भविष्यले सयौं कुलमानहरू जन्माओस्



  • पेशल आचार्य

भनिन्छ, संसारलाई उज्यालो दिनका लागि एउटै सूर्य काफी हुन्छ । यो भनाइ सूर्य, चन्द्र र केही प्रकृतिप्रदत्त वस्तुहरूमा मात्रै लागू हुन्छ । व्यक्तिको कार्य र विशेषतालाई हेर्दाचाहिँ हरेक व्यक्ति प्राकृतिक र आफैँमा प्रकृतिको अनुपम उपहार हो ।

अहिले पुनः कुलमान घिसिङको चर्चा देशैभरि छ । आखिर किन चर्चा हुन्छ उनको बारबार ? किन उनलाई डुबेका संस्थाहरू उकास्न मात्रै प्रयोग गरिन्छ ? उनले कुनै डुबेको संस्थालाई माथि उतारिदिनुपर्ने अनि त्यसलाई फेरि डुबाउनचाहिँ अर्को ‘भष्मासूर’ पात्र माफियाहरूका मिलेमतोमा ल्याउने ? के कुलमान घिसिङ माफियाहरूका ‘नोकर’ हुन् ? उनको इमानदारिता र दक्षता ‘डोरमेट’ हो जसले जतिखेर चाह्यो उतिखेर युज गर्न सक्ने ? अहिले यस्ता प्रश्नहरू देशैभरि जनसामान्यबाट उठाइएका छन् । कुलमानलाई पुरस्कारजस्तो दिँदा हितेन्द्रहरूलाई चाहिँ गल्तीका लागि सजाय दिइरइनुपर्दैन ?

जिब्रो नचपाईकन भन्दा यतिखेर गठबन्धन सरकारको नेतृत्व गर्ने शेरबहादुर देउवालाई मन्त्रिमण्डल विस्तार ‘भालुको कन्पट’ भएको छ । प्रचण्डले हाकाहाकी नै भने कि उनका उनन्चासै सांसदहरू मन्त्रीका आकांक्षी छन् । माधव नेपालले विश्वासको मत दिलाएकामा उनीसमेत भित्रभित्रै लोभ गरिरहेका होलान् । नेपाल पक्षीय मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायतका सांसदहरू मन्त्री बन्नका लागि खुट्टा उचालिरहेका छन् । अहिलेको विचारशून्य राजनीतिमा सबै सांसदहरू मन्त्रीका लागि मात्रै लालयित देखिन्छन् । सकसमा परेका देउवालाई गगन थापा, मीनेन्द्र रिजाल र डा. नारायण खड्काहरूलाई मन्त्री बनाउन पार्टीभित्रैबाट चर्को दबाब छ ।

यतिखेर कुलमान नेपाली राजनीतिमा ‘सुरथका एक्का’ भएका छन् जसलाई भँजाएर सत्तासीन पार्टीहरू आफ्ना सबै गल्ती, कमी–कमजोरी र असफलतालाई ढाकछोक गर्न चाहन्छन् । पार्टीहरूमा अब देखाउने क्यारिस्मेटिक नेता र कार्यकर्ताहरूको अनिकाल पर्दै गैरहेको हो त ? यस्तो बेलामा कुलमानले नै पूरै राजनीतिक पार्टीहरूका बेडा पार लगाइदिनुपर्छ कि कसो ? कस्तो देश रहेछ एउटा विद्युत् प्राधिकरणमा यतिका वर्षमा सिङ्गै एकजना कुलमान मात्र त्यस्ता सुपात्र रहेछन्, जसले सिङ्गो प्राधिकरण बचाइदिनुपर्ने । वाह ! नेपाली ब्युरोक्रेसी । वाह ! नेपाली गणतन्त्रात्मक शासन पद्धति र यसका नोकरशाहहरू !

आमजनता एकै लवजमा भनिरहेका छन्, ‘अब कुलमानहरूले विद्युत् प्राधिकरणमा मात्रै टाक्सिएर हुँदैन । उनीहरूका विद्वता र दक्षताका आधारमा उनीहरूलाई ऊर्जा क्षेत्रका तमाम जिम्मेवारी दिँदा हुन्छ, न कि सीमित अधिकार र अवसर दिएर एउटा सानो क्षेत्रमा सधैँ कजाइरहने । कुलमानहरूले समेत राष्ट्रिय फोरमहरूबाट भन्न सक्नुप¥यो कि उनीहरूले परेका बेला डुबेका संस्थानहरूलाई माथि ल्याउने ल्याकत राख्छन् भने अब उनीहरूलाई पूरै देश चलाउने मौका दिइनुपर्छ । के कुलमान घिसिङलाई अघि सारेर माओवादी पार्टीले आगामी सग्लो चुनावी अभियान सञ्चालन गर्न सक्दैन र ?

जहिल्यै अर्काको बुई चढेर चुनावी साख जोगाउन पल्केको माओवादीलाई यस्ता अवसरहरू भविष्यमा पुनः नआउन सक्छन् । राजनीति प्रायः तरल हुने हुँदा यस्ता अवसरहरूको क्यास गर्नुपर्ने देखिन्छ । यो कुरा पार्टीका सुप्रिमो प्रचण्डले बुझ्नुपर्ने हो तर उनी समेत नातावाद, कृपावाद र फरियावादमा चुर्लुम्म डुबेका देखिन्छन् । राष्ट्रिय राजनीतिबाट उनका पुराना मुद्दाहरू अब क्रमशः निख्रिँदै गएकामा यस्तो अवस्थामा उनले एउटा कुलमान घिसिङलाई उपयुक्त स्थानमा लगेर ‘राइट मेन राइट प्लेस’ मा सिफ्ट गर्न सके उनैले भोलि हुने संसदीय चुनाव लिडिङ गरेर लैजान्छन् । पाँचौंपटकको प्रधानमन्त्रीको यात्रामा समेत उत्साहहीन देखिएका थकित र गलित शेरबहादुर देउवाबाट अब देशले केही नयाँ कुरा पाउनेवाला देखिँदैन भन्ने ऐना भर्खरै जारी नीति तथा कार्यक्रम हो ।

यो कुरा राजनीतिका किङमेकर प्रचण्डलाई भलिभाँती थाहा छ । उनले एकपटकका लागि मसक्क आँटेर पाइला मात्र चाल्नुपर्छ, सबै माहोल मिल्छन् । गत मङ्गलबार प्रतिनिधिसभाको बैठकमा पहिलोपटक सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी नेता केपी ओलीले सरकारमाथि दर्जन प्रश्नहरू तेस्र्याउँदै ‘पाँडे गाली शैली’ मा आक्रोश पोखे । यतिखेर प्रश्नहरूको निष्पक्ष मूल्याङ्कन हुँदै छ । उनका समर्थकहरू भन्दै छन् कि ‘देउवा परमादेशका बलमा जनादेशको सरकारलाई ढालेर त्यहाँ पुगेका हुन् ।’ तर तर्कको अर्को पाटो समेत देखिन्छ– देउवालाई अदालतले जुन परिस्थितिमा सरकारको नेतृत्व गर्न पु¥यायो, त्यसमा देउवाको भन्दा माधव नेपालहरूको आक्रोशले ज्यादा काम गरेको छ । पूरै दुनियाँलाई थाहा छ केपी ओलीले ‘मिनी तानाशाह’ बन्ने जुन धृष्टता देखाए, त्यसैको परिणति हो आजको यो बदलाव राजनीतिक सिनारियो ।

देउवालाई विश्वास मत दिँदा ओली गुटका ८ जना सांसदहरूले गुट फेरे । तीमध्ये ओली सरकारका वनमन्त्री प्रेमबहादुर आले र सांसद किसान श्रेष्ठ अग्रपङ्क्तिमा देखिएकै हुन् । अहिले मन्त्री खान सांसदहरू हत्ते हालेर दौडिएका छन् । त्यसैले देउवालाई पूरै मन्त्रिमण्डल गठन गर्नका लागि ठूलो सकस परेको छ । देउवा यतिखेर ‘सर्पले छुचुन्द्रो समाएको’ परिस्थितिमा उभिएका छन् । उनका सहयोगी र हिताकांक्षीहरू अघिल्लो सरकारलाई झैँ यो सरकारलाई कुनै गल्ती गर्ने छुट छैन भन्दै छन् । तर सरकार नजानिदो गरी एकपछि अर्को अनेक गल्तीहरू गरिरहेको छ । विजय गच्छेदारका बारेमा गरेको गल्ती सेलाउन नपाउँदै भूमि आयोगलाई खारेज गर्नु दोस्रो गल्ती थियो, जुन सर्वाेच्च अदालतबाट बदर भैसकेको छ ।

एमालेले आफ्ना कार्यकर्ताहरूलाई जागिर ख्वाउने थलो बनाएको आयोगमा उनीहरूका कार्यकर्ता हटाएर आफ्ना कार्यकर्ता राखेको भए भैहाल्थ्यो । अहिलेको सरकारले पूरै आयोग नै खारेज गरिदिएकाले अदालत फेरि रुष्ट भएको छ । ओली सरकारले अध्यादेशबाट गरेको नियुक्तिका विरुद्ध परेको रिटमा समेत अदालतले ती सबै नियुक्तिहरूलाई सदर गरेर अहिलेको सरकारलाई राजनीतिक रुपले ‘बाप वैरी साँध्ने’ अवसरचाहिँ दिएन । जसले जे भने पनि अहिले नेपालको राजनीति अदालतको आदेशमा पुगेको छ । यसको उपयुक्त विश्लेषण समयले गर्दै जाला ।

हुन त ओलीले अहिले जे–जति आरोपहरू देउवालाई लगाएका छन् ती सबै मिथ्या होइनन्, केही आरोपहरूमा सत्यता छन् भने केही झुटा प्रकृतिका छन् । इटहरीका पाका पत्रकार कृष्ण अधिकारी खरो शैलीमा लेख्छन्– ‘संसद्को मूल परेको मान्छे जसले संसद् फेस गर्ने आँट नै गरेन, अध्यादेशहरूको क्याराभान (जुलुस) चलाएर संसद्को अपमान मात्र गरिरह्यो र जननिर्वाचित संसद् दुई–दुईपल्ट विघटन ग¥यो । उसैले आज संसद्को रोस्टममा उभिएर भन्यो– म जनताले चुनेको प्रधानमन्त्री थिएँ । प्रतिपक्षी नेता ओलीको त्यो दमित मानसिकताको कुण्ठा थियो । जसले उनलाई त्यहाँ आफ्ना केही मानिसहरूलाई थुम्थुम्याउन तथा जनमानसमा केही बचेखुचेको सान्त्वनालाई क्यास गर्न उनका भित्रियाहरूले उक्साएका हुन् ।’

अब ओलीको कम्युनिस्ट हुनुको मुखौटो राम्ररी उत्रिसकेको छ । अचम्मै भयो भने मात्र नत्र अब आउने चुनावमार्फत सत्तामा उनको पुनरोदय हुने आश डुब्दो घामझैँ झीनो–झीनो बन्दै गएको छ । हो, उनी जनताले चुनेका त्यो असीम शक्ति बोकेका प्रधानमन्त्री थिए, जसले चाहेको भए नेपालमा मसक्कसँग गरिब र पसिनाजीवीका लागि केही टिपिकल कामहरू गरेर प्रतिपक्षी पार्टीहरूलाई एक–दुई दशकका लागि पाखा लगाउन सक्थे तर त्यो बुद्धि यतिका वर्ष राजनीति गर्ने पाको उमेरमा न उनमा रहेछ, न उनलाई शासन सञ्चालन गर्नका लागि सहयोग गर्ने किचन क्याबिनेटका सदस्यहरूमा नै ।

भ्रष्टाचार गर्दिन र भ्रष्टाचारीको मुखसमेत हेर्दिन भन्ने ओलीका वरिपरिका मान्छेहरू नै भ्रष्टाचारमा लिप्त थिए । नाम उल्लेख नगर्ने सर्तमा एकजना पाका राजनीतिज्ञ यसरी दुखेसो पोख्छन्– ‘ओलीको नीति नै दुईजिब्रे रहेछ । भन्ने एकथोक र गर्ने अर्को थोक । उनले गरेका हरेक कार्यहरूलाई निष्पक्ष मूल्याङ्कनको कसीमा राख्दा ती कुनै पनि हिसाबले खरो उत्रिन सक्दैनन् । अरू त अरू, काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म भएको नेपाल रेलवेको १४१ किलोमिटरको काम गर्ने ठेक्काका लागि उनले आफ्ना एकजना दमकतिरका अधिकारी थरका कार्यकर्ताको सुझावमा सो पूरै ठेक्कालाई ३७ टुक्रामा विभाजन गरी आफ्ना कार्यकर्ताहरूलाई पोस्नका लागि राष्ट्रलाई घाटा पु¥याउने काम गरे । अहिले त्यो ठेक्का अलपत्र मात्र परेको छैन, कतिपय टुहुरे ठेकदारहरूले त आफूले गर्ने भनेका कामहरू नै कानुनको सहारा लिएर फिर्ता लगेको अवस्था छ ।’

यति भनिसकेपछि अब थप केही भनिरहनु परोइन । केही अपवादहरूलाई छाडेर बाँकी सत्ता सञ्चालकहरूलाई एकै शब्दमा सम्बोधन गर्ने हो भने उपयुक्त शब्द ‘सन्की शासक’ भन्दा बेस होला । जनताको चाहना एकातिर छ । समयको माग अर्कोतिर छ । सम्बन्धित क्षेत्रका माफियाहरूलाई खुशी बनाउन, बिचौलियाहरू पोस्न, आफ्नो चुनावी भविष्यलाई दिगो बनाउन र प्रोपोगाण्डाका लागि मात्र शासन चलाउनेहरू नै यो देशका कार्यकारीहरू भएको पाइयो । नत्र उनले कामै नसकिएको मेलम्ची किन हतारिएर उद्घाटन गरेका ? चालीस प्रतिशत काम बाँकी भएको धरहरामा किन कोरोना प्रोटोकल मिचेर दलबलसहित चढेका ? कुरो स्पष्ट छ कि आफू अनायास सत्ताबाट लछारिने भयको पूर्वानुमान उनलाई उत्तिखेरै थियो, जसले गर्दा उनले काम फत्ते भए पनि नभए पनि आफ्नो नाम लेखाउनका लागि तत्–तत् आयोजनाहरूको उद्घाटन गरिटोपलेका हुन् ।

अपर तामाकोशीले अझै व्यावसायिक विद्युत् उत्पादन गरेको खै ? मेलम्चीको पानी राजधानीका धाराहरूमा झरेको खै ? धरहरामा आमनेपालीले टिकट काटेर खै चढ्न पाएको ? यी त भए देखिने कुराहरू । नदेखिने यस्ता कुराहरू सयौं–हजारौं छन्, जसको खम्भीर तर्कसहित उत्तर दिन न ओली, न ओलीका सल्लाहकारहरू सक्षम छन् । केही विश्लेषकहरूले त भन्थे– ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई वैधानिकरूपले नै धुलिसात बनाउन ओलीजस्ता मुढी, अहंकारी र दम्भी शासकको बलात् अभ्युदय गराइएको हो । जसको वास्तविक साँचो देशबाहिर छ ।’

अहिले आएर हेर्दा होइन भन्न सकिने स्थिति रहेन । मिथकझैँ लाग्ने ओली शासन अहिले किंवदन्ती बन्यो, जसलाई उनी अझै मौका पाएमा राजनीतिकरूपले क्यास गर्न चाहन्छन् । त्यसैले संसद्मा सम्बोधन गर्दा उनले भने– ‘म फेरि अपार जनमत लिएर प्रधानमन्त्री भई आउनेछु ।’ उनी गलत छन् । अबको भविष्य भनेको कुनै हालतमा ओली, प्रचण्ड, नेपाल र देउवाको हुँदै होइन । अब त सयौं कुलमानहरू हरेक क्षेत्रमा जमजमाएर आउनुपर्छ र देशलाई माथि उठाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्