सेवाक्षेत्रमा छिपेको सम्भावना



ढुनबहादुर बुुढाथोकी

सन् १९८० ताका विश्वमा सेवाक्षेत्र उदाइरहेको भए तापनि व्यापार तथा भन्सारसम्बन्धी सामान्य सम्झौता (ग्याट) अन्तर्गत समेटिएको थिएन । यसैले ग्याटको आठौं राउन्ड अर्थात् उरुग्वे राउन्डमा सेवाक्षेत्रलाई समावेश गर्न गृहकार्य गरियो । सो अनुरुप विश्व संगठन स्थापना गर्ने उद्देश्यका साथ सन् १९९४ अप्रिल १५ मा सम्पन्न मराकेश सम्झौतामा सेवाक्षेत्र पनि समेटियो । सो अनुरुप १९९५ जनवरी १ देखि सेवा व्यापारसम्बन्धी सामान्य सम्झौता कार्यान्वयमा आएको हो ।

सेवाक्षेत्र त्यो हो, जुन देख्न, छुन वा हेर्न सकिँदैन तर अनुभव वा अनुभूति गर्न सकिन्छ । विश्व व्यापार संगठनमा उत्पादनमूलकबाहेकको क्षेत्रलाई सेवाक्षेत्र भनी परिभाषा गरिएको छ । राज्यको निकाय वा केन्द्रीय बैंकले व्यापारिक र प्रतिपस्र्धात्मको उद्देश्य नराखी प्रवाह गर्ने सेवाबाहेक सबै सेवालाई सेवाक्षेत्र मानिएको छ । विश्व व्यापार संगठनअन्तर्गत सेवाक्षेत्रलाई (१) व्यापार सेवा (व्यावसायिक तथा कम्प्युटर सेवा), (२) सञ्चार सेवा, (३) निर्माण तथा इन्जिनियरिङ सेवा, (४) वितरण (एजेन्ट, थोक, खुद्रा, फ्रेन्चाइजिङ), (५) शिक्षा सेवा, (६) वातावरणीय सेवा, (७) वित्तीय सेवा (बिमा, बैंकिङ), (८) स्वास्थ्य तथा सामाजिक सेवा, (९) पर्यटन तथा यात्रासँग सम्बन्धित सेवा, (१०) मनोरञ्जन सेवा, सांस्कृतिक तथा खेल सेवा, (११) यातायात सेवा, (१२ यी सेवाअन्तर्गत समावेश नभएका सेवाहरु गरी प्रमुख १२ क्षेत्रमा विभक्त गरिएको छ । यी १२ प्रमुख क्षेत्रलाई पुनः ६४ उपक्षेत्रहरुमा विभक्त गरिएको छ ।

सेवाक्षेत्रमा भएको सम्झौता विश्व व्यापार संगठनको आर्टिकल २९ मा उल्लेख गरिएको छ । सो अनुरुप सदस्य मुलुकको सेवाउपर अति सौविध्य राष्ट्रको व्यवहार (एसएफएन) गर्नुपर्दछ । सेवा प्रवाह गर्ने प्रक्रिया पारदर्शी (ट्रान्सपरेन्सी) हुनुपर्दछ । सेवाको गुणस्तर तथा प्राविधिक मापदण्ड (टेक्निकल स्टान्डर्ड) विश्व व्यापार संगठनले निर्धारण गरेबमोजिम हुनुपर्दछ । सेवाक्षेत्रमा सदस्य मुलुकहरुलाई प्रतिस्पर्धा गर्न खुला छोड्नुपर्दछ । सेवाक्षेत्रबाट प्राप्त आयआर्जन स्वदेशमा लैजान रोक्नुहुँदैन । सार्वजनिक सुरक्षा, सार्वजनिक नैतिकता, मानव स्वास्थ्य, पशु स्वास्थ्य, वनस्पति स्वास्थ्य, वातावरण संरक्षणसम्बन्धी प्रावधान परिपालना गर्नुपर्दछ । सदस्य मुलुकको सेवाउपर राष्ट्रिय व्यवहार गर्नुपर्दछ । सेवाको मूल्य तथा संख्यामा पावन्दी लगाउनुहुँदैन ।

सेवाक्षेत्रमा भएको सामान्य सम्झौता (जीएटीएस) ले सेवाक्षेत्रमा विश्वभर एकै किसिमको नीति, नियम (सिंगल सेट अफ रेगुलेसन) अवलम्बन गर्नु बाध्यकारी व्यवस्था गरको छ । जहाँ विश्व व्यापार संगठनले सेवाक्षेत्रलाई उत्पादनको सीमा वारपार आपूर्ति, सीमापार हुने उपभोग, वाणिज्य उपस्थिति र प्राकृतिको व्यक्तिको आवागमन गरी सेवाक्षेत्रको व्यापारलाई ४ मोडमा विभक्त गरिएको छ ।

मोड १ :

एउटा सदस्य मुलुकले आफ्नो सीमापार गरी (क्रस बोर्डर सप्लाइ अफ सर्भिसेज) अर्को सदस्य मुलुककमा प्रवाह गर्ने सेवालाई विश्व व्यापार संगठनले मोड १ अन्तर्गत राखेको छ । यसलाई सेवाको सीमा वारपार भौतिक गमन पनि भनिन्छ । यस प्रावधानअनुसार विश्व व्यापार संगठनको एउटा सदस्य मुलुकले अर्को सदस्य मुलुकमा कुनै पनि सेवा उपलब्ध गराउन सक्छ । मोड १ अनुसार सदस्य मुलुकको व्यक्ति नभई सेवा मात्र अर्को मुलुकमा प्रवाह हुने गर्दछ । बिजनेश प्रोसेस आउट सोसिङ (बीपीओ), बैंकिङ, दूरसञ्चार, वास्तुकला मोड १ अन्तर्गत प्रवाह गरिने सेवाहरु हुन् । मोड १ को प्रावधानअनुसार एउटा सदस्य मुलुकले अर्को सदस्य मुलक कुनै पनि सेवा लिन वा दिन बाधा पुग्नुहँदैन । सदस्य मुलुकको सेवाउपर अति सौविध्य राष्ट्रको व्यवहार (एमएफएन) र राष्ट्रिय व्यवहार (नेसनल ट्रिटमेन्ट) गर्नुपर्दछ । त्यसो नगरिएमा विश्व व्यापार संगठनको विवाद समाधान संयन्त्रमार्फत उपचार पाउन सकिन्छ ।

मोड २ :

एउटा सदस्य मुलुकले अर्को सदस्य मुलुककमा गर्ने उपभोग (कन्जम्प्सन एबोर्ड) लाई विश्व व्यापार संगठनले मोड २ अन्तर्गत राखेको छ । सेवा प्राप्तिको लागि एउटा सदस्य मुलुकको उपभोक्ता अर्को सदस्य मुलुकमा पुग्दछ । शिक्षा, स्वास्थ्य, पर्यटनमा हुने उपभोग यस मोडअन्तर्गत पर्दछन् । मोड २ को प्रावधानअनुसार एउटा सदस्य मुलुकको उपभोक्तालाई अर्को सदस्य मुलकमा कुनै सेवा लिन वा दिन बाधा पुग्नुहुँदैन । सदस्य मुलुकको उपभोक्ताउपर अति सौविध्य राष्ट्रको व्यवहार (एमएफएन) र राष्ट्रिय व्यहार (नेसनल ट्रिटमेन्ट) गर्नुपर्दछ । सो बमोजिम नगरिए पीडित मुलुकले विश्व व्यापार संगठनसमक्ष नालिस गर्न सक्छ । सिर्जित अवरोध अन्त्य गर्नु विश्व व्यापार संगठनको दायित्व बन्दछ ।

मोड ३ :

एउटा सदस्य मुलुकको वाणिज्य सेवा उपस्थिति (कमर्सियल प्रिसेन्स) अर्को मुलुकमा हुुनुलाई विश्व व्यापार संगठनले मोड ३ अन्तर्गत राखेको छ । मोड ३ को प्रावधानअनुसार एउटा सदस्य मुलुकले अर्को सदस्य मुलुकमा वाणिज्य एकाइ स्थापना गर्न वा वाणिज्य उपस्थिति जनाउन सक्छ । बैंक, बिमा, होटल, वायुयान, थोक वा खुद्रा पसल मोड ३ अन्तर्गत प्रवाह गरिने सेवाहरु हुन् ।
मोड ३ को प्रावधानअनुसार एउटा सदस्य मुलुकले अर्को सदस्य मुलक कुनै पनि वाणिज्य सेवा उपस्थिति जनाउन बाधा पुग्नुहुँदैन । सदस्य मुलुकको सेवाउपर अति सौविध्य राष्ट्रको व्यवहार (एमएफएन) र राष्ट्रिय व्यवहार (नेसनल ट्रिटमेन्ट) गर्नुपर्दछ । उक्त प्रावधान अवहेलना गरिएमा विश्व व्यापार संगठनमार्फत उपचार प्राप्त गर्न सकिने प्रावधान छ ।

मोड ४ :

एउटा सदस्य मुलुकको प्राकृतिक व्यक्ति अर्को सदस्य मुलुकमा पुगी सेवा प्रवाह गर्नु (मुभमेन्ट अफ नेचुरल प्रसन) लाई विश्व व्यापार संगठनले मोड ४ अन्तर्गत राखेको छ । मोड ४ को प्रावधानअनुसार एउटा सदस्य मुलुकको प्राकृतिक व्यक्तिले अर्को सदस्य मुलुकमा गई सेवा प्रवाह गर्न सक्छ । उक्त प्रावधानअनुसार विश्व व्यापार संगठनको एउटा सदस्य मुलुकको प्राकृतिक व्यक्तिले अर्को सदस्य मुलुकमा सेवा प्रवाह गर्ने वैधानिक अधिकार राख्छ । एउटा सदस्य मुलुकको प्राकृतिक व्यक्तिउपर अर्को सदस्य मुलुकले अति सौविध्य राष्ट्रको व्यवहार (एमएफएन) र राष्ट्रिय व्यवहार (नेसनल ट्रिटमेन्ट) गर्नुपर्दछ । नगरिए दण्डको भागिदार हुनुपर्ने हुन्छ ।

एउटा सदस्य मुलुकले अर्को सदस्य मुलुकमा जनशक्ति आपूर्ति गर्नु वा वैदेशिक रोजगारका लागि जानु, एउटा सदस्य मुलुकको डाक्टर, इन्जिनियर, एकाउन्टेन्ट अर्को मुलुकमा गई सेवा गर्नु आदि मोड ४ अन्तर्गतका अवधारणाहरु हुन् । तथापि, सदस्य मुलुकबीच प्राकृतिक व्यक्तिलाई भिसारहित आवागमन, स्थायी बसोवास, स्थायी जागिरको प्रत्याभूति हुनुपर्छ भन्ने बहसका कारण मोड ४ विवादरहित भने छैन ।

सेवाक्षेत्रको महत्व :

अहिले मूूल्य अभिवृद्धि (भ्यालु एडेड) का हिसाबले विश्व व्यापार संगठनबाट हुने व्यापारमा सेवाक्षेत्रको हिस्सा दुई तिहाइ रहेको छ । कृषि, उत्पादनमूलक वा खानीजस्ता उत्पादनमूलक क्षेत्रलाई सेवाक्षेत्रमा समावेश नगरिएको भए तापनि यी क्षेत्रमा सेवाक्षेत्रको कहीँ न कहीँ उपस्थिति रहेको हुन्छ । उदाहरणार्थ, औद्योगिक उत्पादन अन्तिम उपभोक्तासमक्ष पु¥याउन, यातायात, बिमा, सञ्चार, विज्ञापन, बैंकिङलगायतका सेवाहरु आवश्यक पर्दछ । स्मरण रहोस्, उत्पादनमूलक क्षेत्रमा ३० प्रतिशत मूल्य अभिवृद्धि सेवाक्षेत्रको कारण हुने ओईसीडीको एक अध्ययनलने देखाएको छ । यसको आशय वस्तु व्यापारको मूल्य अभिवृद्धि शृङ्खलामा (गोलोबल भ्यालुचेन) सेवाक्षेत्रको योगदान नजरअन्दाज गर्न हुँदैन भन्ने हो ।

नेपालमा सेवाक्षेत्र :

सन् १९९० को आर्थिक उदारीकरणपश्चात् सेवाक्षेत्रको व्यापार आयामिकरुपमा वृद्धि भएको छ । मूलतः बैंकिङ, वित्त, पर्यटन, सञ्चार, शिक्षा, स्वास्थ्य, श्रम (वैदेशिक रोजगार), यातायात, सूचना प्रविधि, बिजनेस प्रोसेस आटउ सोर्सिङ (बीपीओ), खुद्रा व्यवसायजस्ता क्षेत्रमा बढोत्तरी भएको हो । एकीकृत व्यापार रणनीति (एनटीआईएस) २०१६ मा पर्यटन (मनोरञ्जन, व्यापार, शिक्षा, स्वाथ्य), बीपीओ र आईटी सेवालाई निर्यातमूलक वस्तुको रुपमा अगाडि सारिएको छ ।

पर्यटन सेवाक्षेत्र उच्च सम्भावना बोकेको क्षेत्र हो भन्नेमा कुनै विवाद छैन । भलै यस वर्ष २० लाख पर्यटक भित्र्याउने सपना भने कोभिड–१९ का कारण तुसारापात भएको छ । तथापि जीडीपीमा पर्यटन क्षेत्रको योगदान करिब ३ प्रतिशत रहेको छ ।

श्रम कम्ती सम्भावना बोकेको क्षेत्र होइन, नेपालका खातिर । यसै पनि पछिल्लो दुई दशकयता खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया, जापान, अमेरिका र युरोपमा वैदेशिक रोजगारीका लागि पुग्नेको संख्या उल्लेखीय वृद्धि भएको छ । जहाँ नेपाल विप्रेषण भित्र्याउने विश्वको चौथो देश बनेको छ । अहिले पनि जीडीपीको एक चौथाइभन्दा अधिक हिस्सा विप्रेषणबापत भित्रिने गरेको छ ।

नेपालमा बिजनेस प्रोसेस आउट सोर्स नजरअन्दाज गर्न मिल्ने क्षेत्र होइन । जहाँ हाल २० मेडिकल ट्रान्सक्रिप्सन कम्पनीहरु र ६ सयको हाराहारीमा कल सेन्टरहरु नेपालमा सञ्चालित छन् । अहिले ८ देखि १० अर्ब बराबरको बीपीओ तथा आईटीईएससम्बन्धी कारोबार हुने गरेको छ ।

नेपालमा बिमा क्षेत्र मौलाएको छ भन्दा अत्युक्त हुँदैन । यसै पनि अहिले नेपालले पुनः जीवन सेवा निर्यात गर्न सक्ने अवस्था छ । जहाँ नेपाल पुनः जीवन बिमा कम्पनीले बिमा सेवा निर्यात गरिरहेको छ ।

स्वास्थ्य सेवा निर्यातमूलक सेवाको रुपमा उदाइरहेको छ भन्दा अन्यथा हुँदैन । यसको सबुत हो–तिलगंगा आँखा अस्पतालले छिमेकी मुलुक मात्र नभई पूर्वी एसियाका बिरामीलाई समेत आकर्षण गर्न सक्नु । स्मरण रहोस्, तिलगंगा आँखा अस्पतालले सन् १९९५ देखि गुणस्तरीय इन्ट्राकुलरलेन्स चीन, पाकिस्तान, दक्षिण अफ्रिका, कम्बोडिया, भियतनाम, श्रीलंकालगायतका मुलुहरुमा निर्यात गर्दै आइरहको छ । त्यस्तै हाम्रा कतिपय अस्पतालहरु विकसित मुलुकका शहर स्तरीय सेवा उपलब्ध गराउन चुकेका छैनन् । नर्भिक इन्टरनेसन हस्पिटल, ग्रान्डी इन्टरनेसनल हस्पिटल, नेपाल क्यान्सर हस्पिटल, नेपाल मेडिसिटी हस्पिटल त्यसका ताजा सबुतहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्