‘मान्छे, प्रकृति र भेगन’मा एक विहङ्गम दृष्टि



  • डा. इन्दुल के.सी.

साधुराम गिरीद्वारा लिखित ‘मान्छे, प्रकृति र भेगन (बिरौंला सङ्ग्रह)’ नामक पुस्तक नेपाली साहित्य क्षेत्रको एक विशिष्ट पुस्तक हो । यो पुस्तक शब्द यात्रा प्रकाशन बनेपाको १२२ औं प्रकाशन पुष्पको रुपमा हालै पाठकसमक्ष आइपुगेको छ ।

दामोदर घिमिरेद्वारा सम्पादित यस पुस्तकलाई साहित्यको ठूलो बगैँचामा फुलेको एउटा सुन्दर फूलका रुपमा लिन सकिन्छ । पुस्तकको पहिलो भागमा ४ वटा कविता, दोस्रो भागमा २ वटा संस्मरणात्मक निबन्ध र तेस्रो भागमा ६ वटा नेपाली भाषा एवं २ वटा अङ्ग्रेजी भाषामा लेखिएका लेखहरु समावेश गरिएका छन् ।

भरत जङ्गम, डा. इन्दुल के.सी., मानवअधिकारका अभियन्ता राजु सरकार, नवजीवन परोपकार समाज नेपालका अध्यक्ष दुर्गानाथ दाहाल, प्रा.डा. मोहन खरेल, अध्यात्म गुरु ब्रह्मश्री मित्रका शुभकामना सन्देशहरुसमेत पुस्तकमा समावेश गरिएकाले पुस्तकको ओज बढेको महसुस हुन्छ ।

‘प्रकृति र मानव–अस्तित्वलाई सहज ढङ्गले निरन्तरता दिन टेवा पुग्ने काममा सचेत बनौं र अरुलाई पनि सचेत बनाऔं । दीर्घायु, समृद्धि, विकास र शान्तिका लागि कृत्रिमतालाई प्राथमिकता नदिई प्रकृतिप्रेमी बनेर अगाडि बढौं । कृत्रिमतालाई मात्रै अँगालेर प्रकृतितर्फ नफर्किने हो भने हाम्रो अस्तित्व यति सुन्दर पृथ्वीबाट सदाका लागि मेटिन सक्छ ।’ पुस्तकमा उल्लिखित लेखक गिरीका यस्ता अभिव्यक्ति जो–कसैका लागि ग्रहणयोग्य छन् ।

शब्द यात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले प्रकाशकीयमा लेख्नुभएको छ, ‘मान्छे, प्रकृति र भेगन पुस्तक साधुराम गिरीका कविता, संस्मरण र लेखहरुको त्रिआयामिक सङ्ग्रह हो । त्यसैले यसलाई बिरौंला सङ्ग्रह नाम दिइएको छ । यस सङ्ग्रहमा रचनाकारका विविध विचारहरु, भावहरु र दृष्टिकोणहरु मुखरित भएका छन् । विशेषतः मानवजीवनले अँगाल्नुपर्ने सकारात्मक पक्षहरुको चर्चा यस सङ्ग्रहका रचनाहरुमा गरिएको छ ।’

पुस्तकमा रहेका कविताहरुमध्ये पहिलो कविता ‘यसरी नै उदाउन सकूँ म’ हो । बालकवि साधुराम गिरी कक्षा आठमा अध्ययन गर्दा रचिएको रहेछ यो कविता । स्कुले जीवनमा रचिएको यो कविता भविष्यमा एउटा आदर्शवान् देशभक्त बन्न सकौं भन्ने आकांक्षायुक्त भावले पूर्ण छ । दोस्रो कविता ‘वाह जिन्दगी’ मा कविले खालि हात जन्मेको खालि हातमै बिलाउनुपर्ने सपना पो रहेछ जिन्दगी भन्ने शाश्वत उद्गार अभिव्यक्त गर्नुभएको छ । आफ्नो जन्मस्थानको यादमा रचिएको ‘मेरो प्यारो खर्कडाँडा’ मा आफ्नो गाउँको माया जीवनभर राख्ने भाव पोखिएको छ । ‘प्रकृतिप्रेमी भेगन’ शीर्षकको कवितामा मानिसले श्वास लिन र श्वास फाल्न प्रकृति नै चाहिन्छ अनि मानिस भेगन बन्न सकेमा झनै राम्रो पुण्य पाइन्छ भन्ने सन्देश लेखकले दिनुभएको छ ।

यसै प्रसङ्गमा पुस्तकमा भनिएको छ– पशुवधशालामा अत्यन्तै घृणित र नारकीय दृश्य देख्दा ती निरीह पशुको हत्या गर्ने मानव कि दानव हुन् ? पशु–भक्षक निर्दयी मानवदेखि जो–कोहीलाई पनि घृणा लागेर आउँछ । एक्काइसौं शताब्दीका चेतनशील मानवको वास्तविकता यही हो त ? लाज लाग्नुपर्ने हो, साँच्चै विवेकशील मानव हो भने । यति सुन्दर देशलाई कहिलेसम्म यिनीहरुलाई नरक बनाउन दिइरहने हो ? एउटा गहन प्रश्न खडा भएको छ ।

किताबको तेस्रो खण्डमा ‘मानव धर्म र आजको आवश्यकता’ शीर्षकको लेखमा लेखक भन्नुहुन्छ– ‘आ–आफ्नो धर्म र संस्कृतिको पहिचान मानव–समाज रहुन्जेल अजम्बरी बनोस् । त्यो पनि सम्पूर्ण मानवहितका लागि काल्पनिक, अदृश्य र अफिमरुपी धर्मभन्दा २१ औं शताब्दीका लागि सुहाँउदो एकमात्र मानव धर्मको विकास नै आजको आवश्यकता र समय सान्दर्भिक हुन्छ ।’

यसै गरी पुस्तकमा उल्लिखित ‘ईश्वरले हामीलाई बनायो र हामीले धर्मलाई बनायौं’ भन्ने एउटा अभिव्यक्ति निकै गहन लाग्छ । ‘कृत्रिम नबनौं प्रकृतिप्रेमी बनौं’ लखेमा लेखक गिरीले बेलैमा सचेत भई आधुनिकताभन्दा प्रकृतितर्फ फर्कन सम्पूर्ण प्रकृतिप्रेमीलाई प्रेरित गर्नुभएको छ ।

यसै गरी लेखक गिरीले भेगन भोजनमा बढी जोड दिएर लेख्नुभएको छ । पुस्तकमा उल्लेख भएअनुसार माछा, मासु, अण्डा मात्र होइन पशुपन्छीको कुनै पनि उत्पादनको अंश भेगनमा हुँदैन । यो भनेको विशुद्ध शाकाहारी भोजन, बिरुवामा वा वनस्पतिमा आधारित खाना हो । यो असल जीवनशैलीको आधार पनि हो । यस्तो भोजनले मन र शरीरलाई शान्त र स्फूर्त तुल्याउँछ । शरीरको तौल सन्तुलित राख्नुका साथै सम्पूर्ण पोषक तत्व पनि प्राप्त गर्न सकिन्छ । मुटुरोग, उच्च रक्तचाप, कब्जियत तथा क्यान्सरजस्ता रोगको जोखिम पनि कम हुने गर्दछ । भेगन डाइटले पाचन क्रिया पनि दुरुस्त रहने भएकाले हामी सबैका लागि यो एक राम्रो विकल्प हुनसक्छ ।

लेखकले भोजनलाई तामसिक, राजसिक र सात्विक भोजन गरी तीन भागमा विभक्त गर्नुभएको छ । सात्विक भोजनबारे लेखक भन्नुहुन्छ, ‘सात्विकको अर्थ निर्मल वा शुद्ध तत्व हो । सबैभन्दा शुद्ध आहारले चेतनायुक्त आध्यात्मिक र स्वस्थ जीवनका लागि शरीरलाई पोषित गर्छ र शान्तिपूर्ण स्थितिमा राख्छ ।’

सात्विक भोजनले मनलाई शान्त र शुद्ध पार्ने, यसले गर्दा समुचित शरीरलाई नियन्त्रण गर्ने कुरा पुस्तकमा व्यक्त गरिएको छ । शान्त, शुद्ध, स्थिर र चिन्तनशील जीवन व्यतीत गर्न चाहनेहरुका लागि यो उत्तम भोजन हो भनिएको छ । म (डा. इन्दुल) स्वयं योग तथा प्राकृतिक चिकित्सा (वैकल्पिक उपचार) र योगसँग सम्बन्धित डाक्टरको नाताले लेखकको माथिको भनाइप्रति पूर्ण सहमत छु ।

जस्तो खाना त्यस्तै विचार उत्पन्न हुने भएकाले पूर्ण शाकाहारी अर्थात् भेगन हुन पुस्तकले उत्प्रेरित गरेको छ । लेखक स्वयं कसरी र किन शाकाहारी हुँदै पछि भेगन नै बन्न पुग्नुभयो भन्ने चर्चा पुस्तकमा गरिएको छ । जम्मा ८६ पृष्ठको यो पुस्तक नेपाली साहित्य क्षेत्रमा लेखकको पहिलो पाइला हो ।

प्रतिक्रिया दिनुहोस्