ने गरी सापटी, पैंचो वा अन्य कुनै पनि तरिकाले लेनदेन, सट्टापट्टा गरेको भए त्यस्तो व्यहोरा,लेनदेन गरेको रकम बुझाउने मिति, ब्याजदर, लेनदेनको रकम निर्धारित समयमा नबुझाए वा लिखत बमोजिमको अन्य सर्त पूरा नगरेमा लेनदेन बमोजिमको रकम साहुले ऋणीको सम्पत्तिबाट असुलउपर गरी लिन पाउने कुरा, लिखत तयार पारेको ठाउँ र मितिका साथै अन्य आवश्यक कुराहरु अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था दफा ४७७ मा उल्लेख गरिएको छ ।

लिखतमा ब्याज लिनेदिने कुरा उल्लेख भएकोमा साहुले ऋणीबाटलिखतमा उल्लेख भए बमोजिमको ब्याज लिन पाउने,त्यस्तो ब्याजको रकम सावाँ रकमको वार्षिक १० प्रतिशतभन्दा बढी हुने छैन, लिखतमा ब्याजको दर किटाननगरी ब्याज लिनेदिने कुरासम्म उल्लेखभएकोमा साहुले ऋणीबाट सावाँ रकमको वार्षिक १० प्रतिशतका दरले ब्याज लिन पाउने, ब्याज उल्लेख नगरी मुनाफा लिने कुरा उल्लेख भएकोमार त्यस्तोमुनाफा के–कति लिने कुरा लिखतबाट नदेखिएमा साहुले ऋणीबाट ब्याजसरह लिन पाउने व्यवस्था दफा ४७८ मा गरिएकोछ । ५० हजार रुपियाँभन्दा बढी रकम भएको लिखतसम्बन्धित पक्षहरु वडा समितिको कार्यालयमा उपस्थित भई सक्कल लिखतको शिरमा अनिवार्यरुपमा सम्बन्धित अधिकारीबाट प्रमाणित गराउनुपर्दछ । यदि त्यसरी प्रमाणित गराइएन भने त्यस्ता लिखतले कानुनी मान्यता पाउँदैन ।

लेनदेन हुँदा लिखतमा ब्याज लिनेदिने कुरा उल्लेख नभएमा साहुले ऋणीबाट ब्याज लिन नपाउने व्यवस्था दफा ४७९ मा गरिएकोछ ।कुनै साहुले ऋणीबाट ब्याजको ब्याज लिन पाउने, यदि कुनै साहुले ऋणीबाट ब्याजको ब्याज लिएको रहेछ भने सावाँ रकमबाट कट्टी हुने, साथै यदि सावाँ चुक्ता भइसकेको रहेछ भनेत्यस्तो ब्याज साहुले ऋणीलाई फिर्ता गरिदिनुपर्ने व्यवस्था दफा ४८० मा गरिएकोछ । त्यसै गरी साहुले ऋणीबाट सावाँभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था दफा ४८१ मा गरिएकोछ ।सावाँ–ब्याज लिदाँ–दिँदा कानुन बमोजिम रीत पु-याउनुपर्ने हुन्छ । जस्तो– ऋणीले साहुलाई सावाँ–ब्याजको सबै रकम चुक्ता गरिसकेपछि साहुसँग भएको लेनदेनको लिखत च्यातिदिने वा त्यस्तो लिखतमा रकम असुल भएको व्यहोरा जनाई लिखतको कुनै ठाउँ वा पीठमा खुलाईसाहुले सहीछाप गरी ऋणीलाई लिखत फिर्ता दिनुपर्ने र तत्काल लिखत फेला नपरेमा वा साथमा नभए साहुले सोही व्यहोरा जनाई यो मितिमा यति रकम बुझी लिएको भनी छुट्टै भरपाई गरी ऋणीलाई दिनुपर्ने, सावाँमध्ये केही रकम वा ब्याज बुझाउँदा साहुले ऋणीसँग कुन मितिमा के–कति रकम बुझेको हो, त्यस कुरा लिखतको पीठमा खुलाई ऋणीको सहीछाप गराई र तत्काल लिखत फेला नपरे वा साथमा नभए त्यस बमोजिम रकम बुझेको छुट्टै भरपाई गरी ऋणीलाई दिनुपर्ने व्यवस्था दफा ४८२ मा गरिएकोछ ।

घरसारमा भएको लिखतको अवधि दश वर्षको हुन्छ । त्यस्तो लिखतमा नै अवधि तोकिएको छ भनेचाहिँ त्यही तोकिएको अवधि कायम हुन्छ । यदी दश वर्षको अवधिभित्र ऋणीले साहुलाई सावाँ–ब्याजमध्ये केही रकम बुझाएकोछ भने अर्को दश वर्षको अवधि थप हुने व्यवस्था दफा ४८४ मा गरिएकोछ । कसैले असक्षम वा अर्धसक्षम व्यक्तिसँग गरेको लेनदेनले कानुनी मान्यता नपाउने व्यवस्था दफा ४८५ मा गरिएको छ । त्यस्ता व्यक्तिहरुले आफूले गरेको कामको प्रकृति र परिणाम बुझ्न नसक्ने र आफ्नो हकहितको विचार गर्न नसक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो । त्यस्ता व्यक्तिहरुको तर्फबाट लेनदेन गर्नुपर्दा निजको संरक्षकको स्वीकृतिमा गरिनुपर्दछ ।व्यक्तिहरुका बीच लेनदेन भएकोमा त्यस्तो लेनदेनको लिखतमा घरको मुख्य व्यक्तिको सहीछाप नभएको भए सगोलको सम्पत्तिमा ऋणीको हक नपुगेसम्म साहुले त्यस्तो सम्पत्तिबाट आफ्नो रकम भराइलिन नपाउने, घरको मुख्य भई काम गर्ने व्यक्तिले नै उक्त रकम तिरिदिएमा साहुले ऋणीसँग दाबी गर्न पाउँदैन । कसैले ऋणीसँग रकम लिन नसक्ने भएमा एक वर्षभित्र साहुले ऋणीउपर नालिस गरी आफ्नो हक कायम गर्नुपर्ने, ऋणीसँग त्यस्तो हक कायम गरेकोमा सगोलको सम्पत्तिमा निजको हक पुगेपछि मात्र साहुले निजबाट आफ्नो रकम भराई पाउने व्यवस्था दफा ४८६ मा गरिएकोछ ।

कुनै चल सम्पत्ति सट्टापट्टा गर्दा एकासगोलका उमेर पुगेका व्यक्तिले घरको मुख्य व्यक्तिको मञ्जुरी नलिई सगोलको सम्पत्ति सट्टापट्टा गर्न नपाइने तर आफ्नो निजी सम्पत्तिको हकमा भने मञ्जुरीआवश्यक नपर्ने, घरको मुख्य व्यक्तिको मञ्जुरीविना गरिएको सट्टापट्टाले मान्यता नपाउने व्यवस्था दफा ४८७ मा गरिएकोछ । कुनै व्यक्तिले कानुन बमोजिम रीत पु¥याई लिखत नगरे पनि निजहरुका बीच लेनदेन भए-गरेको कुरा प्रमाणित भएमा रकम भराई दिन सक्ने, यस्तोमा बैंकिङ कारोबार, चेक, भौचर वा बही खातामा लेखिएको व्यहोराबाट व्यक्तिहरुका बीच लेनदेन भएको देखिनुपर्ने व्यवस्था दफा ४८८ मा गरिएकोछ ।घरसारमा भएको लिखत हराएमा वा काबुबाहिरको परिस्थिति परी नाशिएमा साहुले सोही व्यहोरा खुलाई लिखत हराएको वा काबुबाहिरको परिस्थिति परेको मितिले १५ दिनभित्र सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्ने, त्यसरी निवेदन परेमा सम्बन्धित स्थानीय तहले त्यसको व्यहोरा खुलाई भरपाई लेखी कार्यालयको छाप लगाई निवेदकलाई दिनुपर्ने, त्यस निवेदनको सम्बन्धमा स्थानीय तहले लिखत गरिदिने व्यक्ति जीवित भए निजलाई र नभए निजको हकवालालाई सात दिनभित्र झिकाई निजले मञ्जुर गरे सोही बमोजिम लिखत तयार गराई त्यस्तो लिखत प्रमाणित गरी निवेदकलाई दिनुपर्नेर अर्को लिखत गरिदिन मञ्जुर नगरे साहुले त्यस्तो म्याद नाघेको ३५ दिनभित्र लिखत हराएको वा काबुबाहिरको परिस्थितिपरेको प्रमाण देखाई नालिस गरी आफ्नो हक कायम गर्नुपर्ने व्यवस्था दफा ४८९ मा गरिएकोछ ।

लेनदेन भएको कुनै वस्तु लिखतमा लेखिए बमोजिम नभई कच्चा भएमा वा भोग गर्न नसक्ने भएमा लेनदेन भएको ३५ दिनभित्र वस्तु दिनेलाई त्यस कुराको सूचना दिनुपर्ने, त्यस्तो सूचना उचितदेखिएमा वस्तु दिनेसँग त्यस्तो प्रकारको अन्य वस्तु भएसट्टापट्टा गरिदिनुपर्ने, त्यसो नगरे क्षतिपूर्ति भराइलिन वा त्यस्तो लेनदेन बदरगराउन नालिस गर्न सक्ने व्यवस्था दफा ४९० मा गरिएको छ ।आजको व्यापारिक र व्यावसायिक आधुनिक युगमा व्यक्तिहरुका बीच हुने लेनदेन व्यवहारका सम्बन्धमा मुलुकी ऐन, २०२० मा गरिएको व्यवस्थालाई स्पष्ट र परिमार्जित स्वरुपमा यस संहितामा निरन्तरता दिइएको पाइन्छ । त्यसकारण कसैले पनि साधारणदेखि साधारणसम्मका लेनदेन व्यवहारसम्बन्धी कार्य सम्पन्न गर्दा कानुन बमोजिम लिखत अनिवार्यरुपमा कानुनी कार्यविधि अनुसार गर्नुपर्ने देखिन्छ । अन्यथा सम्बन्धित विषयमा पीडित पक्षले कानुनसम्मत न्यायसमेत प्राप्त गर्न सक्दैन ।

तसर्थ व्यक्तिले लेनदेन कानुन बमोजिम गर्नुपर्दछ । लेनदेन गर्ने हरेक व्यक्तिलाई लेनदेन व्यवहारसम्बन्धी कानुनी व्यवस्थाको बारेमा राम्रो जानकारी भएमा मात्र लेनदेन गर्दा आउने समस्या सजिलै निराकरण गर्न सजिलो हुने भएकोले सबैले कानुनको जानकारी राख्नुपर्ने जरुरी देखिन्छ ।

(लेखक दंगाल अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्