अफगान खेलाडीको सपना समाप्त हुने भयो



लन्डन, (एजेन्सी) ।

‘म सुत्न सकिरहेकी छैन, म रोइरहेकी छु र लाचार महसुस गरिरहेकी छु’

खालिदा पोपलले अफगानिस्तानमा फेरि तालिवानको सत्ता कब्जा गरेपछि यस्तो दुःखेसो पोखेकी हुन् । पोपल अफगानिस्तान राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान हुन् । डेनमार्कमा बसोबास गरिरहेकी पोपलले तालिवानको राज्य भनेको देशमा महिलाको लागि कठिन हुने बताइन् ।

३४ वर्षीया पोपलले बीबीसी स्पोर्टलाई बताइन्–अफगानिस्तानमा रहेका खेलाडीबाट मैले सन्देश पाएको छु । उनीहरूले रोएर बताए कि उनीहरू घरमै बन्द भएका छन् । बाहिर आउन कुनै स्थिति छैन । उनीहरू डराएका छन् । सबै खेलाडीको सपना समाप्त हुने भएको छ र अफगान खेलाडीहरूको लागि यो दुःस्वप्न झैं हो ।

अफगान महिला खेलाडीहरूले पोपललाई भिडियो सन्देश पनि पठाइरहेका छन् । उनीहरूले श्वास फेर्न नसकेको, बच्ने कुनै अवस्था नभएको पनि लेखेको उनले बताइन् । उनले राष्ट्रिय टोलीको ट्विटर एकाउन्ट बन्द गरेकी छन् । यसले वर्तमान खेलाडी र पूर्व खेलाडीलाई बचाउन सकिने उनको भनाइ रहेको छ । उनले खेलाडीहरूलाई सोसल मिडिया बन्द गर्न पनि सल्लाह दिइरहेकी छन् ।

पोपलले अफगानिस्तान सन् २०११ मा छाडेकी थिइन् । उनी सन् २०१६ देखि डेनमार्कमा बसोबास गरिरहेकी छन् । तालिवानले १९९६ देखि २००१ सम्म अफगानिस्तानमा राज्य चलाउँदा महिलाहरूलाई शिक्षा लिनबाट वञ्चित गरेको थियो । तालिवानले महिला घरबाहिर एक्लै जान नसकिने, उनीहरूले पूरै शरीर ढाक्ने लुगा लगाउनुपर्ने, कुनै काम गर्न नदिने र यदि नियम तोडेमा कडा सजाय दिने गरेको थियो ।

तालिवान २० वर्षपछि पुनः सत्तामा आएपछि अफगान महिलाको लागि कठिन स्थिति सिर्जना हुने पोपलले बताइन् । उनले भनिन्–‘पछिल्ला २० वर्षमा महिलाहरूले स्वतन्त्ररूपमा हिड्न सक्ने, एक्ली महसुस नगरेको, अधिकारको लागि लड्न सक्ने थियो । अब त्यो नरहने पक्कै छ ।’

पोपल सन् २००७ मा अफगानिस्तानको महिला फुटबल टोलीमा रहेकी पहिलो खेलाडी हुन् । पोपल र उनको टोली साथीहरूले फुटबलले देशमा भिन्न बनाउन सक्ने र नयाँ पुस्ताका महिला खेलाडीलाई प्रेरणा दिन सक्ने महसुस गरेका थिए । उक्त टोलीमाथि धर्म नष्ट गरेको आरोप पनि लागेको थियो । तर, उनीहरूले कुनै गलत कार्य नगरेको भन्दै राष्ट्रिय टोली तयार पारेका थिए ।

त्यही वर्ष उनीहरूको पहिलो खेल अन्तर्राष्ट्रिय सुरक्षा सहायक बल टोलीविरुद्ध काबुलस्थित गाजी रंगशालामा भएको थियो ।

अफगानिस्तानले सो खेल ५–० ले जितेको थियो । त्यहाँदेखि उनीहरूले केही अन्तर्राष्ट्रिय खेलहरू पनि खेलेका थिए । पोपलले बताइन्–‘मलाई सम्झना छ कि हामीहरू अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका थियौं र हामीहरू हाम्रा झण्डामुनि उभिएका थियौं । पहिलोपटक हामीले राष्ट्रिय गान सुन्यौं । यो भावुक क्षण बनेको थियो । हामीहरू सबै रोएका थियांै किनभने हाम्रा लागि यो साँच्चिकै महान उपलब्धि थियो ।’

चार वर्षपछि पोपललाई फुटबलको सर्वोच्च संस्था फिफाले बोलाएको थियो । उनी फिफामा प्रवक्ताको रूपमा रहेकी थिइन् । फिफा र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसामु अफगानिस्तानमा जोखिममा परेका नागरिकलाई सहयोग र रक्षा गर्न पोपलले आह्वान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्