स्थगित कक्षा १२ को परीक्षा र व्यवस्थापन



  • डा. लाक्पा शेर्पा

यही २०७८ साल श्रावण ३१ गतेदेखि सञ्चालन हुने गरी राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरे पनि कोरोना भाइरसको दोस्रो लहर बढ्दै गएकोले सरकारले कक्षा १२ को परीक्षा स्थगित ग-यो । यसबाट ३ लाख ७४ हजार विद्यार्थी प्रत्यक्ष प्रभावित भए । यसले विद्यार्थीका अभिभावकहरूलाई समेत चिन्तित तुल्याएको देखिन्छ ।

यसरी अभिभावक चिन्तित हुनुको एउटै कारण भनेको परीक्षा ढिलो हुँदा विद्यार्थीको उच्च शिक्षा प्रभावित हुनु हो । त्यसै गरी कोभिडको महामारीबीच कसरी परीक्षा सञ्चालन होला ? भौतिक रूपमा होला कि अनलाइन वा भर्चुअलको माध्यमबाट होला भन्ने चिन्ता र चासो पनि विद्यार्थी र अभिभावकमा रहेको देखिन्छ ।राष्ट्रिय परीक्षा बोर्डको मान्यता जसरी भए पनि परीक्षा भौतिक रूपमा नै सञ्चालन हुनुपर्दछ भन्ने रहेको देखिन्छ । भौतिक रूपमा सञ्चालन भएको परीक्षाले मात्र विद्यार्थीको सही मूल्याङ्कन हुनसक्छ भन्ने विश्वास राष्ट्रिय परीक्षा बोर्डसँग रहेको देखिन्छ । किनभने नेपालको विद्यमान परीक्षा प्रणालीमा विद्यार्थीले ३ घण्टा भित्र परीक्षा हलमा बसेर सोधिएका प्रश्नका उत्तरहरू लेख्नुपर्ने हुन्छ । हुन त परीक्षाकै सवालमा कुरा गर्ने हो भने जी.आर.ई (ग्य्राजुएट रेकर्ड इग्जामिनेसन), आईएलटीएस अर्थात् अन्तर्राष्ट्रिय अङ्ग्रेजी भाषा परीक्षा प्रणाली र टोफल (टेस्ट अफ इङ्लिस एज अ फरेन ल्याङ्ग्वेज) जस्ता अन्तर्राष्ट्रिय मान्यताप्राप्त विषयका परीक्षाहरू अनलाइनबाटै हुने गरेका छन् ।

यसरी हेर्दा कुनै पनि परीक्षा अनलाइन वा भर्चुअलका माध्यमबाट सञ्चालन गरी मूल्याङ्कन गर्न नसकिने भन्ने होइन । तथापि प्रविधि र मानवस्रोतको अभाव भएको हाम्रो जस्तो मुलकमा यस प्रकारका परीक्षा प्रणालीबाट शिक्षाको गुणस्तर कतिसम्म कायम हुनसक्छ भन्ने छलफलको विषय बन्न सक्छ । तर कोभिड–१९ को पहिलो महामारीबाटै अनलाइन तथा भर्चुअलको माध्यमबाट विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म पठनपाठन, सिकाइ र मूल्याङ्कन कार्य भइरहेको अवस्था छ र यसलाई हेर्दा उत्साहजनक नै देखिन्छ ।यसै सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्ड अहिलेको कक्षा १२ को परीक्षाका सबै प्रकियाहरू पूरा गरी परीक्षा सञ्चालनको पर्खाइमा रहेको देखिन्छ । यसअगाडि नै हरेक परीक्षा हलमा २५ जनाभन्दा बढी विद्यार्थी नराख्न र उनीहरूलाई निर्धारित आकारमा राख्न, विद्यार्थीले मास्क र फेस सिल अनिवार्य लगाउनुपर्ने, विद्यालयमा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र परीक्षा सञ्चालन गर्नुभन्दा अगाडि र पछाडि हललाई निर्मलीकरण गर्न निर्देशनसमेत गरिसकेको अवस्था थियो भने विद्यालयले पनि सोही अनुसार तयारी गरिरहेको अवस्था थियो ।यति हुँदाहुँदै पनि काठमाडाँैलगायतका शहरी क्षेत्र र विशेष जिल्लाहरूमा कोभिडको दोस्रो लहर ह्वात्तै बढ्न गएको र अझ तेस्रो लहरको सम्भावनासमेतलाई मध्यनजर गरेर कतै यही कक्षा १२ को परीक्षा नै कोभिड तेस्रो लहरको कारण बन्ने त होइन भन्ने आशङ्का बढेकाले परीक्षा स्थगित भएको भन्ने लाग्छ ।

यद्यपि परीक्षाभन्दा पनि जीवन महत्वपूर्ण हुन्छ र जीवन नै नरहे परीक्षाको के काम भन्ने विचार पनि व्यक्त भएको पाइन्छ । विद्यार्थी र अभिभावकलाई समेत यिनै चासो र चिन्ताले सताइरहेको देखिन्छ । कतै परीक्षा स्थगित नभएको भए हुन्थ्यो भन्ने विचार प्रकट भएको पाइन्छ भने कतै परीक्षा स्थगित भएको ठिक्कै हो भन्ने विचार देखिएका छन् ।स्थगित परीक्षा कहिले सञ्चालन हुन्छ भन्ने प्रश्नले सबै सरोकारवाला तथा सम्बन्धित पक्षलाई पिरोलिरहेको देखिन्छ । कतिपयले खोपको सुुनिश्चितता गरी परीक्षा सञ्चालन गर्नुपर्ने सुझाव पनि दिएको सुनिन्छ । यद्यपि यसरी खोप लगाएका विद्यार्थी कोभिडबाट पूरै सुरक्षित हुन्छन् भनी ढुक्क हुने स्थिति पनि देखिन्न । खोप लगाएको केही समयपछि मात्र यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्छ भन्ने विज्ञहरूको भनाइ रहेकाले यसलाई पनि ध्यान दिन जरुरी देखिन्छ । फेरि विश्वका कतिपय मुलुकमा खोप लगाएकाहरु पनि कोभिडको चपेटामा परेको सुनिन्छ ।तथापि परीक्षा सञ्चालन हुनुअगाडि कोभिड सङ्क्रमणको स्थिति, विद्यालयको भौतिक अवस्था, अभिभावक र विद्यार्थीलाई यसको पूर्ण जानकारी, पालना गर्नुपर्ने नियम, भीडभाडमुक्त परीक्षा केन्द्रको व्यवस्थाजस्ता कार्य गर्न अनिवार्य हुन्छ ।

यदि यसो हुन नसकी कथंकदाचित परीक्षा हलमा कुनै एकजना विद्यार्थी सङ्क्रमित भएको खण्डमा त्यसबाट सम्पूर्ण विद्यार्थी सङ्क्रमित हुने अवस्था रहन्छ । यसका लागि विद्यार्थीको पहिचान गरी उनीहरू बसेका ठाउँ, घर–परिवार र त्यस आसपासमा कोभिडको सङ्क्रमण के छ भन्ने जानकारी लिन जरुरी देखिन्छ । विद्यालयले पनि परीक्षा अवधिभर विद्यार्थीको तापक्रम नाप्ने, सेनिटाइजर, मास्क, पञ्जा, फेससिलको प्रयोग अनिवार्य गराउनुपर्छ । परीक्षा हलमा विद्यार्थीको बसाइसमेतलाई ध्यान दिँदै परीक्षाअगाडि र पछाडि हुनसक्ने जमघट आदिलाई समेत व्यवस्थित गरी परीक्षा सञ्चालन गर्न जरुरी देखिन्छ ।

वर्तमान सरकारको मुख्य प्राथमिकता पनि खोप नै भएको हुनाले यसको सुनिश्चितता हुन जरुरी छ । विद्यालय उमेरका विद्यार्थीलाई भ्याक्सिन दिने प्रक्रिया चाँडै शुरू भएको अवस्थामा आमविद्यार्थी र अभिभावकको आत्मबल बढ्ने देखिन्छ । यसका लागि सरकारले स्वास्थ्यकर्मीमार्फत स्थानीय विद्यालयमा नै विद्यार्थीलाई खोप लगाउने व्यवस्था गर्न र सबैले समान ढङ्गले खोप प्राप्त गर्न सक्ने वातावरण बनाउनु जरुरी देखिन्छ । यसका लागि स्थानीय सरकार, अभिभावक, विद्यालय र सम्बद्ध पक्षले सहयोग पु-याउन जरुरी छ । तब मात्र सफलतापूर्वक परीक्षा सम्पन्न हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्