बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने



काठमाडौं, (नेस) ।

जीवन बीमाप्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ ।

डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आईपीएसमार्फत डिजिटल भुक्तानी सम्बन्धी सम्झौताअनुसार अब बीमा संस्थानमा बीमा शुल्क कनेक्ट आईपीएसबाट तिर्न सकिने भएको छ ।

प्रिमियम डिजिटल भुक्तानीमार्फत तिर्न सकिने भएपछि लाइन बस्ने र कार्यालयमै पुग्नुपर्ने वाध्यता पनि हटेको छ ।

संस्थानका प्रशासक कविप्रसाद पाठक र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमानसिंह प्रधानले बुधबार आयोजित एक कार्यक्रमकाबीच डिजिटल भुक्तानी सेवा शुभारम्भ गर्नुभयो । डिजिटल भुक्तानी सेवा शुभारम्भ गर्दै प्रशासक पाठकले आफ्नो ७५ हजार पाँच सय ९५ रूपियाँबराबरको बीमा शुल्क कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्नुभयो ।

कनेक्ट आईपीएससँग सहकार्यका लागि केही यसअघि नै समझदारी भइसकेको छ । संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको छ । प्रशासक पाठकले भन्नुभयो – ‘नेपालको पुरानो बीमा कम्पनी भए पनि संस्थानले प्राविधिक हिसाबले आफूलाई कान्छो कम्पनी भन्नुपर्ने बाध्यता रहेको थियो । आगामी दिनमा बीमा शुल्क बुझाउन लाइन बस्नुपर्ने झन्झटबाट बीमित मुक्त भएका छन् ।’

क्लियरिङ हाउसका सीईओ प्रधानले पोलिसी नम्बर र बीमितको जन्म मिति राखेर कनेक्ट आईपीएसमार्फत् बीमा शुल्क बुझाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्