नेपालले अफगानिस्तानबाट पाठ सिक्नुपर्ने होइन र !



  • बद्री तिवारी

विदेशी चलखेल बढ्दै जाने र देशका जिम्मेवार राजनीतिक दलका नेताहरु पनि विदेशीकै स्वार्थसँग आफ्ना व्यक्तिगत/गुटगत निहित स्वार्थ पूरा गर्नेतर्फ लाग्दा एउटा स्वाधीन राष्ट्रको हालत कस्तो होला ? अनुमान मात्र गर्न सकिन्छ । तर अफगानी जनता त्यस्तो विषम परिस्थितिको सिकार बनिरहेका छन् । राष्ट्र हाँक्ने जिम्मेवारी बोकेका नेताहरुले राष्ट्रिय हितलाई सौदाबाजीको माध्यम बनाएर आफ्नै स्वार्थ मात्र पूरा गर्ने प्रवृत्ति देखा परे त्यस्तो मुलुकको अवस्था अहिले अफगानिस्तानको जस्तै हुन के बेर ! आशंका, डर र सम्भावित दुर्घटनालाई अनुमान गर्दा वास्तवमै नेपालीहरु अहिलेदेखि नै सजग नहुने हो भने यो डरले सताउने मात्र छैन, सम्भावित घटनाहरुले देशलाई तहसनहस बनाउन कत्ति बेर पनि लाग्दैन । सामान्यतः त्यस्तो नहोस् भनेर कामना गर्न सकिएला तर हरेक सचेत नेपालीले कामना गरेर मात्र पुग्नेवाला छैन, समय छँदै देश हाँक्ने दल तथा नेताहरुलाई खबरदारी गरिरहनु राष्ट्रप्रेमी नेपालीको परम कर्तव्य हो । राष्ट्र जोगाउने काममा पहरेदारी गरिरहनुपर्दछ ताकि स्वाभिमान र स्वाधीनतालाई बचाउन सकियोस् । लेन्डुप दोर्जेहरुले खुट्टा घुमाउने वातावरण नबनोस् ।

दक्षिण एसियाली राष्ट्रहरुको संगठन (सार्क)को सदस्य मित्रराष्ट्र अफगानिस्तान विश्वकै शक्तिशाली अमेरिकालगायत विदेशी मुलुकका सैनिकहरुको युद्धस्थल त बनेकै थियो, दुई दशक लामो गृहयुद्धका क्रममा हजारौंहजार वृद्धवृद्धा, बालबालिका र युवाले असमयमै मृत्युवरण गरेको तीतो यथार्थ विश्वसामु छर्लंग छ । अफगानिस्तानका सबै भूभाग यतिखेर तालिबानी कब्जामा मात्र पुगेको छैन पुनः शक्ति राष्ट्रहरुको युद्धमैदान बन्ने खतरा कायमै छ ।

यसै प्रसंगमा काठमाण्डू स्कुल अफ लका कार्यकारी निर्देशक, पूर्व–महान्यायाधिवक्ता एवम् एसियाली कानुन प्राध्यापक संघका अध्यक्ष डा. युवराज संग्रौला अफगानिस्तानको दुर्दशा नेपालमा पनि हुनसक्ने सम्भावना इंगित गर्दै सामाजिक सञ्जाल फेसबुकमा नागरिकहरुलाई यसरी आग्रह गर्नुहुन्छ–

‘अहिले सबैका मुखमा अफगानिस्तान झुन्डिएको छ । त्यसै पनि नेपाली समाज अल्प र अर्धज्ञानको आहालमा चुर्लम्म डुबेको समाज हो, त्यसमा पनि आपूmलाई विज्ञ भन्नेहरुसमेत नेताको चाकरीमा गौरव गर्ने समाज पनि हो यो । हिजो एक जमाना थियो ‘चौतारीमा राजा भेटिए’ भन्ने कुरालाई राष्ट्रवाद भनेर गीत गाउँथे । आज त्यस्ताको संख्या कति छ कति । आज त नेता जतिसुकै नांगो बादशाह बन्दा पनि, देशका हरेक नशामा विदेशी श्वास पस्ता पनि पत्तै छैन र चासो पनि छैन, अफगानिस्तान किन त्यस्तो अफगानिस्तान बन्यो भनेर ।

नेपालमा राष्ट्रको बारेमा सोच्ने, गम्ने र विश्लेषण गर्ने त कति होलान् र ! कसैलाई बहुदल सिध्याएर राजा ल्याउनु छ, कसैलाई माधव सिध्याउनु छ, कसैलाई केपी सिध्याउनु छ, कसैलाई प्रचण्ड सिध्याउनु छ, कसैलाई देउवा सिध्याउनु छ । कसैलाई यिनैलाई देवत्वकरण गर्नु छ । तर यिनै समर्थक र विरोधीका भेषमा विदेशीको पैसा खानेको ताँती छ । केपीलाई माधव र प्रचण्डले बिगारे भन्ने लागेको होला तर उनकै तारिफ गर्नेले एकदिन उनलाई अपदस्थ गर्नेछन् । माधवलाई पनि उनैले सिध्याउनेछन् । एक समय थियो, यिनले केपीलाई विदेशीको इशारामा लोकतन्त्र सक्न लागेका भन्थे, आज तिनै भन्दछन्– माधव ठीक होइनन् । तर, हामी केपी र माधव को ठीक ? भनेर सोच्दैनौं । हामी स्याल कराएझैँ कराउँछौं, लडाइँ यिनीहरुबीचको मात्र देख्छौं । हामी के देख्दैनौं भने, हाम्रो दिमागमा अरु कोही शासन गरिरहेको छ । हामी कुनै अर्थमा अफगानिस्तानभन्दा भिन्न छैनौं । बस, अब केही वर्षमा अफगानिस्तानमा ग्रीन कार्ड होल्डर कार्जाई र घानीजस्तै यहाँ रामप्रसाद र श्यामप्रसादहरु अमेरिकाबाट आउनेछन् । अब नेपाल पश्चिमी देशको राजनीतिको केन्द्र हुनेछ । नेपालमा सबै देशका सैनिक उनको लुगा लगाएर हिँड्ने नियम त बस्यो नै । भारतीय र ब्रिटिस त सैनिक क्याम्प नै खोलेर बसेकै छन्, अब चिनियाँ पनि आउँछन् ।’

हो, अफगानिस्तानमा अहिले तालिबानले अधिकांश भाग कब्जा गरेको दाबी गरेको छ भने राष्ट्रपति अशरफ घानी भागेर ताजकिस्तान गएको खबर सार्वजनिक भएको छ । त्यसै गरी उपराष्ट्रपति पनि काबुलबाट भागेको समाचार प्रकाशित भएको छ । केही सञ्चारमाध्यमले भने राष्ट्रपति घानी स्वदेश फर्केका र शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणका लागि तयार भएको समाचार पनि प्रकाशमा ल्याएका छन् । आखिर सरकारको नियन्त्रण गुमिसकेकोले तालिबानहरुले प्रान्तीय राजधानीलगायतका भूमिमा कब्जा जमाउने क्रम बढेको अवस्था रहेको छ । यो महिना मात्र एक हजारभन्दा बढी सर्वसाधारण मानिसको ज्यान गएको तथा चार लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।
सरकारलाई विफल बनाउने तथा पूरै अफगानिस्तानलाई प्रभावित पार्ने तालिबान को हुन् त ? भन्ने जिज्ञासा पैदा हुनसक्छ । सोभियत संघले आफ्नो विखण्डनसँगै सन् १९९० मा अफगानिस्तानबाट सेना फिर्ता लगेपछि तालिबानी लडाकुहरुको जन्म भयो । स्थानीय पास्तो भाषामा तालिबानको अर्थ विद्यार्थी भन्ने हो । सुन्नी इस्लाम पक्षधर तालिबानी सिया मुस्लिमभन्दा कट्टर मानिन्छन् । उनीहरुले सिया समुदायलाई यहुदी र इशाईविरुद्ध एक भएर लड्नका लागि प्रस्ताव पनि अघि सारेका हुन् तर सफल भएनन् । तालिबानले शरिया कानुनलाई जस्ताको तस्तै लागू गराउने नारा अगाडि सारेअनुसार नै परम्परावादी कट्टर मुसलमान समुदायहरुको समर्थन बढ्दै गयो ।

तालिबानले शरिया कानुनअनुसार व्यभिचारी र ज्यानमारालाई सार्वजनिक स्थानमा फाँसी दिने, महिलाहरुले अनिवार्य रुपमा बुर्का लगाउनुपर्ने, १० वर्षभन्दा माथिका किशोरीहरुलाई विद्यालय जान नदिने, टिभी, सिनेमा र संगीतलगायत मनोरञ्जनात्मक कार्यक्रममाथि प्रतिबन्ध लगाउने बताएपछि परम्परावादी मुसलमानहरुले उनीहरुलाई समर्थन गरेको पाइन्छ । तालिबानीहरु बुरान्नुद्दिन रब्बानीको सरकारलाई सत्ताच्युत गरी शक्तिमा आए । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको ट्विनटावरमा आत्मघाती हमलापछि उनीहरु अमेरिकी नेतृत्वको सेनाको तारो बने । तालिबानलाई अमेरिकी नेतृत्वको फौजले कारबाही गरेपछि २००१ मै सत्ताच्युत गरेको हो । ओसामा बिन लादेनलगायतको योजनामा आक्रमण भएकोले अमेरिकाले तालिबानीहरुलाई लादेन जिम्मा लगाउन भने पनि तालिबानीहरुले अस्वीकार गरेपछि अमेरिकी नेतृत्वको विदेशी सेनाले हस्तक्षेप ग¥यो । अन्धाधुन्ध गोलाबारी गरेपछि कैयौं अफगानीहरुको अनाहकमा ज्यान गयो । त्यसपछि लगातार गृहयुद्धमा फसेको अफगानिस्तानमा हमिद कार्जाई राष्ट्रपति बने । उनले सन् २००४ देखि २००९ सम्म पहिलो र २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल शासन गरे । त्यसपछि २०१४ देखि २०१९ सम्म अशरफ घानी राष्ट्रपति चुनिए ।

दोस्रोपटक पनि उनी २०१९ देखि २०२४ का लागि चुनिए । तर अहिले कार्यकाल पूरा गर्नै नपाई भागाभाग भएको छ । अफगानिस्तानमा युद्धरत तालिबानी लडाकुहरुको संख्या करिब ६० हजार रहेको अमेरिकाले दाबी गरे पनि अन्य मिलिसिया तथा समर्थकसहित २ लाख नाघ्न सक्ने अनुमान गरिएको छ । यता अफगानी सरकारी सैनिकको संख्या ३ लाख रहेको र उनीहरुलाई अमेरिकाबाटै आर्थिक सहयोग, तालिम र हतियार प्राप्त भइरहेको छ । यसरी तयार गर्दा पनि सरकारी सेना तालिबानका अगाडि टिक्न नसकेकोले अमेरिकी रणनीति असफल भएको टीकाटिप्पणी जारी छ । तालिबानीलाई पनि साउदी अरबलगायत अन्य मुस्लिम राष्ट्रहरुले सहयोग र समर्थन गरिरहेका छन् । हाल आएर अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बरसम्म अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने घोषणा गरेपछि तालिबानले देशका प्रायः धेरै भूभाग कब्जा गरेको हो । तालिबानका अगाडि सरकारी सेना कमजोर बनेकाले सर्वसाधारण नागरिकहरु पनि असुरक्षित बन्दै गएका पाइन्छन् । तालिबानले राजधानी काबुल कब्जा गरिसकेको र अब अफगानिस्तानमा आफूले चाहेजस्तो भएको तथा आफ्नो विजय भएको घोषणा गरेको छ । यतिखेर भागादौडको अवस्था रहेकोले लुटपाट हुनसक्ने तथा हताहत बढ्न सक्ने कुरामा सचेत रहेको भन्दै तालिबानीले पनि आफ्ना लडाकु खटाएको तालिबानी प्रवक्ताले बताएको प्रकाशमा आएको छ ।

हो, दुवै पक्ष विदेशीबाटै परिचालित भएपछि देशको मायाभन्दा बढी आफ्नो स्वार्थ नै प्राथमिकतामा राख्नेहरुबाट के आशा गर्न सकिन्छ र ! अफगानिस्तानमा यो पछिल्लो घटनासँगै विदेशी नागरिकहरु पनि असुरक्षित भएका घटना प्रकाशमा आएका छन् । धेरै मुलुकले आ–आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउनका लागि पहल गरिरहेका छन् । विमानस्थलमा पनि बम तथा गोलाबारुद विष्फोट भएको भन्ने समाचारले असुरक्षा बढाएसँगै अमेरिकाले आफ्ना ६ हजार सैनिकलाई विमानस्थलको सुरक्षामा केन्द्रित गर्ने बताएकोले केही ढुक्क हुने स्थिति बनेको बताइन्छ । यसै बीच अफगानिस्तानमा कार्यरत तथा आप्mना कामका सिलसिलामा त्यहाँ पुगेका नेपालीहरुलाई स्वदेश फर्काउन तथा सुरक्षित स्थानमा सार्नका लागि पनि परराष्ट्र मन्त्रालयले पहल गरिरहेको छ ।

दुई दशकभन्दा लामो गृहयुद्धबाट तहसनहस भएको अफगानिस्तानबाट नेपालले पाठ सिक्नै पर्ने हो, अन्यथा नेपालले पनि त्यस्तै दुर्दशा व्यहोर्नु नपर्ला भन्ने कुनै निश्चित छैन ।

विदेशी हस्तक्षेपको प्रसंग एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) जोडेर समयमै सचेत भएर जथाभावी सम्झौता नगर्न, संसद्बाट जस्ताको तस्तै सम्झौता पारित नगर्न, कार्यदलका सुझाव पालना गर्न सांसद, नेता तथा जनस्तरबाट आवाज उठिरहेको छ । भविष्यमा यस्ता परियोजनाले नेपाललाई विदेशीहरुको युद्धभूमि बनाउन सक्ने भन्दै गराएको ध्यानाकर्षणलाई सरकारले बेवास्ता गर्‍यो भने त्यो ठूलो भूल हुनेछ । सम्झौता नै नभई नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिका वडा नं. ७ मा रातमाटे विद्युत् स्टेसनका लागि ३ सय ९८ रोपनी जग्गा अधिग्रहण गरिएको घटनाले व्यापकता पाएको मात्र छैन यसको विरोध पनि भएको छ । १ सय २ घर–परिवारको १ सय ९५ कित्ता जग्गामा गत शनिबार उन्नत लोकतान्त्रिक पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालका नेता–कार्यकर्ताहरुले विरोध सभाको आयोजना गरे । पार्टी अध्यक्ष स्वागत नेपालको नेतृत्वमा गएको जुलुसले उक्त स्थानमा कुनै पनि हालतमा एमसीसीको भवन निर्माण गर्न नदिने प्रतिबद्धता व्यक्त गरेको छ । स्थानीय व्यक्तिहरुले आपूmलाई अनेकौं प्रलोभनमा पारेर सरकारले फसाएको मन्तव्यका क्रममा बताएका छन् ।

निश्चय नै डा. संग्रौलाले भन्नुभएजस्तै हामी नेपाली जनता नै सचेत भएर नलाग्ने हो भने हाम्रो स्थिति पनि अफगानिस्तानको जस्तै बन्न के बेर ! विदेशी श्वास फेर्ने नेताहरुलाई बेलैमा चिनेर कार्यकर्ताले काबुमा राख्न सके मात्र नेपालीको भविष्य सुरक्षित हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्