श्रावणमा जगतेश्वर महादेवको आराधना



प्रेममान डंगोल ।

भगवान् शिवलाई आदिदेव मानिन्छ । शिवलाई हिन्दू धर्ममा त्रिदेवमध्ये एक मानिन्छ । हिन्दू धर्मको मान्यताअनुसार ब्रह्मालाई सृष्टिकर्ता, विष्णुलाई पालनकर्ता र शिवलाई संहारकर्ताको रुपमा मान्दै आइरहेको छ । जो यस संसारमा आउँछन्, उनीहरुलाई जानु पनि पर्छ । यसरी यहाँ आउने र जाने कार्यका कर्ताको रुपमा पनि शिवलाई मानिन्छ । भगवान् शिवको विषयमा सम्पूर्ण महत्वपूर्ण जानकारी शिव पुराणमा दिएको पाइन्छ । हिन्दू धर्ममा शिवलाई मान्ने भक्तजनहरुको सम्प्रदायलाई शैव भनिन्छ ।

सोमबारको दिनलाई शिवको प्रिय दिनका रुपमा लिइन्छ । सोमको अर्थ चन्द्रमा हो । शिवको जटामा चन्द्रमा रहेका छन् । त्यसैले सोमबारलाई शिवसँग सम्बन्धित बारका रुपमा लिइन्छ र शिवको व्रत–उपासना गरिन्छ । भगवान् शिवभन्दा ठूला यस जगत्मा कोही छैन । भगवान् शिव नै वास्तवमा जगतेश्वर हुन् । भगवान् शिव शक्तिभन्दा भिन्न होइनन्, बल्कि यिनका नारीरुप शक्ति पनि भएकोले शिवलाई अर्धनारेश्वरका रुपमा पनि पुजिन्छ, जसले गर्दा शिवलाई आधा पुरुष र आधा स्त्रीको रुपमा अर्धनारेश्वर भनी आधी शक्तिको रुपमा पनि मान्दै आएको पाइन्छ ।

भगवान् शिवकै कृपाबाट मनुष्यले सांसारिक र मानसिक पीडा समाप्त हुन्छ । मनुष्यले आफ्नो जीवनकालमै परब्रह्मलाई प्राप्त गर्न सक्छन् । सोमबारका दिन सूर्योदयभन्दा पहिला ब्रह्ममुहुर्तमा स्नान गरेर, व्रतको संकल्प गरेर, शिवालयमा गएर सबैभन्दा पहिला शुद्ध जलले शिवलिंगको अभिषेक गर्नुपर्छ ।

ॐ महाशिवाय सोमाय नमः । यो महामन्त्रको जप गर्ने, त्यसपछि गाईको शुद्ध काँचो दूधले शिवलिंगको अभिषेक गर्ने । यसो गर्नाले मनुष्यको तन, मन, धनसँग सम्बन्धित सबै समस्याको खत्तम पार्दछ । शिवलिंगमा सख्खर वा उखुको रस चढाउनुपर्दछ, जसले नोकरी व्यवसायसँग सम्बन्धित सबै समस्याको हल हुनेछ । फूल, धतुर र भष्मले शिवको अभिषेक गर्ने । शिवको आरती गर्ने र आफ्नो मनोकामना पूर्तिका लागि दिलैदेखि यसरी प्रार्थना गर्नुपर्दछ– रुपं देहि जयं देहि भाग्यं देहि महेश्वर । पुत्रान् देहि धनं देहि सर्वान्कामांश्च देहि मे ।

जब सबै संकटबाट घेरिन्छ र हरतरहका प्रयत्न गरे पनि समस्याको समाधान नभएमा एक अन्तिम उपायको रुपमा भगवान् शिवकै शरणमा परी आराधना गरिहेर्नुपर्छ । भगवान् शिव नै अर्थात् भोले बाबा चाँडै प्रसन्न हुने र भक्तजनको संकट हर्ने भगवान् हुनुहुन्छ । भक्तजनका लागि सदैव सहयोग गर्ने भोले बाबा शिवको जति प्रशंसा गरे पनि कम नै हुन्छ । भगवान् शिवको आरती तन, मन, धनले दत्तचित्त भई गरेर उहाँकै शरणमा शरणागत भएमा अवश्य नै भगवान् शिवले कल्याण गर्नुहुनेछ । त्यसैले भगवान् शिवलाई कल्याण गर्ने कल्याणकारीको रुपमा पनि मानिन्छ । कल्याणकारी शिवको आरती गरिसकेपछि यो मन्त्र अवश्य पढ्नुपर्छ– कर्पुर गौरं करुणावतारं संसार सारं भुजगेन्द्र हारं । सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि ।

भोले बाबासँग पुराना कर्मका लागि क्षमा मागेर दुःखबाट मुक्ति प्राप्तिका साथै रक्षाको कामना गर्नुपर्दछ । भगवान् शिव नै सबैभन्दा सरल स्वभाव र मोहमायाबाट टाढै रहने देवता हुन् । उनी कलशभरि पानी र सहजै पाइने बेलपत्र धतुरबाट सजिलै प्रसन्न हुन्छन् ।

शिवको पूजाबाट मनुष्यले सबै सुखका आनन्द प्राप्त गर्न सक्छन् । भगवान् शिव सांसारिक र पारलौकिक आनन्द दिने देवता हुन् । अकाल मृत्यु पनि उनकै कृपाबाट टार्न सकिन्छ । धार्मिक मान्यता छ कि सोमबार भगवान् शिवको पूजा गर्दा खास गरेर तीन पात भएको बेलपत्र चढाउनुपर्दछ । पहेँलो चन्दनले ॐ बनाएर शिवलिंगमा चढाउनाले पापको नाश हुन्छ, साथै मनुष्यको भौतिक र मानसिक सुख प्राप्ति हुनेछ ।
परमात्मा शिवले पाँच प्रकारको शिव धर्म बताउनुभएको छ । तप, कर्म, जप, ध्यान र ज्ञान/लिंग पुजन आदिलाई कर्म भनिन्छ भने चान्द्रायण आदि व्रतको नाम तप हो । वचिङ्ग, उपांशु र मानस तीन प्रकारका जो शिव मन्त्रका अभ्यास (आवृत्ति) हो, उसैलाई जप भनिन्छ । शिवको चिन्तनलाई नै ध्यान भनिन्छ तथा शिवसम्बन्धी आगनमा जुन ज्ञानको वर्णन गरिएको छ, त्यसैलाई ज्ञान शब्द भनिएको छ । शिवमा भक्त गर्ने जो भक्तजन छन्, उनीहरुलाई कृपा गर्दै यो ज्ञानको उपदेश गरिएको हो । अतः कल्याणकारी शिवमै भक्तिभाव बढाऔं र विषय आशक्तिको त्याग गरौं ।

प्रतिक्रिया दिनुहोस्