वन उपभोक्ता समूहमा अख्तियारको छापा



उत्तम नेपाल, भद्रपुर ।

वन उपभोक्ता समूहमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिनका लागि छापा मारेको छ । झापाको अर्जुनधारा–१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले कार्यालयका विभिन्न कागजपत्र जफत गरेको छ ।

क्षेत्रीय कार्यालयका अधिकृतको नेतृत्वमा आएको ४ जनाको टोलीले कार्यालयका विभिन्न कागजपत्र लिएर गएको वन उपभोक्ता समूहका आन्तरिक लेखा समिति सदस्य देवनारायण राईले बताउनुभयो । उनले २०७२ सालको वार्षिक साधारणसभाको माइन्युट, २०६७ देखि २०७० सालसम्मको आन्तरिक प्रतिवेदन, बैठकको निर्णय पुस्तिका, घाटगद्धी रजिस्टर, पाइलिङ रजिस्टरलगायतका कागजपत्र लिएर गएको उहाँले जानकारी दिनुभयो । समूहको बिल भौचर नभेटेपछि अख्तियारको टोली पुनः आउने बताएको राईले जानकारी दिनुभयो ।

वन उपभोक्ता समूहमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो । छानबिन पहिलादेखि नै शुरु भइरहे पनि बुधबार कागजपत्र लिएर आएको क्षेत्रीय कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले बताउनुभयो । उहाँले आवश्यक कागजपत्र नभेटिएकाले पुनः टोली जाने जानकारी दिनुभयो । यसअघि गत माघ महिनामा भ्रष्टाचार भएको भएको भन्दै नेपाली कांग्रेसले तालाबन्दी गरेको थियो । वडा सभापति नेत्रप्रसाद आचार्यको नेतृत्वमा गएको कांंग्रेस प्रतिनिधि तथा उपभोक्ता समूहले तालाबन्दी गरेका थिए ।

तालाबन्दी गरेको २४ घण्टा बित्न नपाउँदै सामुदायिक वनका अध्यक्ष चक्र तामाङले ताला फुटाएका थिए । हलुवागढ सामुदायिक वनमा २४ लाखभन्दा बढी आर्थिक अनियमितता भएको उपभोक्ताहरुले दाबी गरेका छन् ।

झापाको अर्जुनधारा–१ मा पर्ने यस सामुदायिक वन २०५४ सालमा स्थापना भएको हो । १७ सदस्यीय उपभोक्ता समितिमा ११ जना नेकपाबाट सदस्य रहेका छन् भने ६ जनाले नेपाली कांग्रेसबाट समितिमा प्रतिनिधित्व गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्